राज्य सेवाको धन बढाउनुहोस्
१ येशूले राज्य आशालाई अमूल्य गाड धनसँग तुलना गर्नुभयो। (मत्ती १३:४४-४६) के हामी येशूका उदाहरणहरूको ती मानिसहरू जस्तै छौं जसले बहुमूल्य वस्तु किन्न आफ्ना सबै धन सम्पत्ति बेचे? यदि छौं भने असुविधा र आत्म-त्याग गर्नुपरे पनि परमेश्वरको राज्यलाई हामी प्राथमिकता दिनेछौं।—मत्ती ६:१९-२२.
२ हाम्रो राज्य सेवा धन भएकोले त्यसलाई बढाउने हाम्रो इच्छा हुनुपर्छ। हाम्रो व्यक्तिगत जीवन-पद्धतिले के देखाउँछ? के हामीले राज्यसम्बन्धी क्रियाकलापलाई बढाइरहेका छौं? घर-घर प्रचार-कार्य, पुनःभेटहरू, बाइबल अध्ययनहरू सञ्चालन गर्नु र अनौपचारिक साक्षी दिनु लगायत सेवकाईका विभिन्न पक्षहरूमा भाग लिएर हामी राज्यसम्बन्धी क्रियाकलापलाई बढाउन सक्छौं।
३ ‘म आफ्नो क्रियाकलापलाई कसरी बढाउन सक्छु?’ क्षेत्र सेवकाईमा अझ धेरै समय बिताउन के गर्न सकिन्छ भनी विचार गर्न नयाँ सेवा वर्षको प्रारम्भमा हरेकले आफ्नो व्यक्तिगत क्रियाकलापको पुनरावलोकन गरेर आफैलाई यी प्रश्नहरू सोध्नु बेस हुनेछ: ‘समय-समयमा वा नियमित रूपमा सहायक अग्रगामीको सेवामा भर्ती हुन के मैले आफ्नो कामकाजमा काँटछाँट गर्नसक्छु? सानातिना काँटछाँट गरी के म नियमित अग्रगामीको सेवामा प्रवेश गर्नसक्छु?’ सेप्टेम्बर १ तारिखसम्ममा भर्ती भइसक्ने नयाँ अग्रगामीहरूले आउँदो अग्रगामी सेवा पाठशालामा भाग लिन योग्य हुनसक्छन्।
४ केही प्रकाशकहरूले अझ धेरै अनौपचारिक साक्षी दिने लक्ष्य बनाएका छन्। यस्तो क्रियाकलापबाट प्रायजसो निकै असल परिणाम निस्कन्छ। शायद अरूले चाहिं प्रभावकारी पुनःभेटहरू गर्न वा नयाँ बाइबल अध्ययनहरू सञ्चालन गर्न उन्नति गर्नुपर्ने आवश्यकता महसुस गर्लान्।
५ तर आफूले गरिरहेको सेवा सीमित भएको निष्कर्षमा पुग्नुभयो भने त्यसलाई बढाउन हामी के गर्न सक्छौं? ठूलो लक्ष्य पूरा गर्न सफल भएकाहरूको के सुझाव छ भने, सर्वप्रथम जे सुकै परिआए तापनि राज्यसम्बन्धी कामकुरालाई पहिलो स्थानमा राख्ने निर्णय लिनुपर्छ। (मत्ती ६:३३) यहोवामाथि विश्वास अनि पूर्ण भरोसा राख्नु आवश्यक छ। (२ कोरि. ४:७) निष्कपट अनि अटल प्रार्थनाद्वारा उहाँको मदत माग्नुहोस्। (लूका ११:८, ९) उहाँको सेवामा अझ धेरै भाग लिन हामीले गरेको साँचो प्रयत्नमाथि उहाँले आशिष् बर्षाउनु हुनेछ भनी हामी ढुक्क हुनसक्छौं।—१ यूह. ५:१४.
६ आफ्नो सेवकाईलाई विस्तार गर्न सफल भएका भाइ-बहिनीहरूसित कुरा गर्नुहोस्। तिनीहरूले कसरी परिआएका बाधाहरूलाई निरुत्साहित नभइकन पार तर्न सके भनी सोध्नुहोस्। विस्तारित सेवकाई प्राप्त गर्नै नसकिने कुरा होइन भनी तपाईंलाई विश्वास दिलाउन शायद तिनीहरूको व्यक्तिगत अनुभवहरू पर्याप्त हुनसक्छ।
७ प्रहरीधरहरा वा हाम्रो राज्य सेवकाई मा क्षेत्र सेवकाईसँग सम्बन्धित लेखहरू पढ्नु हुँदा, प्रस्तुत सुझावहरूलाई कसरी तपाईंको सेवकाईमा लागू गर्न सकिन्छ भनी प्रार्थनापूर्वक विचार गर्नुहोस्। मण्डलीका सभाहरू अथवा सम्मेलनहरू धाउनु हुँदा पनि त्यसै गर्ने गर्नुहोस्। यस लेखमा दिइएका सुझावहरू गत वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रममा छलफल गरिएको भागमा आधारित छन्। त्यस कार्यक्रममा प्रस्तुत गरिएका प्रोत्साहनलाई लागू गर्न तयार पारिएका श्रृङ्खलाबद्ध लेखहरूको यो पहिलो भाग हो।
८ येशूले आफ्नो सेवकाईलाई अति गम्भीरतासाथ लिनुभयो र त्यसलाई मुख्य चासोको विषय पनि बनाउनुभयो। उहाँले यसो भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु . . . मेरो भोजन हो।” (यूह. ४:३४) के हामी पनि त्यस्तै महसुस गर्छौं? यदि गर्छौं भने हाम्रो प्रचार गतिविधिलाई बढाउने र हाम्रो भण्डारबाट अरूसँग ‘असल कुराहरू’ बाँड्ने उपाय खोज्नेछौं।—मत्ती १२:३५; लूका ६:४५.