तपाईंको सेवकाई विस्तार गर्ने तरिकाहरू
१ करिब ४० वर्षभन्दा अघि जनवरी १५, १९५५ अंकको प्रहरीधरहरा-मा “के तपाईंले सकेजति गरिरहनुभएको छ?” शीर्षकको लेख प्रकाशित भएको थियो। उक्त लेखले यहोवाका जनहरूले कसरी सेवकाईमा व्यक्तिगत प्रयास गरेर परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई बढाउनसक्छन् भनी मायालु तरिकामा देखाइएको थियो। हामी आफूले सकेभन्दा अझ राम्रो गर्ने प्रयास गरिरहेकाले यो उत्तम सल्लाह आज पनि उत्तिकै प्रयोग हुन्छ।
२ हाम्रो सम्पूर्ण सेवा यो सबैभन्दा ठूलो आज्ञाद्वारा उत्प्रेरित हुनुपर्छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।” (मर्कू. १२:३०) परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई अझ बढाउन आफूले पाएका सम्पूर्ण मौकाहरूको पूरापूर सदुपयोग गरेर हामी यहोवाप्रतिको हाम्रो सारा प्रेम प्रकट गर्छौं। आफ्नो सेवकाई विस्तार गर्ने निम्न तरिकाहरू विचार गर्नुहोस्।
३ आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्: समर्पित भाइहरूले सेवकाई सेवक अनि त्यसपछि प्राचीनको रूपमा सेवा गर्न अघि बढ्ने प्रयास गर्नसक्छन्। “के तपाईं जिम्मेवारी सम्हाल्न अघि बढनु हुँदैछ?” र “के तपाईंमा सेवा गर्ने योग्यता छ?” जस्ता मे १, १९९१ अंकको प्रहरीधरहरा-मा दिइएका लेखहरूले थुप्रै भाइहरूलाई मण्डलीमा जिम्मेवारीहरू लिन उत्प्रेरित गरेको छ। जिम्मेवारी सम्हाल्न अघि बढ्ने र योग्य हुने सम्बन्धमा सुझाउको निम्ति स्थानीय प्राचीनहरूलाई सोध्नुहोस्।
४ त्यसै गरी अविवाहित प्राचीन तथा सेवकाई सेवकहरूलाई मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिनतर्फ गम्भीरतासाथ सोच्ने आग्रह गरिन्छ। तपाईंले सन् १९८६-१९९५, १९९६ र १९९७ का लागि वाच टावर अनुक्रमणिका-मा (अङ्ग्रेजी) “मिनिस्टेरियल ट्रेनिङ स्कूल” शीर्षकअन्तर्गत दिइएका सामग्रीहरू पढ्नुभएर यस स्कूलबारे थाह पाउन सक्नुहुन्छ। के तपाईंले “प्रभावशाली कामको एउटा ठूलो ढोका . . . खोलिएको” देख्नुभयो? (१ कोरि. १६:९क) यो ढोकाबाट छिर्ने थुप्रै भाइहरूले स्नातक भइसकेपछि आफूले कल्पनै नगरेका तरिकाहरूमा सेवा गर्ने थुप्रै सुअवसरहरू पाए। आज यी भाइहरूले बेथेलमा अथवा विशेष अग्रगामी, मिसनरी वा परिभ्रमण निरीक्षकको रूपमा सेवा गरिरहेका छन्।
५ पूर्ण-समय सेवा गर्न अघि बढ्नुहोस्: हाइस्कूल पास गरिसकेका युवकयुवतीहरू, गृहणीहरू र अवकाश प्राप्त गर्नेहरूले अग्रगामी गर्नेबारे गम्भीरतासाथ सोच्नसक्छन्। जुलाई १९९८ अंकको, हाम्रो राज्य सेवकाई-को परिशिष्ट फेरि पढ्नुहोस् र त्यसपछि तपाईंको परिस्थितिसित मेल खाने अग्रगामीहरूसित कुरा गर्नुहोस्। हुनसक्छ, त्यसपछि तपाईं पनि तिनीहरूले जस्तै अग्रगामी गरेर आफ्नो सेवकाई विस्तार गर्न उत्प्रेरित हुनुहुनेछ। (१ कोरि. ११:१) नियमित अग्रगामीको रूपमा महिनाको ७० घण्टा बुझाएर आफ्नो सेवकाई विस्तार गर्नु के तपाईंलाई सम्भव नहोला र?
६ हाल १७,००० भन्दा धेरै भाइबहिनीहरूले शाखा कार्यालय र बेथेल गृहहरूमा सेवा गरिरहेका छन्। नोभेम्बर १९९५ अंकको, हाम्रो राज्य सेवकाई-ले यस्तो सेवा गर्नका लागि के कस्तो आवश्यकता पूरा गर्नुपर्छ, त्यसबारे छलफल गरेको छ। त्यो परिशिष्ट पढे कसो होला? के थाह, तपाईं पनि बेथेल सेवा जस्तो विशिष्ट विशेषाधिकारको योग्य हुनहुन्छ कि?
७ आवश्यकता बढी भएको ठाउँमा सेवा गर्नुहोस्: के तपाईं दोहऱ्याइ तेहऱ्याइ प्रचार गरिसकिएको वा थुप्रै भाइबहिनीहरू खटाइएको इलाकामा बस्नुहुन्छ? आवश्यकता बढी भएको ठाउँमा सरेर के तपाईंले आफ्नो सेवकाई विस्तार गर्नेबारे सोच्नुभएको थियो? हुनसक्छ नजिकै कुनै गाउँमा थुप्रै कामदारहरू चाहिएको छ। (मत्ती ९:३७, ३८) तर सर्दा एकदम हत्तारिनु भने हुँदैन। सर्नुअघि प्रार्थनापूर्वक सोचविचार गर्नुपर्छ। (लूका १४:२८-३०) प्राचीनहरू तथा क्षेत्रीय निरीक्षकलाई आफ्नो परिस्थिति बताउनुहोस्। उहाँहरूले तपाईं अहिल्यै सरिहाल्नु बुद्धिमानी होला वा भविष्यमा सर्नु बेस होला, त्यसबारे विचारविमर्श गर्नेछन्। कुन ठाउँमा सर्दा बेस होला त्यसबारे सोसाइटीसित सुझाउ माग्न पत्र लेख्ने इच्छा गर्नुहुन्छ भने तपाईंको पत्रसँगसँगै तपाईंको मण्डलीको सेवा समितिले लेखेको पत्र पनि समावेश हुनैपर्छ।
८ आफ्नो सेवाको गुणस्तर बढाउनुहोस्: हामी सबैले क्षेत्र सेवकाईको गुणस्तर बढाएर आफ्नो सेवकाईमा अझ राम्ररी भाग लिनसक्छौं। के तपाईं सेवकाईको सम्पूर्ण पक्ष अर्थात् घर-घरको सेवा, अनौपचारिक सेवालगायत पुनःभेट तथा बाइबल अध्ययनमा भाग लिंदै हुनुहुन्छ? अध्ययन सञ्चालन गर्दै हुनुहुन्छ भने के तपाईं आफ्नो शिक्षण कलालाई अझ तिखार्न सक्नुहुन्छ? समर्पण गर्न र बप्तिस्मा लिन तपाईंको विद्यार्थीलाई कसरी उत्प्रेरित गर्ने, त्यसबारे केही सुझाउहरू चाहिन्छ भने जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्ट फेरि हेर्नु बेस हुन्छ।
९ आफ्नो सेवकाई विस्तार गर्ने र उन्नति गर्ने तरिकाहरूबारे विस्तृत विवरण हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अङ्ग्रेजी) पुस्तकको अध्याय ९ मा पाइन्छ। परमेश्वरको सेवामा बढीभन्दा बढी गर्न अवश्य हामी सबै इच्छुक हुनुपर्छ। आफ्ना आध्यात्मिक लक्ष्यहरूबारे गम्भीरतासाथ सोचे कसो होला? पहिलो तिमोथी ४:१५ मा सल्लाह दिएअनुसार गर्नुहोस्: “यी कुरामा परिश्रम गर। तिनीहरूमा नै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।”