सन् २००० को लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल
१ यहोवाका जनहरूको लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल ठूलो आशिष् साबित भएको छ। विगत ५० वर्षदेखि यसले लाखौंलाई जन वक्ता र बाइबल सत्यका शिक्षकहरूको हैसियतमा आफ्नो योग्यता विकास गर्न मदत गरेको छ। (भज. १४५:१०-१२; मत्ती २८:१९, २०) यो स्कूलले तपाईंलाई कसरी मदत गरेको छ? यसमा तपाईंले पूर्णतया भाग लिनुभएर दिइएका सुझावहरू लागू गर्नुभएमा सन् २००० भरि पनि यसले तपाईंलाई लाभ पुऱ्याउनेछ।
२ सन् २००० को स्कूल तालिकाको पहिलो पृष्ठमा असाइनमेन्टबारे निर्देशन र चलाइने प्रकाशनहरू सूचीबद्ध गरिएको छ। हरेक भागको लागि छुट्ट्याइएको समय, विषयवस्तु, त्यसलाई कसरी प्रस्तुत गर्ने र अन्य जानकारीहरू पनि दिइएको छ। कृपया, ध्यान दिएर निर्देशन पढ्न समय निकाल्नुहोस् र त्यसलाई लागू गर्नुहोस्।
३ साप्ताहिक बाइबल पढाइ: स्कूल तालिकामा साप्ताहिक बाइबल पढाइको लागि दुइटा छुट्टा छुट्टै कार्यक्रम छन्। एउटाचाहिं सधैंजसो पढिने कार्यक्रम हो, जसअनुसार बाइबलको पाँच पाना जति पढिन्छ। बाइबलका विशेषताहरू यसैमा आधारित हुन्छन्। अर्कोचाहिं बाइबल पढाइको थप कार्यक्रम हो जसअनुसार अघिल्लो तालिकाभन्दा दोबर पढिन्छ। यस कार्यक्रमअनुरूप तीन वर्षमा सम्पूर्ण बाइबल पढाइ पूरा गर्न सकिन्छ। कसैकसैले थप कार्यक्रमको तालिकामा दिइएकोभन्दा बढी पढ्न रुचाउलान् अनि कसैले त्यसो गर्न नसक्लान्। आफूलाई अरूसित तुलना गर्नुको सट्टा तपाईंले जति गर्न सक्नुहुन्छ, त्यसैमा आनन्दित हुनुहोस्। (गला. ६:४) मुख्य कुरा, परमेश्वरको वचन दिनहुँ पढ्नु हो।—भज. १:१-३.
४ ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिन तपाईंले स्कूल निरीक्षकसित कुरा गर्नुपर्छ। कृपया आफ्नो असाइनमेन्टलाई गम्भीरतापूर्वक लिनुहोस् र बिना कारण रद्द नगर्नुहोस्। स्कूलको प्रबन्ध गर्ने यहोवा नै हुनुहुन्छ भन्ने बुझेर त्यसको मूल्यांकन गर्नुहोस्। यस अनुपम स्कूलबाट पूर्ण लाभ उठाउन राम्रो तयारी गर्नुहोस्, अह्राइएको विषयवस्तुसित राम्ररी परिचित हुनुहोस् र भित्री हृदयबाट व्यक्त गर्नुहोस्।