प्रभावकारी सडक साक्षीद्वारा जिज्ञासुहरूलाई भेट्टाउने
१ राज्यको सुसमाचार सुन्न योग्यका व्यक्तिहरू खोज्न येशूले आफ्ना चेलाहरूलाई निर्देशन दिनुभयो। (मत्ती १०:११) यद्यपि, आज थुप्रै क्षेत्रहरूमा मानिसहरूलाई घरमा भेट्टाउन झन् झन् गाह्रो भइरहेको छ। अतः घरमा भेट्न नसकिने योग्य व्यक्तिहरू भेट्टाउन के गर्न सकिन्छ?
२ घर-घरको प्रचार कार्यमा नभेट्टिएका मानिसहरूलाई भेट्टाउने प्रभावकारी तरिका सडक साक्षी हुन सक्छ। दिनचर्याको काममा मानिसहरू आवतजावत गर्ने ठाउँहरू—बस बिसौनीहरू, कडा सुरक्षा भएका निवास भवनहरूको छेउमा, सार्वजनिक पार्कहरू र अन्य ठाउँहरूमा हामी सडक साक्षी दिन सक्छौं।
३ सडक साक्षीको नाउँ मात्र लिंदा पनि केही व्यक्तिहरू सशङ्कित हुन्छन्। लज्जालु स्वभाव अथवा राज्य समाचार मन नपराउने व्यक्तिहरूले इन्कार गर्लान् भनेर तिनीहरू यस कार्यमा भाग लिन हिचकिचाउन सक्छन्। यस्ता आशङ्काहरू प्रायजसो निराधार हुन्छन्। यस क्रियाकलापमा अनुभवी भइसकेकाहरूले घर-घरको प्रचार कार्यभन्दा यो कुनै गाह्रो कुरा होइन भन्ने रिपोर्ट दिएका छन्। वास्तवमा, विभिन्न कारणहरूले गर्दा मानिसहरूलाई प्रायः सडकमा कुरा गर्ने बानी लागिसकेको र केहीलाई भने ढोका ढकढक्याउँदाभन्दा सडकमा कुरा गर्न अनि सुन्न बढी रुचाएको तिनीहरूले पाएका छन्। अतः हामी ‘निर्भय रह्यौं’ भने रमाइला परिणामहरूबाट चकित हुन सक्छौं।—१ थिस्स.२:२.
४ सबैभन्दा प्रभावकारी ढङ्गमा सडक सेवा कसरी गर्न सकिन्छ? राम्ररी तयारी गर्नु महत्त्वपूर्ण छ। अगावै पत्रिकाहरू पढ्नुहोस् र तपाईंले भेट्नुहुने मानिसहरूलाई चासो लाग्ने खालका एक दुईवटा वार्तालापीय बुँदाहरू छान्नुहोस्। तीस सेकेण्ड जति लामो प्रस्तुति उपयुक्त हुन्छ। अरूसित वैयक्तिक सम्पर्क कायम गर्ने हाम्रो लक्ष्य भएकोले नियमित तवरमा थुप्रै मानिसहरू आवतजावत हुने ठाउँ छान्नुहोस्। आफ्नो साथमा अर्को प्रकाशक हुनु उपयुक्त नै भए तापनि अलग्गै काम गर्नु प्रायजसो बेस हुन्छ। प्रकाशकहरू सङ्गै उभिंदा एक अर्कासँग कुरा गरेर समय खेर फाल्ने र राज्य सुसमाचार सुन्न इच्छुक व्यक्तिहरूप्रति ध्यान नजान सक्छ।
५ आफू नै अग्रसर भएर व्यक्तिविशेषलाई भेटेर कुरा गर्नु जत्तिको एकै ठाउँमा उभिएर केवल पत्रिका प्रदर्शन गर्नु प्रभावकारी हुँदैन। आँखा जुधाएर कुरा गर्ने प्रयत्न गर्नुहोस्। वार्तालाप सुरु गर्ने प्रयास गर्नु हुँदा न्यानो, मित्रैलो र स्पष्ट हुनुहोस्। कहिलेकाहीं त्यस व्यक्तिसित कुरा गर्दा ऊ सँगसँगै अलिकता हिंड्नु पनि पर्न सक्छ। यदि ऊ ग्रहणशील छ भने पत्रिकाहरू प्रस्तुत गर्नुहोस्। पत्रिकाहरू लिन इन्कार गऱ्यो भने तपाईंले पर्चा दिन सक्नुहुन्छ।
६ प्रश्न खडा गर्ने अथवा चासो जगाउने वाक्यांश भएको छोटो प्रस्तुति तयार गर्नु प्रायजसो असल हो। उसको प्रत्युत्तर राम्रो छ भने उसको चासो कायम राख्न त्यस व्यक्तिको नाउँ, ठेगाना र मिल्छ भने उसको टेलिफोन नम्बर लिने कोसिस गर्नुहोस्। तपाईंले यसो भन्न सक्नुहुन्छ: “तपाईं अझ बढी जान्न चाहनुहुन्छ भने म तपाईंको घरमा आउन अथवा अर्को साक्षी तपाईंकहाँ आउने प्रबन्ध मिलाउन म खुशी हुनेछु।”
७ सडक साक्षी दिने काममा भाग लिइरहेका एक प्राचीनले एउटी विवाहितासित कुरा गर्दा उनले घरमा कहिल्यै पनि साक्षीहरूसित कुरा गर्ने मौका नपाएको त्यस प्राचीनले थाहा पाए। उनले पुस्तक स्वीकारिन् र सुविधाजनक समयमा एउटी बहिनी आफ्नो घरमा आउने प्रस्तावप्रति सहमति जनाइन्। हामी सडक साक्षी कार्यमा प्रभावकारी भयौं भने अवश्य अरू थुप्रै योग्य व्यक्तिहरू भेट्टाउन र तिनीहरूलाई मदत दिन सकिन्छ।—प्रे. १७:१७.