“सबै कुरा सुधारको निम्ति गरिओस्”
१ भाइबहिनीहरूसित व्यवहार गर्दा हामीले प्रोत्साहन हुने काम गर्नुपर्छ। यसको अर्थ, हामीले तिनीहरूको आध्यात्मिक हितलाई ध्यानमा राख्नु हो। हामीले कुनै उत्पादन वा सेवा विज्ञापन गर्ने काम गर्दा उक्त काम हाम्रा भाइहरूका निम्ति ठोकरको कारण नहोस् भनी होसियार हुनुपर्छ।—२ कोरि. ६:३; फिलि. १:९, १०.
२ सँगी मसीहीहरूलाई आफ्नो सम्भावित उपभोक्ताको रूपमा हेरेर कसैकसैले विभिन्न किसिमका व्यापार गरेका छन्। कुनै कुनै व्यापारिक संगठनहरूले आफ्ना प्रतिनिधिहरूलाई आफ्नै धार्मिक समूहका मानिसहरूलाई आफ्नो सम्भाव्य ग्राहकको रूपमा विचार गर्न प्रोत्साहित गर्छन्। केही भाइहरूले साक्षीहरूलाई आफ्नो व्यापारमा सामेल गराउन ठूलो जमघटहरूको आयोजना गरेका छन्। अरूले चाहिं सँगी मसीहीहरूले माग्दै नमागे तापनि आफ्नो व्यापारबारे लेख, पुस्तिका, इन्टरनेटमा दिइने जानकारी वा क्यासेट तथा भिडियो चक्काहरू दिएर व्यापार प्रवर्धन गर्ने कोसिस गरेका छन्। कुनै मसीहीले आफ्नो ईश्वरतान्त्रिक सम्पर्कको प्रयोग गर्दै आफ्नो आध्यात्मिक भाइबाट फाइदा उठाउनु के उचित होला र? अहँ, पटक्कै हुँदैन!—१ कोरि. १०:२३, २४, ३१-३३.
३ भाइहरू होसियार हुनुपर्छ: यसको मतलब मसीही भाइहरूसित व्यापार गर्नै हुँदैन भनेको चाहिं होइन। त्यो व्यक्तिगत मामिला हो। तथापि, भर्खरै सञ्चालन गरिएका व्यापारिक योजनाहरूले लोभी हुन प्रोत्साहित गर्छ र त्यस्ता योजनाहरूले सँगी विश्वासीहरूलाई साझेदार हुन अथवा ती व्यापारिक योजनाहरूमा लगानी गर्न उस्काउँछ। यस्ता थुप्रै व्यापार साझेदारहरूको प्रशस्त पैसासँगसँगै डुब्छन्। तुरुन्तै धेरै नाफा कमाउने इच्छाले गर्दा यस्तो लगानी गरिएको भए तापनि उक्त योजना डुब्दा, आयोजकले आफ्नो केही दोष छैन भनी महसुस गर्नु हुँदैन। तिनले पहिले नै त्यो योजना सफल भएन भने त्यसले आफ्ना भाइहरूलाई आध्यात्मिक तथा शारीरिक तवरमा कस्तो प्रभाव पार्नेछ, त्यो होसियारीसाथ विचार गर्नुपर्छ। अझ विशेष गरी ईश्वरतान्त्रिक जिम्मेवारी पाएका भाइहरूले यस्तो सांसारिक योजनाहरू बनाउँदा सजग हुनुपर्छ किनभने अरूले तिनीहरूलाई आदर गर्नुका साथै तिनीहरूमाथि धेरै भरोसा गरेका हुन्छन्। त्यस भरोसाको दुरुपयोग गर्नु गलत हुनेछ। कुनै भाइले अरूप्रतिको आदर गुमाउँदा तिनले पवित्र सेवामा पाएको सुअवसर तिनीबाट खोसिनसक्छ।
४ हाम्रो लक्ष्य ‘सबै कुरा सुधारको निम्ति गर्ने’ हुनुपर्छ। (१ कोरि. १४:२६) हामीले मण्डलीमा व्यापारिक गतिविधि प्रस्तुत गर्ने वा विज्ञापन गर्ने कुनै पनि काम त्याग्नैपर्छ। हामी एक ठाउँमा भेला हुने धर्मशास्त्रीय कारणसित त्यसको केही सरोकार छैन।—हिब्रू १०:२४, २५.