तपाईंको समय सदुपयोग गर्नुहोस्
१ यहोवा समयबारे सजग हुनुहुन्छ। हामी पनि समयबारे सचेत भएको उहाँ चाहनुहुन्छ। आफ्नो संगठनद्वारा उहाँले हामीलाई समयबारे सचेत हुन मदत दिनुहुन्छ। हामीलाई सधैं “प्रभुको काममा प्रशस्त” हुन आग्रह गरेको छ। (१ कोरि. १५:५८) यसरी हामी यहोवाको सेवामा अझ बढी प्रभावकारी हुनसक्छौं।
२ हामीहरू सबैसँग हरेक हप्ता त्यति नै समय हुन्छ—१६८ घण्टा। हामी आफ्नो समयको उपयोग कसरी गर्छौं? यहोवाको दृष्टिकोणमा हामी कुन घडीमा छौं त्यो थाह छ भनी के हामीले साँच्चै देखाइरहेका छौं? के अनावश्यक क्रियाकलापहरूद्वारा हाम्रो ध्यान विकर्षण भएको छ?
३ हामी सुव्यवस्थित हुनु महत्त्वपूर्ण छ। धेरैले प्राथमिकता सूची कायम राख्ने कोसिस गर्छन्। हरेक विषय त्यसको महत्त्वअनुसार सूचीमा राखिन्छ। त्यो कसरी निर्धारित गर्न सकिन्छ? बाइबलले “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले . . . आनन्द उपभोग” गर्नुपर्छ भन्छ। (उप. ३:१३) कुनै कामको नतिजा अर्कोको भन्दा राम्रो हुन्छ। हरेकले ल्याउने नतिजा विचार गर्नुहोस्। कुनै काम सिध्याउँदा के त्यसले उल्लेखनीय लाभ ल्याउनेछ? के तपाईं आफ्नो कडा परिश्रमको नतिजा “राम्रो देख्नुहुन्छ”? हुन्न भने, त्यो काम प्राथमिकता दिनु नपर्ने किसिमको हुनसक्छ।
४ हाम्रो सेवकाईमा: समयमै सेवकाईको निम्ति सभामा आउने, निर्देशनहरू ध्यान दिएर सुन्ने र तत्परतासाथ आफ्नो इलाकामा जाने व्यक्तिहरूको हामी मूल्यांकन गर्छौं। पर्खिरहनु साटो बरु हामी प्रचार-कार्यमा व्यस्त हुन चाहन्छौं। पावलले निस्सन्देह सुव्यवस्थित हुनु अत्यावश्यक महसुस गरेकोले यस्तो लेखे: “सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नू।”—१ कोरि. १४:४०.
५ हामी क्षेत्र सेवकाईमा गएको बेला बीचमा चिया खान छुट्टी लिंदा बहुमूल्य समय गुमाइरहेका हुनसक्छौं। तथापि, प्रतिकूल मौसममा एकछिन छुट्टी लिंदा हामीलाई पुनः फूर्तिलो र काममा लागिरहन सम्भव बनाउँछ होला। यद्यपि, अधिकांश भाइ-बहिनीहरू सेवकाईको निम्ति छुटाइएको समयमा भाइहरूसँग खाजा खाने छुट्टीमा कुराकानी गर्नुको साटो मानिसहरूलाई साक्षी दिने काममा व्यस्त हुन रुचाउँछन्। सन्तुलन आवश्यक छ।
६ बसाइँ सर्न “आकाशका करयाङकुरूङले पनि आफ्नो समय जान्दछ” र जाडो महिनाको लागि सञ्चय गर्न कमिलाले “ग्रीष्म ऋतुमा . . . आफ्नो अन्नको भण्डार तयार गर्छ” भनेर बाइबल भन्छ। (यर्मि. ८:७; हितो. ६:६-८) समयको सदुपयोग गर्ने कुञ्जी यहाँ लुकेको छ। हामीले पनि ‘आफ्नो समय जान्नुपर्छ।’ हामी ज्यादै नियमनिष्ठ नभई समयबारे सचेत हुनुपर्छ। हामीले के गर्नुपर्छ त्यो मात्र थाह पाउने होइन तर त्यो काम कहिले गर्नु आवश्यक छ भनेर थाह पनि पाउनुपर्छ। हामीले सम्भाव्य ढिलाइको निम्ति समय राखेर अग्रिम योजना बनाउनुपर्छ। र सभाहरू, क्षेत्र सेवकाई र अन्य ईश्वरतान्त्रिक क्रियाकलापहरूजस्ता महत्त्वपूर्ण कामहरूका निम्ति तयार गर्न अरू कामहरूबाट समयको छाँटकाँट गर्न इच्छुक हुनुपर्छ।
७ हामी स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा परमेश्वरजस्तै हुन चाहन्छौं। उहाँले हामीलाई “सबै कुराको लागि समय छ” भनेर सिकाउनुभएको छ। (उप. ३:१) समयको सदुपयोग गरेर हामी आफ्नो ‘सेवाको काम पूरा’ गर्नसक्छौं।—२ तिमो. ४:५