अरूलाई सान्त्वना पाउन मदत दिनुहोस्
१ विपत्ति, युद्ध, अपराध र दुःखहरूको खबर सुन्दा सुन्दा अधिकांश मानिसहरू वाक्क भइसके। मानिसजातिलाई सान्त्वनाको तड्कारो खाँचो भए तापनि हिजोआज समाचारपत्रहरूमा सान्त्वनाको बिलकुलै अभाव छ। सान्त्वना दिनुको अर्थ “बल र दिलाशा दिनु” अनि “शोक र संकष्ट हलुका बनाइदिनु” हो। यहोवाका साक्षीहरूको हैसियतमा मानिसहरूलाई यस किसिमले सहायता गर्न हामी सुसज्जित छौं। (२ कोरि. १:३, ४) जुलाई र अगस्त महिनामा प्रस्तुत गर्न लागेका बाइबल आधारित पुस्तिकाहरूमा सत्यको सान्त्वनादायी समाचारहरू छन्। (रोमी १५:४) विभिन्न परिस्थितिमा यी पुस्तिकाहरू प्रस्तुत गर्ने केही सुझाउहरू तल दिइएका छन्:
२ कुनै दुःखद घटना भएको बेला साक्षी र सान्त्वना दिने मौका छोप्न सकिन्छ। त्यस्तो बेला यसो भनेर कुरा थाल्न सक्नुहुन्छ:
▪ “यस्तो बेला परमेश्वरले साँच्चै मानिसहरूको चिन्ता गर्नुहुन्छ होला र भनी धेरैले सोच्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हेर्नुहोस् त, परमेश्वरले उद्देश्यसहित पृथ्वीको सृष्टि गर्नुभएको थियो भनेर बाइबलले बताउँछ।” यशैया ४५:१८ पढ्नुहोस्। त्यसपछि यसो भन्नुहोस्: “यदि उहाँले पृथ्वी आबाद भएको चाहनुहुन्छ भने मानिसहरू शान्तिसित बस्नको निम्ति उहाँले ठोस कदम चाल्नुहुनेछ भनेर विश्वास गर्नु मनासिब नहोला र? मैले एउटा पुस्तिका ल्याएको छु, मलाई विश्वास छ तपाईंले यसबाट पक्कै सान्त्वना पाउनुहुनेछ। यो पुस्तिकाको नाम हो, के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? [आवरणको प्रश्न पढ्नुहोस्।] आज हामीले सामना गर्न परिरहेका सबै नराम्रा परिस्थितिहरूलाई परमेश्वरले चाँडै हटाउनुहुनेछ भन्ने विश्वासयोग्य प्रमाणहरू यस पुस्तिकामा पाइन्छ। तपाईं पढ्न चाहनुहुन्छ?” पुस्तिका दिनुहोस् र पुनःभेटको लागि समय मिलाउनुहोस्।
३ पुनःभेटमा यस्तै केही भन्न सक्नुहुन्छ:
▪ “अघिल्लो भेटमा मैले के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने पुस्तिका दिंदा परमेश्वरले गर्नुहुने चिन्ताको प्रमाणबारे कुरा गरेका थियौं। यो कुरा पृष्ठ ७ मा पढ्नु पनि भयो होला। [त्यहाँ भएको चित्र देखाउनुहोस् र अनुच्छेद १५ छोटकरीमा बुझाउनुहोस्।] सृष्टिको सुरुमा परमेश्वरले मानिसजातिलाई कस्तो ख्याल गर्नुहुन्थ्यो भन्ने यो एउटा उदाहरण मात्र हो। [पृष्ठ ९ को अनुच्छेद २७ पढ्नुहोस्।] जीवनका समस्याहरू सामना गर्न मलाई व्यक्तिगत बाइबल अध्ययनले मदत गरेको छ किनकि बाइबल अध्ययनले समस्याहरूलाई परमेश्वरको दृष्टिकोण राखेर हेर्न सिकाउँछ।” अध्ययन कसरी गरिन्छ भनेर देखाउनुहोस्।
४ “जीवनको उद्देश्य के हो—तपाईं यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?” पुस्तिका चलाएर संक्षिप्त साक्षी दिन सकिन्छ। आफ्नो परिचय दिएपछि यसो भन्न सक्नुहुन्छ:
▪ “एउटा महत्त्वपूर्ण सन्देश लिएर म तपाईं र तपाईंका छिमेकीहरूलाई भेट्दैछु।” पुस्तिकाबाट पृष्ठ ४ को पहिलो अनुच्छेद पढ्नुहोस्। त्यसपछि कस्तो लाग्यो भनी घरधनीलाई सोध्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। आफ्नो बाइबल खोलेर यशैया ४५:१८ पढ्नुहोस् र भन्नुहोस्: “परमेश्वरले हामीलाई ध्यानमा राखेर पृथ्वी सृष्टि गर्नुभएको थियो भनेर यस पदले देखाउँछ। तर हामी पृथ्वीमा हुनुको उद्देश्य के हो त? हाम्रो भविष्य कस्तो छ?” पुस्तिकाको उद्देश्य बताएर प्रस्तुत गर्नुहोस्। फेरि भेट्ने निश्चित समय मिलाउनुहोस्।
५ फेरि भेट्न जानुहुँदा बाइबल अध्ययन सुरु गर्ने हेतुले यसो भन्न सक्नुहुन्छ:
▪ “हाम्रो अघिल्लो भेटको कुराकानीलाई जीवनको उद्देश्य के हो भनेर कसले बताउन सक्छ भन्ने विषय व्याख्या गर्दै अघि बढाउन चाहन्छु। [जीवनको उद्देश्य पुस्तिकाबाट पृष्ठ ६ को अनुच्छेद १ र २ आफ्नै शब्दमा छोटकरीमा बताउनुहोस्।] यहोवा परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भनेर प्रकाश ४:११ ले बताउँछ। [पढ्नुहोस्।] उहाँले हामीलाई सृष्टि गर्नुको निश्चय नै कुनै कारण हुनुपर्छ। यो कारण के हो त भनेर जान्न इच्छुक हुने व्यक्तिहरूले परमेश्वरको लिखित वचन, बाइबलको अध्ययन गरेका छन्। तपाईं पनि त्यसै गर्नुहोस् भन्ने म चाहन्छु।” निश्शुल्क बाइबल अध्ययन गर्ने तरिका बताउनुहोस् र अध्ययन सुरु गर्ने समय मिलाउनुहोस्।
६ प्रिय जनको मृत्यु भएकाहरूलाई यस्तो व्यवहारिक कुराले सान्त्वना दिनसक्छ:
▪ “आफ्ना प्रिय जनको मृत्यु भएको सबै व्यक्तिहरूलाई म मदत दिने काम गरिरहेछु। हामीले सामना गर्नुपर्ने कुराहरूमध्ये मृत्यु सबैभन्दा असहनीय कुरा हो। त्यसैकारण जब तपाईंको प्रियजनको मृत्यु हुन्छ (अंग्रेजी) शीर्षकको यो पुस्तिका तयार गरिएको छ। यसले लाखौंलाई मदत गरेको छ। येशू ख्रीष्टले गर्नुभएको अचम्मको प्रतिज्ञाबारे यस पुस्तिकाले बताएको कुरा म तपाईंलाई भन्न चाहन्छु। [पृष्ठ २६ को पाँचौं अनुच्छेद र यूहन्ना ५:२१, २८, २९ पढ्नुहोस्।] मृत लाजरसलाई येशूले बिउँताउनुभएको बाइबल विवरणलाई इंकित गर्ने पृष्ठ २९ को चित्रलाई हेर्नुहोस् त। यो सान्त्वनादायी पुस्तिका तपाईं पनि राख्नुहोस् भनी आग्रह गर्न चाहन्छु र फेरि आएर यसबारे छलफल गर्ने समय दिनुभयो भने मलाई खुशी लाग्नेछ।”
७ पुनःभेटमा जानुहुँदा “जब तपाईंको प्रियजनको मृत्यु हुन्छ” (अंग्रेजी) पुस्तिकाबाट पृष्ठ २९ को चित्रलाई फेरि देखाएर यसो भन्न सक्नुहुन्छ:
▪ “येशूले लाजरसलाई पुनरुत्थान गर्नुभएको विषयमा हामीले अघिल्लो भेटमा गरेको छलफललाई सम्झनुहोस् त। [पृष्ठ २८ को क्याप्सन पढ्नुहोस् र “के यो साँच्चै भएको थियो?” भन्ने उपशीर्षकअन्तर्गत भएका कुरा छलफल गर्नुहोस्।] मृत जनलाई फेरि देख्न सक्नुहुनेछ भनेर हृदयदेखि नै विश्वास गर्न चाहनुहुन्छ भने पुनरुत्थानप्रति विश्वस्त हुन म तपाईंलाई मदत गर्न चाहन्छु।” गृह बाइबल अध्ययनको निम्ति प्रस्ताव राख्नुहोस्।
८ आउँदै गरेको महिना यथासम्भव ‘विलाप गर्ने सबैलाई सान्त्वना दिएर’ येशूको अनुकरण गरौं।—यशै. ६१:२.