राज्यभवन निर्माण गर्नुपर्ने आवश्यकता सँगसँगै चल्ने
१ विश्वव्यापी क्षेत्रतर्फ दृष्टि लगाउँदा, यहोवाको पार्थिव संगठनमा विस्तार भएकोमा हामी प्रसन्न हुन्छौं। गत वर्ष संसारभरि जम्मा ३,२८८ मण्डलीहरू थपिएकामध्ये भारतमा मात्रै २५ वटा जति नयाँ मण्डलीहरू थपिए। यी सबै विस्तारलाई नियाल्दा अझ बढी राज्यभवनहरूको आवश्यकता हुनु स्वाभाविकै हो।
२ क्षेत्रीय निर्माण समितिहरू: राज्यभवन निर्माण कार्यक्रमलाई गति दिन सोसाइटीले दुइटा क्षेत्रीय निर्माण समिति खडा गरेको छ। त्यसमध्ये एउटा तामिलनाडु क्षेत्रका मण्डलीहरूका लागि र अर्को चाहिं केरला क्षेत्रको लागि। यी क्षेत्रीय समितिहरूलाई राज्यभवन निर्माण योजनाहरूको रेखदेख गर्ने कार्यभार सुम्पिएको छ। नयाँ राज्यभवन निर्माण होस् या मर्मतको काम, यस समितिले दुवैको देखभाल गर्छ। राज्यभवन निर्माणसम्बन्धी सम्पूर्ण प्रबन्धहरू मसीहीहरूको दिने मनोभाव र आत्मत्यागको भावनाले गर्दा पूरा हुन सकेको छ जुन हामीले संसारमा देखिरहेको मनोवृत्तिभन्दा ठ्याक्कै विपरीत छ।—२ तिमो. ३:२, ४.
३ निर्माण योजनाहरूमा राम्ररी सोचविचार पुऱ्याउने काममा सहयोग गर्न सोसाइटीले क्षेत्रीय निर्माण समितिलाई निर्देशनहरू दिएको छ। यसरी, सुहाउँदो अनि पूरा सदुपयोग हुने राज्यभवनको योजना बनाउन स्थानीय मण्डलीका प्राचीनहरूलाई सहयोग गर्न यस्ता समितिहरू पूर्णतया सुसज्जित छन्। साथै, त्यस्ता कार्यका लागि प्रबन्ध गरिएका स्रोतहरू बुद्धिमत्तापूर्वक प्रयोग गरिन्छ। अतः क्षेत्रीय निर्माण समितिमा काम गर्न नियुक्त अनुभवी प्राचीनहरूको सरसल्लाह लिएर सम्पूर्ण कारोबार होशियारीसाथ सँभाल्नुमा प्राचीनहरूको निकायको भलाइ छ।—लूका १४:२८-३०.
४ लागत खर्च कम गर्ने: क्षेत्रीय निर्माण समितिलाई दक्ष प्राचीनहरूको रेखदेखमा स्थानीय मण्डलीको लागि खरिदसम्बन्धी एउटा विभाग खडा गर्ने निर्देशन दिइएको छ। यस विभागमा काम गर्ने भाइहरूले विभिन्न पसलहरू चहार्दै मोलतोल गरेर उचित मूल्य पत्ता लगाउँछन्। यति गरिसकेपछि कुन पसलबाट के कस्तो सामान किन्ने हो, निर्णय गर्न सकिन्छ।
५ कुनै कुनै मण्डलीहरूलाई राज्यभवन निर्माण गर्न थप आर्थिक सहयोगको दरकार पर्छ। सोसाइटीसँग पेश्की रकम माग्नुअघि प्राचीनहरूले (१) वर्तमान आवश्यकता र भविष्यमा हुने वृद्धिलाई समेत भ्याउनेगरि सुरुमा जग्गा किन्न र निर्माण खर्चमा सहयोग पुऱ्याउन कतिसम्म चन्दा संकलन गर्न सकिन्छ, (२) सम्बन्धित मण्डलीका व्यक्तिहरूसँग के कति ऋण लिन सकिन्छ र (३) मण्डली सञ्चालन गर्न र सोसाइटीबाट लिएको पेश्की रकम तिर्न कतिजति रकम चन्दाबाट उठाउन सकिन्छ भन्ने कुरा पत्ता लगाउनुपर्छ। यो सर्वेक्षण लिंदा क-कसले कति दियो भनेर कागजमा नाम लेखेर देखाउनु हुँदैन।
६ राज्यभवनको नमुना साधारण बनाउनुहोस्: राज्यभवनहरू एकैनासे बनाउन सोसाइटीसँग तीन प्रकारका राज्यभवनका नमुना छन्। ती हुन्, १००, १५० र २५० जना अटाउन सक्ने भवनहरू। भविष्यमा हुने वृद्धिलाई विचार गरेर प्राचीनहरूले यी तीन नमुनाहरूमध्ये कुनै एउटा छान्नसक्छन्। त्यसो गरेमा सोसाइटीको राज्यभवन कोशका हितैषी वा स्रोतहरूमा पनि भार पर्ने छैन।
७ नमुना छनौट गर्नुअघि मण्डलीका प्राचीनहरूले क्षेत्रीय निर्माण समितिसँग सम्पर्क राख्नुपर्छ र सोसाइटीले उपलब्ध गराएको योजनालाई निर्देशन मानेर भवनका सम्पूर्ण रूपरेखाबारे छलफल गर्नुपर्छ। अहिलेसम्म क्षेत्रीय निर्माण समिति गठन नभएका ठाउँहरूका मण्डलीहरूले चाहिं राज्यभवन निर्माण योजनासम्बन्धी कुनै काम थाल्नुअघि प्राचीनहरूले सोसाइटीसँग सम्पर्क राख्नुपर्छ।
८ असल काममा स्वयंसेवकहरू काँधमा काँध मिलाउँछन्: राज्यभवन निर्माणमा सहयोग पुऱ्याउने थुप्रै स्वयंसेवकहरूप्रति सोसाइटी कृतज्ञ छ। तापनि, क्षेत्रीय निर्माण समितिको प्रतिवेदनअनुसार अझ बढी स्वयंसेवकहरूको आवश्यकता देखिन्छ। राज्यसम्बन्धी काममा टेवा पुऱ्याउने यो अत्यावश्यक सेवा हो।—१ कोरि. १५:५८.
९ स्वयंसेवकहरूले कसरी सहयोग पुऱ्याउँछन्? प्राचीनहरूले अनुरोध गरेमा सोसाइटीले राज्यभवन निर्माणका कामदारहरूका लागि प्रश्नोत्तर फाराम पठाउँछ। यी फारामहरू योग्य कामदारहरूका लागि उपलब्ध गराइनेछ। सुहाउँदो दक्षता भएका र मण्डलीमा राम्रो नाउँ चलेका बप्तिस्माप्राप्त प्रकाशकहरूलाई यस काममा स्वयंसेवक हुन प्रोत्साहित गरिन्छ। स्वयंसेवक हुन निर्माणसम्बन्धी र निर्माण क्षेत्रबाहिर पर्ने दक्षताहरू पनि हासिल गरेको हुनुपर्छ। स्वयंसेवक हुन चाहनेले मण्डलीका अध्यक्ष अथवा सचिवसँग फाराम लिएर भर्नसक्छन्। उक्त फाराममा आफूसँग भएका योग्यताहरू खुलाउनुपर्छ। जस्तै, व्यापारी वा भोजन सेवा, सुरक्षा, सामग्रीहरूको कारोबार, लेखा, कानुनी कार्यप्रणालीको ज्ञान आदि।
१० साथै, नजीकै पर्ने ठाउँमा राज्यभवन निर्माण गरिंदैछ भने, निर्माणसम्बन्धी दक्षता नभएका प्रकाशकहरूले श्रमिकको काम गर्ने सुअवसर पनि पाउनसक्छन्। यस्ता कामदारहरूले स्वयंसेवक प्रश्नोत्तर फाराम भरिरहनु पर्दैन। राज्यभवन बनाउन लागेको मण्डलीलाई के कति कामदारको आवश्यक छ भनेर नजीकको मण्डलीमा जानकारी दिइनेछ। त्यसपछि, राज्यभवन बनाउँदै गरेका मण्डलीका प्राचीनहरू र छिमेकी मण्डलीका प्राचीनहरूबीच सम्झौतामा काम हुन्छ। यो सम्झौता यही एक पटकको लागि मात्र लागू हुन्छ।
राज्यभवन निर्माण गर्ने विधिहरू:
(१) राज्यभवन बनाउन मण्डलीको सहमति प्राप्त गर्ने र मण्डली कोशको लागि सदस्यहरू नियुक्त गर्ने
(२) प्राचीनहरूको निकायले भएसम्म व्यापार/निर्माणसम्बन्धी अनुभव भएका दुइ वा तीन प्राचीनहरूको स्थानीय निर्माण समिति गठन गर्छ
(३) राज्यभवनको नमुना छनौट गर्न स्थानीय निर्माण समितिले क्षेत्रीय निर्माण समिति अथवा सोसाइटीसँग सम्पर्क राख्छ
(४) छानिएको नमुना स्वीकृत गर्न सोसाइटीमा पठाइन्छ र स्वीकृत भएपछि स्थानीय सरकारी कार्यालयबाट पास गर्न पेश गरिन्छ
(५) प्राचीनहरूले योजनाको लागि मण्डलीसँग के कति रकम छ, निधो गर्छन्। (तपाईंहरूलाई आर्थिक सहयोग चाहिन्छ भने, सोसाइटीसँग पत्राचार गर्नुहोस्)
(६) स्थानीय निर्माण समितिले सबै प्रकाशकहरूलाई पायक पर्नेगरि जग्गा खोज्ने, पत्ता लगाउने र कोशको नाममा दर्ता गराउने काम गर्छ
(७) राज्यभवन योजना पूरा गर्न क्षेत्रीय निर्माण समिति र स्थानीय निर्माण समिति मिलेर काम गर्छन्
जमीन जाँच्ने सूची
जग्गा
साइज (अहिले जति मानिसहरू सभामा आउँछन्, तिनीहरू अट्ने र बढेमा थाम्न सक्ने छ?)
आकार (पूरै जमीन प्रयोग गर्न नमिल्ने छ कि?)
माटो (निर्माणको लागि अनुकूल छ?)
पानी (बाढीको खतरा? सेप्टिक ट्यांकको पानी निकासा हुने ठाउँ छ?)
संधियार (तपाईंहरूले त्यहाँ भवन निर्माण गरेको रुचाउँछन्?)
सार्वजनिक उपभोग्य वस्तु र सेवाहरू
उपलब्ध (ढल, पानी, ग्याँस, बिजुली, फोन)
फोहर संकलन
प्रहरी र आगलागी हुँदा सुरक्षा
नियमित हुलाक सेवा
स्कूलहरू नजिकै छन्? राम्रै नाउँ कमाएका स्कूलहरू हुन् कि होइनन्?
छरछिमेक
जीवनस्तर (उकासिंदै, खस्किंदै, स्थिर)
वातावरणीय स्थिति (राजमार्ग, कलकारखाना नजिकै छ?)
ठाउँ
सार्वजनिक सवारी साधनको सुविधा छ?
सीमाहरू
जमीनको स्वामित्व एकलौटी छ? (वकिललाई भेट्नुहोस्)
लिखतपत्रमा कुनै शर्त पालन गर्नुपर्ने छ कि?
त्यस क्षेत्रमा निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै नीति नियम छ कि? (सेटब्याक, परिमाण)
तिरो तिर्न बाँकी वा बाटोसम्बन्धी अन्य नियम विथोलित छ कि?
पूँजी
जग्गा किन्न पर्याप्त रकम छ?
ऋण लिनुपर्छ कि?
नदेखिने खर्चहरू छन् कि?
(जग्गा मूल्यांकन गराए बापत रकम तिर्न बाँकी छ कि, नतिरेका करहरू?)
कर तिर्न कतिजति लाग्ला?
निर्माणसम्बन्धी नियमअन्तर्गत पर्ने केही खास क्षेत्रहरू
क्षेत्रीय नियमहरू
क्षेत्र पत्ता लगाउने
भवनलाई कसरी प्रयोग गर्न सकिन्छ
जग्गाको कति प्रतिशत भाग भवन निर्माणको लागि प्रयोग गर्न योग्य छ (घनत्व)
भवनको उच्चतम क्षमता
उच्चतम उँचाइ
सडक र संधियारहरूको घरदेखि जग्गा छोड्नु पर्ने दूरी
सवारी साधन बिसाउने नियम
भवन बनाउन आवश्यक जमीनको न्यूनतम साइज
“छरछिमेकको घरको ढाँचाभन्दा” सुधारिएको वा भिन्नै बनाउन सकिन्छ
भवन नियमावली
आगलागी हुँदा सुरक्षा
सुरक्षापूर्वक निस्कने बाटो (आकस्मिक ढोका)
बिजुलीजस्ता दुर्घटना हुँदा बच्नको निम्ति सेवा सुविधाहरूको परिचालन
भिडभाड हुँदाको स्थितिलाई विचार गरेर भवनको नमुना बनाउने (सार्वजनिक भवनहरू)
सुरक्षित आकारको
प्रकाश र हावा राम्रो आवतजावत हुने
सफा पाइपलाइनको व्यवस्था
अग्नि निरोधक उपकरणहरू
निर्माण हुँदा सुरक्षा
यी आधारभूत कुराहरू भवनका उपभोक्ताहरूको सुरक्षा र भलाइका लागि हुन्
अनुपयुक्त
ठीकै
उपयुक्त