असल आनीबानीद्वारा साक्षी दिने
१ आजको छाडा समाजमा थुप्रै युवायुवतीहरूले आफ्नो जीवन लागू पदार्थ, अनैतिकता, विद्रोह र हिंसामा जथाभावी खेर फालिरहेका छन्। यसको विपरीत, मसीही मण्डलीमा असल आनीबानी भएका युवायुवतीहरू देख्नपाउनु हाम्रोलागि स्फूर्तीदायी अनि यहोवाको लागि निश्चय नै मनोहर कुरा हो। तिनीहरूको असल आनीबानीले जोडदार साक्षी दिन्छ र अरूलाई सच्चाइमा आकर्षित गर्नसक्छ।—१ पत्रु. २:१२.
२ मसीही युवायुवतीहरूको असल आनीबानीले मानिसहरूमा सकारात्मक प्रभाव पारेको छ भनेर थुप्रै अनुभवहरूले देखाउँछन्। आफ्नो जवान साक्षी विद्यार्थीको कुरा गर्दै एउटी शिक्षिकाले उक्त केटीको परमेश्वर यहोवा साँचो परमेश्वर हुनुहुन्छ भनेर कक्षाका सबै विद्यार्थीहरूलाई बताइन्। यो केटीले सधैं आदरपूर्ण आनीबानी देखाएकी हुनाले तिनले त्यसो भन्न सकिन्। अर्को शिक्षकले सोसाइटीलाई यस्तो पत्र लेखे: “तपाईंहरूको धर्ममा असल युवायुवतीहरू भएकोमा म तपाईंहरूको प्रशंसा गर्छु। . . . तपाईंहरूमाझ भएका युवायुवतीहरू साँच्चै उदाहरणीय छन्। तिनीहरू आफूभन्दा ठूलाहरूलाई आदर गर्छन्, नम्र छन् र भद्र पोसाक लगाउँछन्। अनि तिनीहरू बाइबलको कुरामा कत्ति सिपालु! धर्म भनेको त यस्तो पो हुनुपर्छ!”
३ अर्की शिक्षिका आफ्नो कक्षाको सात वर्षीय साक्षीको असल आनीबानी देखेर प्रभावित भइन्। उनी उक्त केटोको शान्त र मिलनसार व्यक्तित्वप्रति आकर्षित भइन्। त्यस केटोको व्यक्तित्वले गर्दा तिनी अरू केटाहरूभन्दा भिन्नै थिए। तिनी आफ्नो विश्वासको कारण अरूभन्दा भिन्नै भएकोमा लज्जित हुनुको साटो आफ्नो धार्मिक विश्वासमा गम्भीर भएको देखेर शिक्षिका प्रभावित भइन्। तिनको अन्तस्करण प्रशिक्षित भएकोले तिनले “खराब र असल छुट्याउन” सकेको उनले देख्नसकिन्। (हिब्रू ५:१४) अन्ततः केटोको आमाले त्यस शिक्षिकालाई भेटिन् र बाइबल अध्ययन सुरु भयो। समयमा शिक्षिकाले बप्तिस्मा लिइन् र पछि नियमित अग्रगामी गरिन्!
४ एक युवक आफ्नो स्कूलको एक साक्षीको असल आनीबानीद्वारा प्रभावित भए। तिनी साँच्चै अरूभन्दा भिन्न थिइन् किनकि तिनी अति नम्र थिइन्, अध्ययनशील थिइन् र जहिले पनि भद्र पोसाक लगाउँथिन्। साथै, तिनी अरू केटीहरूजस्तो केटाहरूसँग जिस्किंदै हिंड्दैनथिन्। उक्त युवकले तिनी बाइबल सिद्धान्तहरूअनुरूप चलेकी देखे। उक्त जवानले साक्षीलाई तिनको धार्मिक विश्वासबारे सोधपूछ गरे अनि उनले जे सिके त्यसबाट उनी प्रभावित भए। उनले अध्ययन गर्न थाले, केही समयपश्चात् बप्तिस्मा लिए र अन्ततः अग्रगामी अनि बेथेल सेवामा लागे।
५ तपाईं जवान मसीही हुनुहुन्छ अनि अरूलाई साक्षी दिन चाहनुहुन्छ भने हरेक कुरामा आफ्नो आनीबानीलाई ध्यान दिनुहोस्। यसलाई संसारको छाडा प्रवृत्ति, विचारधारा वा जीवनशैलीमा मन लगाएर हल्कासित नलिनुहोस्। क्षेत्र सेवकाई वा मण्डलीका सभाहरूमा भाग लिनुहुँदा मात्र होइन, स्कूलमा अनि मनोरञ्जन गर्ने समयमा पनि बोलीवचन, पहिरन र कोरीबाटीमा बिछट्टै राम्रो उदाहरण बसाल्नुहोस्। (१ तिमो. ४:१२) तपाईंले आफ्नो असल आनीबानीद्वारा ‘ज्योति चम्काउनुभएको’ कारण अरूले सच्चाइमा चासो लिंदा तपाईं आनन्दित हुनुहुनेछ।—मत्ती ५:१६.