“बढ़ता प्रयत्न गर”
१ हामीले आफ्नो जीवन यहोवालाई समर्पण गर्दा उहाँको सक्दो सेवा गर्ने वाचा बाँधेका थियौं। अतः, प्रेरित पत्रुसले प्रथम शताब्दीका मसीहीहरूलाई परमेश्वरसितको सम्बन्ध सुदृढ पार्न बढ्ता प्रयत्न गर्न भनी प्रोत्साहन दिए। (२ पत्रु. १:१०) अहिले पनि यहोवाको सेवा गर्दै उहाँलाई खुशी तुल्याउन निश्चय नै हामी बढ्ता प्रयत्न गर्न चाहन्छौं। यसमा के के कुराहरू समावेश छन्? यहोवासित सम्बन्ध गहिरिंदै जाँदा अनि उहाँले हाम्रोनिम्ति गर्नुभएका कुराहरूबारे मनन गर्दा हामी उहाँको सेवामा सधैंभरि यथासक्दो गर्न जुरमुरिन्छौं। हाम्रो सेवकाईको गुणस्तर अनि सम्भव भएमा परिमाण पनि बढाउन चाहन्छौं।—भज. ३४:८; २ तिमो. २:१५.
२ सेवकाईमा अझ बढी गर्न चाहने एक जवान भाइले नियमित तवरमा परमेश्वरको वचन अध्ययन गर्दा यहोवाप्रतिको मूल्यांकन झनै गहिरिएको अनि जोसिलो हुन प्रेरित भएको पाए। फलस्वरूप तिनी अग्रगामी सेवाको लागि आवेदन भर्न तम्सिए। अपरिचित मानिसहरूसित कुरा गर्न अप्ठ्यारो मान्ने एक बहिनीले तर्क (अंग्रेजी) पुस्तकबाट केही प्रस्तुतिहरू तयार पारिन् अनि नभन्दै तिनले सेवकाईमा निकै सफलता पाउन थालिन्। तिनले सत्य स्वीकार्ने एक दम्पतीसित बाइबल अध्ययन गर्न सकिन्।
३ आफूले जति गर्न सक्नुहुन्छ त्यसमा रमाउनुहोस्: हामीमध्ये कसै कसैले अस्वस्थता, पारिवारिक विरोध, गरिबी वा प्रचार गर्दा मानिसहरूले चासो नै नदेखाउने जस्ता परिस्थितिको सामना गर्नुपर्छ। यस आखिरी दिनमा सामान्य देखिने अन्य थुप्रै समस्याहरूले हाम्रो सेवकाईमा बाधा पुऱ्याइरहेका हुनसक्छन्। (लूका २१:३४; २ तिमो. ३:१) के यसको अर्थ हामीले परमेश्वरप्रति आफ्नो समर्पणको वाचा पूरा गर्न नसकेको हो? उहाँको सेवामा हामीले सक्दो प्रयत्न गरिरहेका छौं भने, त्यसो होइन।
४ अरूको उपलब्धिको आधारमा आफूलाई जाँच्नु बुद्धिमानी होइन। त्यसको साटो धर्मशास्त्रले “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्” भनी प्रोत्साहन दिन्छ। यहोवालाई खुशी तुल्याउन हामीले व्यक्तिगत तवरमा सकेजति गरिरहेका छौं भने, “अहंकार गर्ने कारण” हुनेछ।—गला. ६:४; कल. ३:२३, २४.
५ ‘शान्तिसाथ परमेश्वरको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर’ भन्ने पत्रुसका शब्दहरूमा ध्यान देऔं। (२ पत्रु. ३:१४) त्यस मनोभावले हामीलाई सुरक्षित महसुस गराउनेछ अनि यहोवाले मात्र दिन सक्नुहुने मनोशान्ति पाउनेछौं।—भज. ४:८.