तिनीहरूलाई पुनः सेवा गर्न मदत दिनुहोस्
१ आफ्ना सँगी मसीहीहरूको सम्भाव्य आध्यात्मिक खतरा बुझेर प्रेरित पावलले यसप्रकार लेखे: “अब निद्राबाट बिउँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले विश्वास गरेर ठानेको समयभन्दा अहिले मुक्तिको समय हाम्रो नजीकै छ।” (रोमी १३:११) आध्यात्मिक तवरमा सुस्त भएका आफ्ना भाइहरूबारे पावल चिन्तित थिए। तिनीहरूलाई क्रियाकलापमा पुनर्जागृत गराउन उनी उत्सुक थिए।
२ वास्तवमा यस पुरानो संसारको रात बिति नै सकेको छ र नयाँ संसारको उज्यालो जगमगाउन लागेको छ भन्न सकिन्छ। (रोमी १३:१२) हामी ती भाइहरूबारे चिन्तित हुनुपर्ने असल कारण छ, जसले सुसमाचारका प्रचारकहरूको हैसियतमा हामीसित संगत गर्न छाडेका छन्। गत सेवा वर्ष भारतमा मात्र २३० भन्दा धेरै प्रकाशकहरूलाई पुनः सक्रिय बनाइयो। हामी अरू निष्क्रिय व्यक्तिहरूलाई यहोवाको पुनः सेवा गर्न कसरी मदत दिनसक्छौं?
३ प्राचीनहरूले के गर्नसक्छन्: निष्क्रिय हुनेहरूमध्ये अधिकांशले सच्चाइलाई त्यागेका छैनन्। तिनीहरूले निरुत्साह, व्यक्तिगत समस्याहरू, भौतिकवाद वा जीवनका अन्य फिक्रीहरूले गर्दा मात्र प्रचार गर्न छाडेका छन्। (लूका २१:३४-३६) सम्भव भए, तिनीहरूलाई निष्क्रिय हुनुअघि नै मदत दिनु उत्तम हुन्छ। कुनै प्रकाशकले सेवा क्रियाकलापको रिपोर्ट अनियमित तवरमा बुझाउन थालेका छन् भने, मण्डलीका सचिवले मण्डली पुस्तक अध्ययन सञ्चालकलाई यसबारे सतर्क गराउनुपर्छ। गोठालोरूपी भेटको प्रबन्ध मिलाउन सकिन्छ। तिनीहरूले समस्याको कारण पत्ता लगाउने र मदत दिने कोसिस गर्नुपर्छ।—सेप्टेम्बर १५, १९९३, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २०-३ हेर्नुहोस्।
४ अरूले कसरी मदत गर्नसक्छन्: हामीमध्ये धेरैजसोले निष्क्रिय भएका व्यक्तिलाई चिन्छौं। तिनी पहिला आफूसित घनिष्ठ भएको व्यक्ति हुनसक्छन्। हामी कसरी मदत दिनसक्छौं? केही क्षणको लागि भए पनि किन भेटघाट नगर्ने त। तपाईंको संगत गुमाएँ भन्नुहोस्। हँसिलो र सकारात्मक हुनुहोस्। तिनी आध्यात्मिक तवरमा बिरामी भएका छन् भन्ने संकेत नदिई आफ्नो चासो व्यक्त गर्नुहोस्। ढाडसमयी अनुभवहरू वा मण्डलीले गरेका अरू असल कामकुराहरूबारे बताउनुहोस्। उत्साहित भई “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनबारे बताउनुहोस् र त्यहाँ उपस्थित हुन प्रोत्साहन दिनुहोस्। मण्डलीसित पुनः संगत गर्न थाल्नु तिनको लागि सबैभन्दा मदतकारी हुनसक्छ। सभाहरू धाउनको लागि मदत दिने प्रस्ताव राख्नुहोस्। तिनको प्रतिक्रियाबारे प्राचीनहरूलाई अवगत गराउनुहोस्।
५ निष्क्रिय भएको व्यक्ति पुनः सभाहरूमा आएर तिनले विगतमा चिनेजानेका अरू मानिसलाई भेट्दाखेरि अप्ठ्यारो महसुस गर्लान्। “तपाईं यत्रो दिन कहाँ हुनुहुन्थ्यो?” भनेर नसोध्नुहोस्। बरु तिनलाई हार्दिक स्वागत गरिएको भान गराउनुहोस्। तिनीसित वार्तालाप गर्नुहोस्। तिनलाई तिनले नचिनेका व्यक्तिहरूसित परिचय गराउनुहोस्। सभाको दौडान तिनीसित बस्नुहोस् अनि तिनीसित गीत पुस्तक र अध्ययन गरिने प्रकाशन छ कि छैन, पक्का गर्नुहोस्। तिनलाई फेरि आउने प्रोत्साहन दिनुहोस् र चाहिएमा सहयोग दिने प्रस्ताव राख्नुहोस्।
६ भड्किएकाहरूलाई न्यानो स्नेह देखाएर तिनीहरूले आध्यात्मिक सुस्वास्थ्य प्राप्त गर्दा यहोवा र येशू आनन्दित हुनुहुन्छ। (मला. ३:७; मत्ती १८:१२-१४) हामीले पनि अरूलाई यहोवाको पुनः सेवा गर्न मदत दिंदा त्यस्तै आनन्द महसुस गर्नसक्छौं।