ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भर्ती
१ ईश्वरतान्त्रिक सेवकाई पाठशाला, यहोवाका लाखौं साक्षीहरूलाई सुसमाचारका प्रचारकहरूको हैसियतमा प्रशिक्षण दिने माध्यम साबित भएको छ। यस पाठशालामा भर्खरै भर्ती हुँदा कत्तिको डराएका र असक्षम महसुस गरेका थियौं, त्यो हामीले बिर्सेका छैनौं। तर अहिले परमेश्वरको वचनको वक्ता तथा शिक्षकको हैसियतमा आध्यात्मिक प्रगति गर्न त्यसले निर्वाह गरेको भूमिकालाई हामी कृतज्ञतापूर्वक स्वीकार्छौं। (प्रेरित ४:१३ तुलना गर्नुहोस्।) के तपाईं यस उल्लेखनीय पाठशालामा भर्ती भइसक्नुभयो?
२ को को भर्ना हुनसक्छन्? हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पुस्तकको पृष्ठ ७३ यस्तो जवाफ दिन्छ: “मण्डलीमा सक्रिय भाग लिइरहेका व्यक्तिहरूलगायत सभाहरूमा भर्खरै उपस्थित हुन थालेका सबै भर्ना हुनसक्छन् तर यति हो, तिनीहरूले मसीही सिद्धान्त विपरीत जीवन बिताइरहेको हुनु हुँदैन।” पुरुष, स्त्री र केटाकेटीलगायत योग्य हुने जति सबैलाई भर्ना हुन पाठशाला निरीक्षकसित भेट्ने निमन्त्रणा दिन्छौं।
३ सन् १९९७ को पाठशाला कार्यक्रम: सन् १९९७ को ईश्वरतान्त्रिक सेवकाई पाठशाला कार्यक्रमले बाइबलीय शिक्षा तथा पात्रहरूको विविध विषय छलफल गर्नुका साथै संगठनको इतिहास पनि बताउँछ। हाम्रो बोल्ने तथा सिकाउने क्षमता विकास गर्नुबाहेक हरेक हप्ताको विषयवस्तुमा पाइने आध्यात्मिक रत्नबाट पनि ज्ञान हासिल गर्छौं। (हितो. ९:९) साप्ताहिक बाइबल पढाइ गर्दै पाठशालाको लागि तयारी गऱ्यौं तथा नियमित तवरमा उपस्थित भयौं भने उक्त कार्यक्रमबाट निकै आध्यात्मिक लाभ उठाउनसक्छौं।
४ सन् १९९७ मा भाषण न. २ का लागि बाइबलको अंश गत वर्षहरूको भन्दा छोटो छ। यो भाषण तयार गर्दा विद्यार्थीले पढ्न कति समय लाग्छ, होशियारीपूर्वक हेर्नुपर्छ। अनि पाँच मिनेटबाट जति समय बाँकी रहन्छ, त्यसलाई परिचय तथा समापनमा प्रयोग गर्न सक्छन्। यसो गर्दा विद्यार्थीले सम्पूर्ण समय सदुपयोग गर्नुका साथै आफ्नो पढ्ने क्षमता र टिपोट नहेरी बोल्ने कला विकास गर्न सक्नेछन्।—१ तिमो. ४:१३.
५ ज्ञान पुस्तकमा आधारित भाषण न. ३ को सम्भाव्य भूमिकामा अनौपचारिक साक्षीकार्य पनि समावेश गरिएको छ। यसर्थ, उक्त भाषण दिने बहिनीले आफ्नो भाषणमा पुनःभेट, गृह बाइबल अध्ययन वा अनौपचारिक साक्षीको पृष्ठभूमि प्रस्तुत गर्न सक्छिन्। निस्सन्देह, पृष्ठभूमिमा नभई प्रभावकारी शिक्षणमा नै मुख्य जोड दिइरहनुपर्छ।
६ चाहे तपाईंले निर्देशन भाषण, बाइबलका विशेषताहरू वा विद्यार्थी भाषण दिने अवसर नै पाउनुभएको किन नहोस्, राम्ररी तयारी गर्नुका साथै पूर्वाभ्यास गर्नुभएर, दृढ विश्वास र उत्साहका साथ प्रस्तुत गर्नुभएर, बढी समय नलिनुभएर, पाठशाला निरीक्षकको सल्लाह सुन्न तथा त्यसलाई लागू गर्न अनि आफ्नो भाषण पूरा गर्न सधैं लगनशील हुनुभएर ईश्वरतान्त्रिक सेवकाई पाठशालाप्रति मूल्यांकन देखाउन सक्नुहुन्छ। यसप्रकार पाठशालामा भर्ती हुनु तपाईं स्वयं र उपस्थित सबैका लागि आशिष् साबित हुनेछ।