प्रश्न पेटी
▪ कुनै एक जना व्यक्तिसित कति लामो समयसम्म ज्ञान पुस्तकबाट औपचारिक गृह बाइबल अध्ययन सञ्चालन गर्नुपर्छ?
यहोवाले आज आफ्नो संगठनलाई आशिष् दिइरहनुभएको छ। हरेक वर्ष हजारौं नयाँ व्यक्तिहरूले सच्चाइको लागि लिएको अडानबाट हामी यसको प्रमाण देख्छौं। यो सम्पन्न गर्न ज्ञान पुस्तक प्रभावकारी औजार साबित भइरहेको छ। जनवरी १५, १९९६ को प्रहरीधरहरा-ले औंल्याएअनुसार यो पुस्तक बाइबल विद्यार्थीलाई चाँडचाँडो आध्यात्मिक प्रगति गर्न अर्थात् केही महिनाभित्रै बप्तिस्मा लिने हदसम्म पुऱ्याउन मदत दिने ढंगमा लेखिएको हो।
यसैकारण सोही प्रहरीधरहरा-को पृष्ठ १७ मा यस्तो सल्लाह दिइएको थियो: “कुनै व्यक्तिविशेषले ज्ञान पुस्तकबाट बाइबल अध्ययन सिध्याएर बप्तिस्मा लिइसकेपछि दोस्रो पुस्तकबाट औपचारिक बाइबल अध्ययन सञ्चालन गर्नु आवश्यक नहुनसक्छ।”
ज्ञान पुस्तकबाट अध्ययन सिद्धिएपछि बप्तिस्मा नलिने व्यक्तिबारे के भन्न सकिन्छ नि? ज्ञान पुस्तकबाट अध्ययन सिध्याएपछि त्यही विद्यार्थीसित थप पुस्तकहरू अध्ययन नगर्नू भनेर प्रहरीधरहरा-मा उल्लेख गरिएको बुँदाबारे जून १९९६ हाम्रो राज्य सेवकाई-को पृष्ठ ६, अनुच्छेद २३ ले सम्झाएको थियो। यसको अर्थ के हामी बाइबल विद्यार्थीलाई यसपछि मदत गर्न इच्छुक नभएका हौं त? त्यसो होइन। मानिसहरूले सत्यको आधारभूत ज्ञान प्राप्त गरोस् भन्ने हामी चाहन्छौं। तथापि, तुलनात्मक रूपमा छोटो समयावधिभित्रै प्रभावकारी शिक्षकले एक जना सामान्य निष्कपट विद्यार्थीलाई यहोवाको सेवा गर्नेसम्बन्धी बुद्धिमत्तापूर्ण निर्णय गर्न यथेष्ट ज्ञान दिनेछन् भन्ने आशा राखिन्छ। आफ्नो व्यक्तिगत परिस्थितिको कारण कुनै कुनै बाइबल विद्यार्थीहरूले हप्तामा एक चोटिभन्दा धेरै अध्ययन गर्ने इच्छा पनि गर्नसक्छन्।
हो, कुनै कुनै विद्यार्थीहरूले अरूको तुलनामा ढिलो प्रगति गर्नेछन्। साधारणतया ज्ञान पुस्तक अध्ययन गर्न लाग्ने समयभन्दा लामो समय लगाएर अध्ययन गरिसकेपछि पनि त्यस व्यक्तिले मण्डलीसित संगत गर्न इच्छा गर्दैनन् भने प्रकाशकले यस परिस्थितिबारे मण्डलीको सेवा समितिका कुनै एक प्राचीनसित छलफल गर्नु बेस हुनेछ। माफी दिन मिल्ने वा असाधारण परिस्थितिहरू समावेश छन् भने थप मदत दिनु मिल्ला। यसो गर्नु, जनवरी १५, १९९६, प्रहरीधरहरा-को पृष्ठ १७, अनुच्छेद ११ र १२ मा उल्लिखित सिद्धान्तअनुरूप हो।
सत्यबारे लिइरहेको आधारभूत ज्ञानप्रतिको मूल्यांकनले मात्रै पनि विद्यार्थी मसीही सभाहरूमा उपस्थित हुन उत्प्रेरित हुनुपर्ने हो। यसले गर्दा यहोवाको सेवा गर्ने तिनको इच्छा स्पष्ट देखिनसक्छ। लामो समयसम्म ज्ञान पुस्तक अध्ययन गरिसकेपछि पनि त्यस्तो आध्यात्मिक मूल्यांकन देखिंदैन भने अध्ययन नगर्नु नै औचित्यपूर्ण हुनेछ।