सडक साक्षीलाई प्रभावकारी बनाउने
१. हामीले येशूको अनुकरण गर्न सक्ने एउटा तरिका के हो?
१ पृथ्वीमा आफ्नो सेवाको दौडान बाटो-बाटोमा अनि अन्य सार्वजनिक ठाउँहरूमा आफूले भेटेका मानिसहरूसँग कुरा गर्न येशू हिचकिचाउनुभएन। (लूका ९:५७-६१; यूह. ४:७) उहाँ आफूसँग भएको महत्त्वपूर्ण सन्देश सकेसम्म धेरै मानिसहरूसँग बाँड्न चाहनुहुन्थ्यो। आज मानिसहरूलाई परमेश्वरको बुद्धि प्राप्त गर्न मदत दिने एउटा उत्कृष्ट तरिका सडक साक्षी हो। (हितो. १:२०) मानिसहरूसँग कुरा गर्न आफै अग्रसर भयौं र समझशक्ति चलायौं भने अझ धेरै सफलता हासिल गर्न सक्नेछौं।
२. सडक साक्षी दिंदा हामी कसरी अग्रसर हुन सक्छौं?
२ आफै अग्रसर हुनुहोस्: साधारणतया एकै ठाउँमा बसेर कोही आफूसँग कुरा गर्न आओस् भनेर पर्खिरहनुभन्दा आफै अग्रसर भएर कुरा गर्न जानु बेस हुन्छ। मानिसको अनुहारमा हेरेर मुस्कुराउनुहोस् अनि मित्रैलो र शान्त तरिकामा कुरा सुरु गर्नुहोस्। यदि अरू प्रकाशकहरू पनि सँगै छन् भने अक्सर छुट्टाछुट्टै बसेर मानिसहरूसँग कुरा गर्न जानु बेस हुन्छ। चासो दिएको व्यक्तिलाई फेरि भेट्न पनि अग्रसरता चाहिन्छ। मिल्छ भने कुराकानीको अन्तमा फेरि भेट्न कसरी सम्पर्क गर्न सकिन्छ भनेर नम्रतासाथ सोध्नुहोस्। केही प्रकाशक नियमित रूपमा एउटै ठाउँमा बसेर सडक साक्षी दिने गर्छन्। यसो गर्दा पहिले भेटेका मानिसहरूसित फेरि कुराकानी गरेर तिनीहरूको चासो जगाउन सम्भव भएको छ।
३. सडक साक्षीकार्यमा कसरी समझशक्ति चलाउन सक्छौं?
३ समझशक्ति चलाउनुहोस्: कहाँनेर उभिने र कोसँग कुरा गर्ने भन्ने सन्दर्भमा राम्ररी विचार गर्नुहोस्। बाटोमा हिंड्ने जति सबैलाई साक्षी दिनै पर्छ भन्ने छैन। आफू वरपर राम्ररी हेर्नुहोस्। जस्तै:- कोही हतारमा छन् जस्तो देखिन्छ भने तिनीसँग कुरा नगर्नु नै बेस हुन्छ। यदि कुनै पसल वा व्यापारिक उद्देश्यको लागि प्रयोग गरिएका भवनहरूअगाडि उभिएर साक्षी दिंदै हुनुहुन्छ भने त्यहाँ काम गर्नेहरूलाई आफ्नो व्यापारमा बाधा पुगेको महसुस गर्न नदिन सजग हुनुहोस्। धेरैजसो अवस्थामा मानिसहरू पसलमा गइरहेको बेलामा भन्दा त्यहाँबाट निस्केपछि कुरा गर्नु बेस हुन्छ। मानिसहरूसित कुरा गर्न जाँदा तिनीहरू आत्तिने वा तर्सिने गरी कुरा थाल्ने नगर्नुहोस्। साथै साहित्य प्रस्तुत गर्ने बेलामा पनि विचार पुऱ्याउनुहोस्। यदि मानिसहरूले त्यत्ति चासो देखाएनन् भने पर्चा मात्र दिन सक्नुहुन्छ।
४. सडक साक्षीकार्य प्रचार गर्ने एउटा रमाइलो अनि प्रभावकारी तरिका हो, किन?
४ सडक साक्षीकार्यमार्फत हामीले छोटो समयमै सत्यको बीउ प्रशस्त गरी छर्न सक्छौं। (उप. ११:६) घरघरको प्रचारमा भेट्न नसकिएका मानिसहरूलाई समेत सडक साक्षीकार्यमा भेट्न सकिन्छ। सडक साक्षीकार्य प्रचार गर्ने एउटा रमाइलो अनि प्रभावकारी तरिका हो। त्यसकारण आफ्नो परिस्थिति छाँटकाँट गरेर यसमा भाग लेऔं!