“के म बसाइँ सरूँ?”
१ “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने येशूको आज्ञा पालन गर्दै यहोवाका थुप्रै समर्पित सेवकहरू आवश्यकता बढी भएका ठाउँहरूमा सेवा गर्न बसाइँसरेका छन्। (मत्ती २८:१९) तिनीहरूले पावलको अनुकरण गर्दैछन् जसले “म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्” भन्ने बोलावटलाई स्वीकारेका थिए। (प्रेरि. १६:९) व्यावहारिक ढंगमा यो कसरी गर्न सकिन्छ?
२ एक एक गर्दै कदम चाल्नुहोस्: कतै तपाईंकै मण्डलीको इलाकामा प्रचार नगरिएका कुनै क्षेत्र बाँकी छन् कि? छन् भने, ती क्षेत्रहरूमै तपाईंले आफ्नो ध्यानकेन्द्रित गर्न सक्नुहुन्छ। अरू कतै सर्ने निर्णय गर्नुअघि आफू बसाइँ सर्न ठीक छ वा छैन भनी थाह लगाउन मण्डलीका प्राचीनहरूसित सल्लाह गर्नुहोस्। नजिकैको मण्डलीमा तपाईंले प्रचार गर्नसक्ने कुनै क्षेत्र छन् कि भनेर क्षेत्रीय निरीक्षकसित पनि सोध्न सक्नुहुन्छ। अर्कोतिर, लाग्ने खर्च राम्ररी हिसाब गरिसकेपछि मात्र देशका अन्य भागमा मदत गर्न बसाइँ सर्ने नसर्ने विचार गर्न चाहनुहुनेछ होला। तपाईंको अर्को ठाउँमा सर्ने नै इच्छा भए तपाईं र प्राचीनहरूको समूह मिलेर शाखा कार्यालयमा कुन ठाउँमा सेवा गर्न इच्छुक हुनुहुन्छ त्यसबारे तपाईंको ईश्वरतान्त्रिक पृष्ठभूमिबारे उल्लेख गर्दै चिठी लेख्नुपर्छ। त्यस ठाउँमा स्थायी रूपमा बसोबास गर्ने हो या होइन निर्णय गर्नुअघि त्यहाँ एक चोटि जानु बुद्धिमानी हुनेछ।
३ विदेश जानुअघि राम्ररी विचार गर्नुहस्: हाम्रा थुप्रै भाइहरू राम्रो जीवनस्तरको खोजीमा अथवा दमनबाट मुक्ति पाउन विदेशमा बसाइँ सरेका छन्। यसै प्रक्रियामा कोही कोही नयाँ भूमिमा बसोबासको व्यवस्था मिलाइदिने प्रतिज्ञा गरी पैसा लिएर भाग्ने ठगहरूको सिकार समेत भएका छन्। कसै कसैले त बसाइँ सर्नेहरूलाई जबरजस्ती अनैतिक काममा लगाउँछन्। त्यसो गर्न मानेनन् भने तिनीहरूलाई त्यसै देशको हातमा छोडिदिन्छन्। त्यसैकारण, यी बसाइँ सर्नेहरूको अवस्था आफ्नो देशमा भन्दा पनि झनै नाजुक हुन्छ। यस्तो अवस्थामा तिनीहरूले अन्य मसीही परिवारहरूसित बास र सहयोग माग्न आवश्यक पर्नसक्छ तर ती भाइहरू पनि आफ्नै समस्या तथा कठिनाइहरूसित जुझिरहेका हुनाले थप बोझ बन्नसक्छन्। कुनै कुनै परिवारका सदस्यहरूलाई एक अर्काबाट छुट्याइएको छ र यसरी राम्ररी विचारै नगरी बसाइँ सरेका कारण परिवारहरू आध्यात्मिक तवरमा कमजोर हुन पुगेका छन्।—१ तिमो. ६:८-११.
४ तपाईं व्यक्तिगत लाभ पाउने आशाले बसाइँ सर्दै हुनुहुन्छ भने जहाँ जानु भए तापनि समस्याको सामना गर्नुपर्नेछ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। नौलो ठाउँमा नयाँ जीवन सुरु गर्नुभन्दा आफूले जानेको भाषा र संस्कृतिबीच आइपर्ने समस्याहरूको सामना गर्नै सजिलो हुन्छ।