प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
“हे परमप्रभु, हे सत्य परमेश्वर, तपाईंले मलाई मोल तिरेर मुक्त गर्नुभएको छ।” —भजनसंग्रह ३१:५.
एउटी मसीही बहिनीले यसरी लेखिन्, “‘संकटको समयमा तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ,’ भन्ने वाचटावर-को लेखद्वारा दिनुभएको अद्भुत जानकारीका लागि तपाईंहरूलाई धेरै-धेरै धन्यवाद।a तपाईंहरूले छलफल गर्नुभएका धेरैजसो बुँदाहरू मैले भोग्नुपरेका भावनाहरू जस्तै थिए; त्यो लेख मेरो लागि नै लेखिएको हो जस्तो मलाई लाग्यो। सुरुमा पढ्ने बित्तिकै मेरो गहभरि आँसु छचल्किएको थियो। मेरो भावनालाई बुझ्ने कोही रहेछ भनेर थाहा पाउनु मेरो लागि साह्रै ठूलो कुरा हो! यहोवाको साक्षी हुनपाएकोमा म एकदम कृतज्ञ छु। भविष्यको लागि पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रतिज्ञा र अहिले हाम्रो प्राणको लागि सान्त्वना अरू कहाँ नै पाउन सकिन्छ र! तपाईंहरूलाई मुरीमुरी धन्यवाद।”
२ के तपाईंले पनि कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? प्रहरीधरहरा वा त्यसको सह-पत्रिका अवेक! को कुनै लेख विशेषगरि तपाईंकै लागि लेखिएको हो जस्तो के तपाईंलाई कहिल्यै लागेको छ? मानिसहरूको मन खिच्ने त्यस्तो कुन कुरा हाम्रा पत्रिकाहरूमा छन्? यी पत्रिकाहरूले दिने जीवनरक्षक समाचारबाट फाइदा उठाउन अरूहरूलाई कसरी मदत दिन सक्छौं?—१ तिमोथी ४:१६.
सत्यको वकालत गर्ने पत्रिकाहरू
३ यहोवा “सत्य परमेश्वर” हुनुहुन्छ। (भजनसंग्रह ३१:५) उहाँको वचन, बाइबल सत्यको पुस्तक हो। (यूहन्ना १७:१७) त्यसकारण सोझो हृदय भएका व्यक्तिहरू सत्यप्रति आकृष्ट हुन्छन्। (यूहन्ना ४:२३, २४ तुलना गर्नुहोस्।) प्रहरीधरहरा र अवेक!-ले लाखौं पाठकहरूको हृदय छुनुको एउटा कारण यी पत्रिकाहरू निष्ठा र सत्यताका पत्रिकाहरू भएको हुनाले पनि हो। वास्तवमा भन्ने हो भने, बाइबलका सत्यप्रति निष्ठावान रहने विवादबाट नै द वाचटावर प्रकाशित हुन थालिएको थियो।
४ चार्ल्स टि० रसल १८७६-मा रोचेष्टर, न्यु योर्कका नेलसन एच० बार्बरसँग साझेदार बने। बार्बरको धार्मिक पत्रिका हेराल्ड अफ द मर्निङ्ग-लाई पुनः प्रकाशित गर्न रसलले पुँजीको व्यवस्था गरिदिए। उक्त पत्रिकाका प्रमुख सम्पादक र सहायक सम्पादक क्रमशः बार्बर र रसल थिए। तथापि, करीबन डेढ वर्षपछि बार्बरले ख्रीष्टको मृत्युको प्रायश्चित मोललाई अस्वीकार गर्दै एउटा लेख लेखे। बार्बरभन्दा झण्डै ३० वर्ष कान्छो रसलले यस लेखको प्रत्युत्तरमा लगत्तै अर्को अङ्कमा छुटकाराको मोललाई समर्थन गर्ने लेख लेखे। त्यस लेखमा तिनले छुटकाराको मोललाई “परमेश्वरको वचनको सबैभन्दा महत्त्वपूर्ण शिक्षाहरूमध्ये एक हो” भनी उल्लेख गरे। (मत्ती २०:२८) बार्बरसँग निकै पटक शास्त्रीय आधारमा तर्क गरेर केही नलागेपछि तिनले अन्तमा हेराल्ड-सँग कुनै सरोकार नराख्ने निर्णय गरे। उक्त पत्रिकाको जून १८७९-को अङ्कदेखि सहायक सम्पादकको ठाउँमा रसलको नाउँ देखिएन। यसको एक महिनापछि २७ वर्षीय रसलले जायन्स वाच टावर एण्ड हेराल्ड अफ क्राइस्ट प्रेजेन्स (हाल प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्दछ) प्रकाशित गर्न थाले। यस पत्रिकाले सुरुदेखि नै छुटकाराको बलिदान जस्ता शास्त्रीय सच्चाइलाई समर्थन गरेको छ।
५ गत ११४ वर्षदेखि एक कुशल वकिललेझैं द वाचटावर-ले बाइबलका सच्चाइ र शिक्षाहरूको प्रतिवादीको रूपमा आफ्नो स्थान बनाएको छ। यस सिलसिलामा यसले लाखौं प्रशंसकहरूको भरोसा जितेको छ। यसले अहिले पनि छुटकाराको बलिदानलाई पूर्ण समर्थन दिन्छ। (उदाहरणको लागि फेब्रुअरी १५, १९९१ अङ्क हेर्नुहोस्।) यहोवाको स्थापित राज्यको घोषणा गर्न अनि “ठीक-ठीक समयमा” आध्यात्मिक आहार वितरण गर्न “विश्वासी र बुद्धिमान दास” तथा त्यसको परिचालक निकायको प्रमुख साधन अहिले पनि यही पत्रिका हो।—मत्ती २४:१४, ४५.
६ अवेक! पत्रिकाबारे के भन्न सकिन्छ? अवेक!-ले पनि सुरुदेखि सत्यकै वकालत गर्दै आएको छ। मूल रूपमा द गोल्डेन एज नाउँ भएको यस पत्रिका आम वितरणका लागि तयार पारिएको थियो। यसको उद्देश्यको सम्बन्धमा अक्टोबर १, १९१९-को पहिलो अङ्कमा यो विवरण थियो: “यसको उद्देश्य ईश्वरीय बुद्धिको प्रकाशमा वर्तमान समयका ठूल-ठूला घटनाहरूको अर्थ बताउनु अनि मानवजातिका लागि महान आशिष नजिकै छ भनेर अकाट्य तथा विश्वासिलो प्रमाणद्वारा विचारशील व्यक्तिहरूलाई प्रमाणित गर्नु हो।” विचारशील व्यक्तिहरूले द गोल्डेन एज का समाचारप्रति ध्यान दिए। निकै वर्षसम्म यस पत्रिकाको वितरण दर द वाचटावर-को भन्दा बढी थियो।b
७ तथापि, सैद्धान्तिक सच्चाइ प्रकाशित गर्दैमा र विश्व परिस्थितिको भविष्यसूचक महत्त्व बताउँदैमा प्रहरीधरहरा र अवेक! आकर्षक भएका होइनन्। विशेषगरि एक दुई दशकभित्र अर्को कारणले गर्दा पनि यी पत्रिकाहरूले मानिसहरूको मन जितेको छ।
मानिसहरूको जीवनलाई असर गर्ने समयसापेक्ष लेखहरू
८ येशू ख्रीष्टको मृत्यु अनि पुनरूत्थानको ३० वर्षपश्चात् बाइबल लेखक यहूदाले एउटा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपऱ्यो। मसीहीहरूको माझमा अनैतिक र पाशविक मानिसहरू घुसेका थिए। सङ्गी मसीहीहरूलाई यहूदाले सैद्धान्तिक विषय अर्थात् सबै अभिषिक्त मसीहीहरूले पाउने छुटकाराबारे लेख्ने विचार गरेका थिए। तर पवित्र आत्माको निर्देशनमा तिनले आफ्ना पाठकहरूलाई मण्डली भित्रका भ्रष्ट प्रभावहरूको विरोध गर्ने सल्लाह दिन आवश्यक देखे। (यहूदा ३, ४, १९-२३) यहूदा परिस्थितिअनुसार चले र आफ्ना मसीही भाइहरूलाई उनीहरूको आवश्यकताअनुरूप समयसापेक्ष सल्लाह दिए।
९ त्यस्तैगरि, हाम्रा पत्रिकाहरूका लागि समयसापेक्ष लेखहरू तयार गर्नु पनि एउटा चुनौतीपूर्ण जिम्मेवार हो। समयको गति सँगसँगै मानिसहरू पनि परिवर्तन हुन्छन्—तिनीहरूको आवश्यकता, तिनीहरूको चासो एक दुई दशकअघि जे थियो त्यो अहिले हुँदैन। हालसालै एक जना परिभ्रमण निरीक्षकले यस्तो अनुभव गरे: “१९५० तिर जब म साक्षी भएँ, त्यतिबेला मानिसहरूसँग बाइबल अध्ययन गर्ने तरिका मुख्यतया सैद्धान्तिक अर्थात् त्रिएक, नरक कुण्ड, आत्मा आदिबारे तथ्य कुरा बताउनु हुन्थ्यो। तर अहिले लाग्छ मानिसहरूको जीवनमा धेरै समस्या र कठिनाइहरू भएको हुनाले तिनीहरूलाई कसरी बाँच्ने भनेर हामीले सिकाउनु पर्छ जस्तो छ।” यस्तो किन भएको?
१० “आखिरी दिन”-को सम्बन्धमा बाइबलले यस्तो अगमवाणी गरेको थियो: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१, १३) अतः १९१४-मा अखिरी दिन सुरु भए देखिन् मानव क्रियाकलापमा क्रमिक रूपले भइरहेको ह्रासले हामीलाई अचम्भित बनाउनु पर्ने आवश्यक छैन। आफ्नो अल्प समय बाँकि भएको हुँदा शैतानले मानव समाजमाथि झन बढी रीस पोखाइरहेको छ। (प्रकाश १२:९, १२) फलस्वरूप ३०-४० वर्षअघिको र अहिलेको नैतिक अनि पारिवारिक मूल्यमा ठूलो भिन्नता आएको छ। बितेका दशकहरूमा जस्तो धार्मिक झुकाव अहिले मानिसहरूमा छैन। अपराध यति चर्को छ कि मानिसहरू २०-३० वर्षअघि नसुनिएका सावधानीहरू लिंदैछन्।—मत्ती २४:१२.
११ अतः अहिले निकै मानिसहरूको मनमा भावनात्मक, सामाजिक तथा पारिवारिक विषयहरू खेल्नु कुनै अनौठो कुरा होइन। मानिसहरूको वास्तविक आवश्यकतासँग सम्बन्धित र तिनीहरूको जीवनलाई साँच्चै नै असर पार्ने विषयमा समयसापेक्ष लेखहरू प्रकाशित गरेर विश्वासी अनि बुद्धिमानी दासले प्रहरीधरहरा र अवेक!-का पन्नाहरूद्वारा साहसीपूर्वक त्यसको प्रत्युत्तर दिएका छन्। निम्न उदाहरणहरूलाई एकछिन विचार गर्नुहोस्।
१२ पारिवारिक विषयहरू। विश्वव्यापी रिपोर्टले आमा वा बाबु मात्र भएको परिवारको सँख्यामा तीव्र वृद्धि भएको देखाउँदा “आमा वा बाबु मात्र भएको परिवारको समस्या कसरी सामना गर्ने?” भन्ने शीर्षक अन्तर्गत सेप्टेम्बर १५, १९८०-को द वाचटावर मा अपूर्व लेखहरू तयार पारिएको थियो। ती लेखहरूको द्वयमुखी उद्देश्य थियो: (१) पति वा पत्नी नभएका आमाबाबुहरूलाई आफूले भोग्ने समस्याको सामना गर्न मदत दिने र (२) आमा वा बाबु मात्र भएका परिवारहरूलाई “सहानुभूति” देखाउन र “हेरचाह” गर्न सकून् भनेर अरूहरूलाई राम्रो जानकारी दिने। (१ पत्रुस ३:८; याकूब १:२७) यी लेखहरूका लागि थुप्रै पाठकहरूले आफ्नो मूल्याङ्कन जाहेर गर्न पत्राचार गरे। पति नभएकी एउटी महिलाले यसरी लेखिन्, “बाहिरी आवरण देख्ने बित्तिकै मेरो आँखाबाट आँसु झऱ्यो र भित्र खोलेर पढेपछि यहोवाले चाहिएकै बेला यस्तो जानकारी दिनुभएकोमा मेरो हृदय कृतज्ञताले भरियो।”
१३ भावनात्मक विषयहरू। सन् १९६० देखि प्रहरीधरहरा र अवेक!-मा निराशाबारे छलफल गरिदैं आएको छ। (१ थिस्सलोनिकी ५:१४) तर सेप्टेम्बर ८, १९८१ को अवेक!-मा “तपाईं निराशासँग लड्न सक्नुहुन्छ!” भन्ने आवरण शीर्षक अन्तर्गत विभिन्न लेखहरूद्वारा एउटा नयाँ र सकारात्मक दृष्टि यसमा थपियो। लगत्तै विश्वको चारै कुनाबाट मूल्याङ्कनले भरिएका पत्रहरू वाच टावर सोसाइटीमा ओइरिन थाले। “मेरो हृदयका भावनाहरूलाई म कसरी कागजमा पोखुँ?,” एउटी बहिनीले लेखिन्। “म २४ वर्षकी छु र बितेका १० वर्षदेखि म निकै चोटि निराशाबाट पीडित भइसकें। तर अहिले भने म यहोवासित नजिकिएको छु र निराश व्यक्तिहरूको आवश्यकताप्रति यस्ता प्रेमपूर्ण लेखहरूद्वारा प्रत्युत्तर दिनुभएकोमा म कृतज्ञ छुँ। यही कुरा म तपाईंहरूलाई पनि भन्न चाहन्थे।”
१४ सामाजिक विषयहरू। “आखिरी दिनमा मानिसहरू स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, . . . असंयमी, निष्ठूर, असल नरूचाउने . . . हुनेछन्” भनेर बाइबलले अगमवाणी गरेको थियो। (२ तिमोथी ३:१-३) अतः आजकल बाल दुर्व्यवहार यति धेरै व्यापक हुनु कुनै आश्चर्यजनक कुरा होइन। उक्त विषयलाई “हाडनाताकरणी पीडितहरूका लागि मदत” भन्ने लेख अन्तर्गत अक्टोबर १, १९८३ को द वाचटावर-मा स्पष्टसित छलफल गरिएको थियो। यसको आठ वर्षपछि फेरि अक्टोबर ८, १९९१ को अवेक!-मा “बाल दुर्व्यवहारको चोटलाई निको पार्ने” भन्ने आवरण शीर्षक अन्तर्गत लेखहरू दिइयो। पीडित व्यक्तिहरूलाई समझशक्ति र आशा दिनुको साथै तिनीहरूलाई सहयोग गर्न अरूहरूलाई ज्ञान दिने उद्देश्यका साथ उक्त लेखहरू राम्ररी तयारी पारिएको थियो। यस लेखको श्रृङ्खलाले हाम्रो पत्रिकाको इतिहासमा सबैभन्दा बढी पाठकको प्रत्युत्तर पायो। त्यस्तै एक जना पाठकले यसो भनेर लेखे: “यी लेखहरूमा दिइएको सान्त्वनादायी विचारहरू र शास्त्रीय सन्दर्भ सामग्रीहरूले मेरो चोट निको पार्न ठूलो भूमिका खेलेको छ। यहोवाले मेरो विषयमा पनि उत्तिकै सोच्नु हुन्छ भनेर थाहा पाउनु मेरो लागि अति हर्षजनक थियो। अरूहरूले पनि मैले जस्तै समस्या भोगिरहेका छन् भनेर थाहा पाउनु पनि कम सान्त्वनादायी थिएन।”
१५ त्यस्तैगरि मेलबोर्न, अस्ट्रेलियाको एक जना पेशेवर घोडचढीले निकै टाढाबाट सिड्नीस्थित वाच टावर सोसाइटीको कार्यालयमा फोन गरे। तिनले घोडदौड प्रतियोगितासँग सम्बन्धित वातावरणप्रति आफ्नो विरक्तिपनालाई व्यक्त गरे। त्यसपछि तिनले मार्च ८-को अवेक!-मा “बलात्कार—एउटी स्त्रीको डरलाग्दो सपना” भन्ने लेख आफूले पढेको र त्यस्तो अमूल्य पत्रिका उपलब्ध भएकोमा विश्वास गर्न कठिन परेको कुरा बताए। तिनले झण्डै ३० मिनेटसम्म प्रश्नहरू सोधे र चित्तबुझ्दो उत्तर पाएकोमा खुशी थिए।
१६ तपाईंको विषयमा के भन्न सकिन्छ? प्रहरीधरहरा वा अवेक!-मा प्रकाशित त्यस्तो कुनै विशेष लेखले के तपाईंको जीवनलाई असर गरेको छ? यदि छ भने निश्चय नै तपाईं हाम्रा पत्रिकाहरूप्रति गहिरो कृतज्ञता महसुस गर्नुहुन्छ। त्यसोभए तपाईं आफ्नो मूल्याङ्कन कसरी व्यक्त गर्न सक्नुहुन्छ? निस्सन्देह आफैले ती पत्रिकाहरू पढेर तपाईं त्यसो गर्न सक्नुहुन्छ। यस बाहेक यी अमूल्य पत्रिकाहरूलाई यथासक्य वितरण गरेर पनि तपाईं मूल्याङ्कन व्यक्त गर्न सक्नुहुन्छ। यो काम कसरी गर्न सकिन्छ?
अरूहरूसँग बाँड्नुहोस्!
१७ प्रथमतः, हरेक मण्डलीले गर्नसक्ने एउटा काम छ। यस सम्बन्धमा अक्टोबर १९५२ को इनफोरमेन्ट (अहिले हाम्रो राज्य सेवकाई) ले यसो भन्यो: “यी पत्रिकाहरू वितरण गर्ने सबैभन्दा प्रभावकारी तरिका घर-घर र पसल-पसल गएर ती दिनु हो। यसर्थ पत्रिका वितरण गर्ने यस तरिकालाई पत्रिका दिनको नियमित भाग बनाउन सोसाइटीले सुझाव दिन्छ।” यो सल्लाह आज पनि लागू हुन्छ। विशेषगरि पत्रिका मात्र वितरण गरेर साक्षी दिन कुनै एक दिन छुट्टयाएर मण्डलीहरूले नियमित रूपमा पत्रिका दिनको तालिका बनाउन सक्छन्। कुनै एउटा शनिबारलाई पत्रिका दिनको रूपमा छुट्टयाउनु निस्सन्देह धेरै मण्डलीहरूका लागि अनुकुल समय हुनेछ। हो, घर-घर, पसल-पसल, सडक-सडक र पत्रिका मार्गमा पत्रिका वितरणद्वारा साक्षी दिन हरेक मण्डलीले कुनै एउटा विशेष दिन वा साँझ छुट्टयाउन्! यस बाहेक तपाईं राज्य प्रचारकले पत्रिका वितरण वृद्धि गर्न के गर्न सक्नुहुन्छ?
१८ “प्रहरीधरहरा” र “अवेक!” सित अभ्यस्त हुनु पहिलो खुड्किलो हो। समयमै पत्रिकाहरू पढ्नुहोस्। पत्रिकाहरू पढ्दै जाँदा आफैलाई सोध्नुहोस्, ‘कस्ता व्यक्तिहरूलाई यो लेख चासो लाग्नसक्छ?’ लेखमाथि चासो जगाउन सक्ने खालका केही शब्दहरू सोच्नुहोस्। नियमित पत्रिका दिनमा सहभागी हुनुको अलावा यात्रा वा किनमेल गर्दा र आफ्ना सहकर्मी, छिमेकी, सहपाठीहरू वा शिक्षकहरूसँग पत्रिकाहरू बाँड्ने हरेक मौकाको फाइदा उठाउन केही प्रतिहरू बोके कसो होला?
१९ आफ्नो प्रस्तुतिलाई सरल बनाउनु दोस्रो सुझाव हो। यस सम्बन्धमा डिसेम्बर १, १९५६-को वाचटावर-ले यो टिप्पणी गऱ्यो: “पत्रिका वितरण गर्दा छोटो-मिठो प्रस्तुति चलाउनु असल हो। हाम्रो उद्देश्य यथासक्य धेरै पत्रिका वितरण गर्नु हो। बाँकि ‘कुरा’ त्यही पत्रिकाहरूले गरिहाल्छ।” केही प्रकाशकहरूले कुनै एउटा लेखको बुँदालाई आफ्नै शब्दमा बयान गरेर पत्रिका दिनु प्रभावकारी पाएका छन्। एकपल्ट त्यस पत्रिकाले घरमा प्रवेश पाएपछि त्यसले पत्रिका स्वीकार्ने व्यक्तिको अलावा घरका अन्य व्यक्तिहरूसँग पनि ‘कुरा’ गर्न सक्छ। विश्वविद्यालयमा अध्ययन गर्ने आयरलैण्डकी एक जना जवान व्यक्तिले सेप्टेम्बर १, १९९१ अङ्कको द वाचटावर पाइछ। त्यो पत्रिका तिनको बाबुले एक जना साक्षीको हातबाट लिएका थिए। “सञ्चार” विषयमाथिको लेखहरू र अन्य विषयले तिनको चासो जगाएछ। पत्रिका पढ्न सक्ने बित्तिकै तिनले टेलिफोन निर्देशिका खोलेर साक्षीहरूलाई फोन गरिछ। लगत्तै केही समयमा बाइबल अध्ययन पनि सुरु भयो र यस जवान महिलाले जुलाई १९९३-मा “ईश्वरीय शिक्षा” सम्मेलनमा बप्तिस्मा लिइन्। अतः जसरी हुन्छ हाम्रा पत्रिकाहरूलाई घरमा प्रवेश गराउनुहोस् जहाँ तिनीहरूले मानिसहरूसँग “कुरा” गर्न सक्छन्! एक जना परिभ्रमण निरीक्षकले अर्को सरल सुझाव दिए: “पत्रिकाहरूलाई तपाईंको झोलाबाट बाहिर निकाल्नुहोस्।” निस्सन्देह, यदि तपाईंले बोल्नु भएका शब्दले घरधनीको चासो जगाएन भने शायद ती पत्रिकाहरूको आकर्षक आवरण चित्रद्वारा तपाईं पत्रिकाहरू वितरण गर्न सक्नुहुन्छ।
२० तेस्रो सुझाव हो, लचकदार हुनुहोस्। (१ कोरिन्थी ९:१९-२३ तुलना गर्नुहोस्।) एक-दुई वटा छोटो प्रस्तुति तयार पार्नुहोस्। पुरुषहरूले र महिलाहरूले रूचाउन सक्ने भिन्दा भिन्दै लेखहरूलाई मनमा राख्नुहोस्। जवानहरूका निम्ति तपाईंले “जवान व्यक्तिहरू सोध्छन् . . . ” भन्ने लेख देखाउन सक्नुहुन्छ। पत्रिका वितरण कार्यमा भाग लिंदा पनि लचकदार हुनुहोस्। पत्रिका दिन बाहेक साँझपख घर-घर गएर ती पत्रिकाहरू दिनु पनि तपाईंको लागि अर्को उत्तम मौका हुनसक्छ।
२१ चौथो सुझाव व्यक्तिगत लक्ष्य निर्धारण गर्नु हो। आवर किङ्गडम मिनिस्ट्री, अप्रिल १९८४-मा “पत्रिकाले जीवनको मार्ग देखाउँछ” भन्ने शीर्षक भएको परिशिष्टाङ्कले यस्तो टिप्पणी गऱ्यो: “सुझावको रूपमा, प्रकाशकहरूले आफ्नो परिस्थितिअनुरूप कम्तिमा प्रति महिना १० वटा पत्रिका वितरण गर्ने लक्ष्य राख्न सक्छन्; अग्रगामीहरूले ९० वटा दिने कोशिश गर्न सक्छन्। निस्सन्देह केही प्रकाशकहरूले महिनामा शायद योभन्दा बढी पत्रिका दिन सक्छन्, अतः तिनीहरूले अझ ठूलो व्यक्तिगत लक्ष्य राख्नेछन्। तथापि, कमजोर स्वास्थ्य, इलाकाको प्रकृति वा अन्य ग्राह्य कारणहरूले गर्दा अरू व्यक्तिहरूको लक्ष्य कम होला। तर यहोवाका निम्ति तिनीहरूले गरेको सेवा उत्तिकै मूल्यवान छ। (मत्ती १३:२३; लूका २१:३, ४) सबैभन्दा महत्त्वपूर्ण कुरा व्यक्तिगत लक्ष्य राख्नु हो।”
२२ हाम्रो निम्ति समयसापेक्ष पत्रिकाहरूको प्रबन्ध गर्न बुद्धिमान अनि विश्वासी दास र त्यसको परिचालक निकाय चलाउनु भएकोमा “सत्य परमेश्वर” यहोवाप्रति हामी धेरै-धेरै आभारी छौं! (भजनसंग्रह ३१:५) यहोवाको इच्छा भएसम्म मानिसहरूको वास्तविक आवश्यकताहरूलाई सँगालेर यी पत्रिकाहरू प्रकाशित भइरहनेछन्। यहोवाको उच्च नैतिक सिद्धान्तलाई यसले सधैं समर्थन गर्नेछ। ठीक सिद्धान्तलाई यसले प्रवर्द्धन गर्न बन्द गर्ने छैन। यसको साथै परमेश्वरको शासन चलिरहेको छ अनि यहोवाका साँचो उपासकहरूको बढ्दो सँख्याले परमेश्वरको इच्छालाई अपूर्व ढङ्गमा पूरा गरिरहेको छ भन्ने कुरालाई चिह्नित गर्ने भविष्यवाणीको पूर्तिमाथि यसले ध्यानाकर्षण गर्न पनि रोक्ने छैन। (मत्ती ६:१०; प्रकाश ११:१५) प्रहरीधरहरा र अवेक!-मा हामीले कस्तो अमूल्य धन पाएका छौं! आउनुहोस्, मानिसहरूको जीवनलाई असर पार्ने अनि राज्य सच्चाइको उद्घोषण गर्ने यी महत्त्वपूर्ण पत्रिकाहरू नम्र व्यक्तिहरूलाई बाँड्ने हर मौकाको फाइदा उठाऔं। (w94 1/1)
[फुटनोटहरू]
a जुलाई १५, १९९२, पृष्ठ १९-२२.
b वर्षौंसम्म द वाचटावर विशेषगरि अभिषिक्त जनहरूका लागि मात्र हुन् भनी ठानिन्थ्यो। तथापि, पार्थिव आशा भएका ठूलो भीडलाई सन् १९३५ देखि यो पत्रिका पढ्न जोड दिन थालियो। (प्रकाश ७:९) यसको केही वर्षपश्चात् सन् १९४० मा प्रहरीधरहरा लाई सडक सडकमा मानिसहरूलाई नियमित रूपमा वितरण गर्न थालियो। त्यहाँदेखिन् यस पत्रिकाको वितरण दर द्रूत गतिमा बढ्दै गयो।
तपाईंको उत्तर के हो?
▫ प्रहरीधरहरा र अवेक! सत्यका पत्रिकाहरू हुन् भनेर कुन कुराले देखाउँछ?
▫ प्रहरीधरहरा र अवेक!-ले मानिसहरूको जीवनलाई कसरी छोएको छ?
▫ पत्रिका वितरण वृद्धि गर्न मण्डलीहरूले के गर्न सक्छन्?
▫ अझ धेरै पत्रिकाहरू वितरण गर्न कुन सुझावहरूले तपाईंलाई मदत पुऱ्याउन सक्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. (क) द वाचटावर-मा आफूले पढेको कुराप्रति एउटी बहिनीले कस्तो महसुस गरिन्? (ख) हाम्रा पत्रिकाहरूबारे कस्ता प्रश्नहरू सोधिएका छन्?
३. कुन असल कारणहरूले गर्दा प्रहरीधरहरा र अवेक! ले थुप्रै पाठकहरूको हृदय छोएको छ?
४, ५. (क) कुन परिस्थितिहरूले गर्दा सि० टि० रसल वाच टावर छाप्न पुगे? (ख) प्रहरीधरहरा पत्रिकालाई “विश्वासी र बुद्धिमान दास”-ले कुन तरिकामा प्रयोग गर्छन्?
६, ७. द गोल्डेन एज-को उद्देश्य के थियो र विचारशील व्यक्तिहरूले त्यसको समाचारलाई सुने भनेर कुन कुराले देखाउँछ?
८. आफ्ना पाठकहरूलाई मण्डली भित्रको कस्ता भ्रष्ट प्रभावहरूको विरोध गर्ने आग्रह गर्दै यहूदाले आफ्नो पत्रमा कस्तो छाँटकाँट गरे?
९. हाम्रा पत्रिकाहरूका लागि समयसापेक्ष लेखहरू प्रबन्ध गर्ने सम्बन्धमा कुन कुरा समावेश छ?
१०. सन् १९१४ देखि यता मानव क्रियाकलापमा क्रमिक रूपले भइरहेको ह्रासप्रति हामी किन अचम्भित हुनु आवश्यक छैन?
११. (क) मानिसहरूको मनमा कस्ता विषयहरू खेलिरहेका छन् र ती आवश्यकताहरूप्रति विश्वासी अनि बुद्धिमान दासले कस्तो प्रतिक्रिया देखाएका छन्? (ख) तपाईंको जीवनलाई असर गर्ने प्रहरीधरहरा वा अवेक!-को कुनै एउटा लेख बताउनुहोस्।
१२. (क) सन् १९८०-को द वाचटावर-मा आमा वा बाबु मात्र भएको परिवारसम्बन्धी लेखहरू किन तयार पारियो? (ख) आमा वा बाबु मात्र भएको परिवार सम्बन्धी लेखहरूप्रति एक जना बहिनीले कसरी मूल्याङ्कन जाहेर गरिन्?
१३. सन् १९८१ अङ्कको अवेक!-मा निराशाबारे कस्तो गहिरो छलफल गरियो र यसबारे एक जना पाठकले के भने?
१४, १५. (क) बाल दुर्व्यवहारसम्बन्धी विषयलाई हाम्रा पत्रिकाहरूमा कसरी प्रस्तुत गरिएको छ? (ख) अस्ट्रेलियाका एक जना पेशेवर घोडचढीलाई कुन चाहिं पत्रिकाको लेखले प्रभावित पाऱ्यो?
१६. हाम्रा पत्रिकाहरूप्रति तपाईं कुन कुन तरिकाले मूल्याङ्कन देखाउन सक्नुहुन्छ?
१७. पत्रिका वितरण वृद्धि गर्न मण्डलीहरूले के गर्न सक्छन्?
१८, १९. (क) प्रहरीधरहरा र अवेक! सित अभ्यस्त भएमा पत्रिका वितरण गर्न कसरी मदत पुग्नसक्छ? (ख) पत्रिका वितरण गर्दा छोटो-मिठो प्रस्तुति चलाउनुमा के फाइदा छ? (ग) मानिसहरूको घरमा पत्रिका प्रवेश गराउनुको महत्त्वलाई कुन कुराले देखाउँछ?
२०, २१. (क) पत्रिका वितरण कार्यमा भाग लिंदा तपाईं कसरी लचकदार हुन सक्नुहुन्छ? (ख) हर महिना अझ धेरै पत्रिकाहरू वितरण गर्न तपाईं के गर्न सक्नुहुन्छ?
२२. हाम्रा समयसापेक्ष पत्रिकाहरूका लागि यहोवाप्रति हामी आभारी छौं भनेर कसरी देखाउनसक्छौं?
[पृष्ठ ८-मा भएको पेटी]
मानिसहरूका जीवनलाई असर गरेका केही लेखहरू
निकै वर्षदेखि थुप्रै पाठकहरूले प्रहरीधरहरा र अवेक!-मा प्रकाशित केही विशेष लेखहरूप्रति पत्राचारद्वारा मूल्याङ्कन व्यक्त गरेका छन्। हाम्रा पाठकहरूलाई असर गर्ने विषयहरूमध्ये केही विषय तल दिइएका छन्। के यी लेख वा अन्य कुनै लेखहरूले तपाईंको जीवनमा परिवर्तन ल्याएको छ?
प्रहरीधरहरा
“गुप्त दोषहरूलाई जित्न परमेश्वरको मदत स्वीकार्नुहोस्” (अप्रिल १५, १९८५, अंग्रेजीमा)
“वृद्ध मातापिताहरूप्रति ईश्वरीय भक्तिको अभ्यास गर्ने” (जून १, १९८७, अंग्रेजीमा)
“उद्देश्य सहितको शिक्षा” (फेब्रुअरी १, १९९३)
अवेक!
“तपाईं निराशासँग लड्न सक्नुहुन्छ!” (सेप्टेम्बर ८, १९८१)
“जब तपाईंको प्रियजनको मृत्यु हुन्छ . . . ” (अप्रिल २२, १९८५)
“तपाईंका छोराछोरीलाई जोगाउनुहोस्!” (अक्टोबर ८, १९९३)
[पृष्ठ १९-मा भएको चित्र]
क्यानाडामा—पत्रिका लिएर घर-घरमा प्रचार गरिरहेका
[पृष्ठ २०-मा भएको चित्र]
म्यानमारमा—जीवनको मार्ग देखाउने पत्रिकाहरू प्रस्तुत गरिरहेका