‘आफ्नो युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्न’ जवानहरूलाई मदत दिने
१ बाइबलमा दिइएका व्यवहारिक सल्लाहहरू ‘सुन्नु’ मात्र पर्याप्त छैन। पूर्ण लाभ उठाउन हामीले त्यसमा लेखिएका कुराहरू “पालन” गर्नुपर्छ। (प्रका. १:३) साहित्यहरू वितरण गर्नु चेला बनाउने प्रारम्भिक कदम मात्रै हो। सुन्न इच्छुक जिज्ञासु व्यक्तिहरू भेटाएपछि तिनीहरूलाई अझ बढी सिक्ने मदत दिन तिनीहरूकहाँ तुरुन्तै गइहाल्नुपर्छ। हामीले जवान र अरू व्यक्तिहरूलाई ‘आफ्नो युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्न’ र त्यसपछि अनन्त जीवन प्राप्त गर्न मदत दिनु आवश्यक छ। (उप. १२:१) हामी पुनः भेटमा के कुरा गर्न सक्छौं?
२ आज जवानहरूले सामना गर्ने समस्याहरूबारे प्रथम भेटमा कुरा गर्नु भएको थियो भने यसप्रकार वार्तालाप सुरु गर्न सक्नुहुन्छ:
▪“आजको संसारमा जवानहरूले सामना गर्ने परिस्थितिहरूबारे हामीले अघिल्लो भेटमा कुरा गरेका थियौं। यहोवाले जवानहरूलगायत सबैप्रति चासो राख्नु हुने हुनाले थुप्रै जवानहरू फँस्ने पासोबाट तिनीहरू जोगिएर जीवनको आनन्द उठाउन मदतकारी निर्देशनहरू उहाँको वचन, बाइबलमा प्रदान गर्नुभएको छ।” यंग पिपल आस्क (जवान मानिसहरूले सोध्ने प्रश्नहरू) पुस्तकको सूची पल्टाउनुहोस् र त्यहाँ सूचीबद्ध विषयहरूमध्ये घरधनीलाई चासो लाग्ने विषय सोध्नुहोस्। उदाहरणको लागि, उहाँले लागू पदार्थको विषय छान्नुभयो भने पृष्ठ २७२ को अध्याय ३४ पल्टाउनुहोस्। केही उपशीर्षकहरूमाथि उहाँको ध्यानाकर्षण गर्नुहोस्: “लागू पदार्थले वृद्धिलाई अवरोध गर्छ,” “के लागू पदार्थले मेरो स्वास्थ्य बिगार्न सक्छ?” “लागू पदार्थ—बाइबलको दृष्टिकोण,” र “तपाईं नाईं भन्न सक्नुहुन्छ!” उपशीर्षकअन्तर्गतको व्यवहारिक सल्लाह देखाउनुहोस्। अध्यायको अन्तमा “छलफलका लागि प्रश्नहरू” ले स्रोतालाई विषयवस्तु पुनरावलोकन गर्न र मुख्य बुँदाहरू बुझ्न कसरी मदत दिन्छ भनी पाठकलाई देखाउनुहोस्। नियमित तवरमा उहाँलाई भेट्ने र सम्पूर्ण पुस्तक यसरी नै छलफल गर्ने प्रस्तावना राख्नुहोस्।
३ असल सल्लाहको स्रोतबारे प्रथम भेटमा कुरा गर्नुभएको थियो भने यो प्रश्न सोधेर वार्तालाप कायम गर्न सक्नुहुन्छ:
▪“जवानहरूले शैक्षिक विषयहरूमा मात्र शिक्षा हासिल गर्नु के तपाईंलाई पर्याप्त छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। यर्मिया १०:२३ पढ्नुहोस्।] तपाईंलाई थाहै छ, हामीलाई उच्च स्रोतबाट प्रशिक्षण चाहिन्छ। हाम्रा अधिकांश समस्याहरूको कारण परमेश्वरको मदतबिना बाँच्ने प्रयास हो। सफल जीवनको लागि भरपर्दो, समय-परीक्षित सल्लाहको एक मात्र स्रोत परमेश्वरको वचन हो।” पृष्ठ ३१६ र ३१७ को पेटी औंल्याउनुहोस्। अनि बाइबलका सिद्धान्तहरू आदर गर्ने मानिसहरूसित संगत तथा अध्ययन गर्नु आनन्दित जीवन बिताउने साथै समस्याबाट बच्ने कदम हो र यस लक्ष्य प्राप्त गर्न बाइबल-आधारित नसिहतको स्थिर स्रोत सभाहरू हुन् भनी देखाउनुहोस्।
४ शास्त्रीय छलफल सुरु गर्न तपाईं यो प्रस्तुति चलाउने प्रयास गर्न सक्नुहुन्छ:
▪यंग पिपल आस्क (जवान मानिसहरूले सोध्ने प्रश्नहरू) पुस्तकको पृष्ठ ३१८ को चित्र देखाउनुहोस् र बुझाउनुहोस्: “हाम्रो सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध कायम गर्नाले अनन्त लाभहरू पाउने निश्चित गर्न सकिन्छ। तर त्यस्तो घनिष्ठ सम्बन्ध कायम गर्न के गर्नुपर्छ? एउटा कदम, नियमित तवरमा परमेश्वरको प्रेरित वचन पढ्नु हो।” पृष्ठ ३०८ का उपशीर्षकहरू छलफल गर्नुहोस् र अझ बढी सिक्न बाइबल अध्ययन कार्यक्रमबाट लाभ उठाउन घरधनीलाई निम्त्याउनुहोस्।
५ हाम्रो लक्ष्य बाइबल अध्ययनहरू सुरु गर्ने भएको हुँदा हामीले प्रभावकारी पुनः भेटहरू गर्नु आवश्यक छ। त्यसको लागि तालिका बनाउनुहोस् र राम्रो तयारी गर्नुहोस्। यसप्रकार इमान्दार हृदय भएका व्यक्तिहरूलाई हामी साँच्चै मदत गर्न सक्छौं।—प्रका. २२:६, ७.