बाइबल—संकष्टमय संसारमा सान्त्वना र आशाको स्रोत
१ यस संसारले मानवजातिलाई अचाक्ली दबाब र सान्त्वना तथा आशाको खाँचोमा पारेको छ। बाइबल साँचो सान्त्वनाको एक मात्र स्रोत हो। नयाँ धार्मिक संसारबारे यसले आशा प्रदान गर्छ। (रोमी १५:४; २ पत्रु. ३:१३) इन्साइट पुस्तक, खण्ड १, पृष्ठ ३११ ले यस्तो अवलोकन गर्छ: “बाइबलबिना हामीले यहोवालाई चिन्न सक्दैनौं थियो, ख्रीष्टले दिनुभएको छुडौतिको बलिदानबाट प्राप्त हुने अद्भुत फाइदाहरूबारे थाहै पाउँदैनौं थियो र अनन्त जीवन प्राप्त गर्ने वा परमेश्वरको धार्मिक राज्यको प्रजा हुन पूरा गर्नै पर्ने आवश्यकताहरू बुझ्न सक्दैनौं थियो।”
२ नोभेम्बर महिनामा संसारको दबाबसित जुझ्न परमेश्वरको वचन, बाइबलले खेल्ने भूमिकातर्फ मानिसहरूको विशेष ध्यानाकर्षण गराउनेछौं। यथासम्भव हामी न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स र द बाइबल—गड्स वर्ड अर म्यान्स? नामक पुस्तक प्रस्तुत गर्नेछौं। सही झुकाव भएका व्यक्तिहरूलाई बाइबलको महत्त्व मूल्यांकन गर्न मदत दिन हामी के भन्न सक्छौं?
३ आफ्नो परिचय दिइसकेपछि तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
▪“हाम्रो मनको शान्ति हरण गर्ने खालका समस्याहरूले हामी घेरिएका छौं भन्ने कुरामा सम्भवतः तपाईं पनि सहमत हुनुहुन्छ होला। यस्ता समस्याहरूसित जुझ्ने व्यवहारिक सल्लाहहरू हामी कहाँ पाउन सक्छौं? [जवाफ दिने मौका दिनुहोस्।] यस सन्दर्भमा मैले बाइबल आश्वासनदायी भेट्टाएको छु, किनकि यसले हामीलाई कसरी आनन्दित हुने हो भनी सिकाउँछ। [लूका ११:२८ पढ्नुहोस्।] हाम्रो कामको उद्देश्य मानिसहरूलाई बाइबल पढ्न र त्यसमा भएका निर्देशनहरूबाट लाभ उठाउन प्रोत्साहन दिनु हो। बाइबल अध्ययन सहायक, द बाइबल—गड्स वर्ड अर म्यान्स? नामक यस पुस्तकले तपाईंलाई यसो गर्न सहयोग दिन्छ। संसारका अधिकांश समस्याहरूबारे यसले के भन्छ, ध्यान दिनुहोस्।” [पृष्ठ १८७ अनुच्छेद ९ को दोस्रो वाक्य पढ्नुहोस्।] यही तरिका चलाएर त्यो राज्य र हाम्रा समस्याहरू जस्ता पुस्तिकाहरू या ट्रु पीस एण्ड सिक्योरिटी पुस्तक प्रस्तुत गर्न सकिन्छ।
४ यस्तो साधारण परिचय पनि तपाईं चलाउन सक्नुहुन्छ:
▪“परमेश्वरको वचन, बाइबलप्रति अझ बढी आदर जगाउन हामी इच्छुक छौं। म तपाईंलाई यो पर्चा, तपाईं किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ को एक प्रति दिन चाहन्छु। एउटा उत्तम संसारको पक्का आशाका लागि बाइबलमा नै किन भर पर्न सक्छौं, यसले व्याख्या गर्छ। [पृष्ठ ६ पल्टाउनुहोस्, र अन्तिम अनुच्छेद साथै भजनसंग्रह ३७:२९ पढ्नुहोस्।] तपाईं यो पर्चा पढ्नुहोस् र बाइबलले प्रदान गर्ने आशाबारे तपाईंको के विचार छ, अर्को समयमा आउँदा मलाई बताउनु होला।”
५ उपयुक्त भएमा बाइबल अध्ययन सुरु गर्न तपाईंले सोझै यो तरिका पनि प्रयोग गर्न सक्नुहुन्छ:
▪“म निश्शुल्क गृह बाइबल अध्ययन गर्ने प्रस्ताव लिएर आएको छु। बाइबल परमेश्वरबाट प्रेरित भएको हो र यस पुस्तकका निर्देशनहरूले समस्याहरू सुल्झाउन हामीलाई मदत गर्छ। आधुनिक भाषामा लेखिएको न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स, व्यक्तिगत अध्ययनको लागि तयार पारिएको हो। तपाईंले यसलाई कसरी चलाउन सक्नुहुन्छ, म छोटकरीमा देखाउन चाहन्छु। [पृष्ठ १६५३ पल्टाउनुहोस्, र २३ए मा ध्यान खिंच्नुहोस्। उद्धृत एउटा वा दुइटा शास्त्रपदहरू हेर्नुहोस्। परमेश्वरले आफ्नो राज्य मार्फत पूरा गर्नुहुने उद्देश्यहरू के के हुन् भनेर उद्धृत पदहरूले कसरी प्रष्ट्याउँछ, व्याख्या गर्नुहोस्।] यस राज्य आशाबारे छलफल गर्न फेरि आउन म खुशी हुनेछु।”
६ बाइबल सान्त्वना र आशाको साथै अनन्त जीवनतर्फ डोऱ्याउने सत्यताको स्रोत हो। (यूह. १७:३, १७) बाइबलको ज्ञान अरूसित बाँड्नाले “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा” गर्नुहुने यहोवा प्रसन्न हुनुहुनेछ।—१ तिमो. २:४.