तिनीहरूलाई बुझ्न मदत गर्नुहोस्
१ बाइबलमा उल्लेख गरिएका कुनै कुनै कुराहरू “बुझ्न कठिन छन्” भनेर प्रेरित पत्रुसले स्वीकारे। (२ पत्रु. ३:१६) धेरैले त्यस्तै महसुस गरेका छन्। तथापि, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा यसका आधारभूत शिक्षाहरू छर्लंग पारिएका छन्। यो पुस्तक र मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) (नेपालीमा उपलब्ध छैन) पुस्तकको सही प्रयोग गरेर जिज्ञासुहरूलाई कसरी मदत गर्न सकिन्छ?
२ प्रारम्भिक भेटमा तपाईंले यूहन्ना १७:३ छलफल गर्नुभएको थियो भने, थप ज्ञान प्राप्त गर्नुपर्ने आवश्यकतालाई तपाईंले यसो भन्दै जोड दिनसक्नुहुन्छ:
▪“अघिल्लो पटक म यहाँ आउँदा परमेश्वरको ज्ञानले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने विषयमा हामीले यूहन्ना १७:३ पढेका थियौं। तर आज हामीले जीवन बिताइरहेको यस संसारमा के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] अधिकांश मानिसहरू चाहँदैनन्। यसैकारण परमेश्वरले गर्नुभएको प्रतिज्ञा सुनेर हामी हर्षित हुन्छौं।” त्यसपछि पृष्ठ १२ र १३ को अनुच्छेद १२ पल्टाउनुहोस् र यशैया ११:६-९ पढ्नुहोस्। त्यसपछि ती पृष्ठहरूको चित्र देखाउँदै “पहिलेका कुराहरू बितिसके[पछि]” संसारको परिस्थिति कस्तो हुनेछ, वर्णन गर्नुहोस्। थप छलफलको लागि फेरि आउने प्रस्ताव राख्नुहोस्।
३ परमेश्वरको राज्यले निराशाजनक परिस्थितिको अन्त गर्नेछ भनेर देखाउन पृष्ठ १५६ देखि १६२ सम्मका चित्रहरू प्रयोग गर्नुभएको थियो भने, फेरि ती पृष्ठहरू पल्टाएर यसो भन्न सक्नुहुन्छ:
▪“मानिसहरूले यहाँ देखाइएका आशिष्हरूको आनन्द परमेश्वरको राज्य शासनअन्तर्गत उठाउनेछन् भनेर हामीले छलफल गरेका थियौं। त्यस राज्यमा बस्न हामीले के गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ?” [जवाफ दिने मौका दिनुहोस्।] पृष्ठ २५० को अनुच्छेद २ पल्टाउनुहोस् र हिब्रू ११:६ पढ्नुहोस्। यहोवाका साक्षीहरूले निष्कपट मानिसहरूलाई परमेश्वरको खोजी गर्न र ग्रहणयोग्य ढंगमा उहाँको उपासना गर्न मदत गरिरहेका छन् भनेर व्याख्या गर्नुहोस्।
४ वार्तालाप गर्ने फुर्सत नभएको घरधनीलाई “के यो संसार रहिरहनेछ?” पर्चा दिनुभएको थियो भने, यसरी कुरा थाल्न सक्नुहुन्छ:
▪“हालै तपाईंलाई भेट्दा तपाईं निकै व्यस्त हुनुहुन्थ्यो। उथलपुथल मच्चिरहेको बेला यो संसार रहिरहनेछ त भनेर सोधिएको एउटा पर्चा तपाईंलाई दिएको थिएँ। हामीले प्रकाश २१:४ पढेका थियौं। यही पद यो पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा उद्धरण गरिएको छ। [पृष्ठ १६२ बाट पढ्नुहोस्।] ‘परमेश्वरले हाम्रो आँखाबाट सबै आँसु पुछिदिनु’ भएपछि परिस्थिति कस्तो हुनेछ, त्यो [पृष्ठ १५६-१६२ का] यी चित्रहरूले देखाउँछ। निकट भविष्यमा चाँडै यो प्रतिज्ञा पूरा हुनेछ भन्ने ठोस प्रमाण यस पुस्तकले पेश गर्छ। यो पुस्तक पढ्न चाहनुहुन्छ भने, यो प्रति तपाईं राख्न सक्नुहुन्छ।”
५ “मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि” (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक दिनुभएको ठाउँमा फेरि भेट्न जानुहुँदा यसो भन्न सक्नुहुन्छ:
▪“तपाईंलाई पहिलो पटक भेट्दा तपाईंले आफ्नो परिवारप्रति देखाउनुभएको चासो देखेर म प्रभावित भएको थिएँ। हामी यस दुष्ट रीतिरिवाजको अन्तिम समयमा बाँचिरहेकोले भविष्यको लागि आफ्नो परिवारलाई तयार गर्नु अत्यावश्यक छ। त्यसैकारण मैले तपाईंलाई दिएको मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तकले नियमित तवरले घरमा बाइबल छलफल गर्न जोडदार सुझाउ दिएको छ। [पृष्ठ १८५-६ को अनुच्छेद १० पढ्नुहोस्।] अनुमति दिनुहुन्छ भने, २०० मुलुकहरूका मानिसहरूले पारिवारिक रूपमा घरमा कसरी बाइबल छलफल गर्छन् म तपाईंको केही समय लिएर देखाउन चाहन्छु।” समय छ भने, अध्ययन सञ्चालन गरेर देखाउन पृष्ठ ७१ को उपशीर्षकअन्तर्गत रहेको विषयवस्तु प्रयोग गर्नुहोस्।
६ जिज्ञासुहरू भेटाउनुभयो भने अध्ययन सुरु गर्न तपाईं चाहनुहुनेछ होला। “निर्बोध मानिसहरूलाई समझ” दिन मदत गर्दा तपाईंले निश्चय पनि आनन्द प्राप्त गर्नुहुनेछ।—भज. ११९:१३०.