वचन पालन गर्ने आनन्दित व्यक्ति हुनुहोस्
१ आफ्नो आगमनको दौडान अधिकांश मानिसहरूले नूहको दिनमा जस्तै ‘ध्यान दिने छैनन्’ भनी येशूले भन्नुभयो। (मत्ती २४:३७-३९) तसर्थ, धेरैले राज्यको सुसमाचार सुन्ने छैनन् भनेर आशा गर्नु स्वाभाविकै हो। सेवाको काम गर्दा आनन्दित मनोभाव कायम राख्न हामीलाई केले मदत दिनसक्छ?—भज. १००:२.
२ सर्वप्रथम त हामीले सुनाउने सन्देश तथा हामीलाई सुसमाचार प्रचार गर्ने जिम्मेवारी स्वयम् परमेश्वरले दिनुभएको हो भनी मनमा राख्नु आवश्यक छ। कठिन प्रयासको बावजूद कसैले हाम्रो सन्देशमा चासो देखाउँदैन भने, त्यस्ता व्यक्तिहरूले हामीलाई नभई यहोवालाई नै इन्कार गरिरहेका हुन्छन्। प्रचारकार्यमा हामीले देखाएको वफादारीता यहोवाले स्वीकार्नुहुन्छ भनी सम्झ्यौं भने त्यसले हामीलाई परमेश्वरको सेवकको हैसियतमा आनन्द तथा भित्री प्रशन्नता कायम राख्न मदत गर्नेछ।—याकू. १:२५
३ दोस्रो, यहोवाबाट पाउने मुक्तिलाई स्वीकार्नेहरू अझै पनि छन्। अधिकांश व्यक्तिहरूले बेवास्ता गरे तापनि अहिले अन्तको पनि अन्तको समयमा भेडाखाले मानिसहरूलाई जम्मा गर्ने काम अझै बाँकी नै छ। ‘चाहे शहर होस् या गाउँ’ “ ‘को योग्य छ’ भनी” खोज्दै हामीले प्रचार गरिरहनु आवश्यक छ।—मत्ती १०:११-१३.
४ सकारात्मक मनोवृत्ति राख्नुहोस्: झूठो धर्मको दुःखलाग्दो इतिहास देखेर कोही कोही दिक्क भएका छन्। कोहीचाहिं यस रीतिरिवाजले गर्दा “हैरान भई तितर-बितर” भइरहेका छन्। (मत्ती ९:३६) अधिकांश मानिसहरू रोजगार, स्वास्थ्य सेवा तथा सुरक्षाको अभावले गर्दा विचलित भएका होलान्। यी कुराहरूलाई राम्ररी बुझेको खण्डमा हामीलाई हाम्रो सेवाको काममा लागिरहन मदत मिल्नेछ। आफ्नो इलाकामा रहेका मानिसहरूको सर्वोपरि चासोको विषयबाट कुराकानी थाल्ने प्रयास गर्नुहोस्। परमेश्वरको राज्य नै एक मात्र समाधान हो भनी बुझ्न तिनीहरूलाई मदत गर्नुहोस्। तिनीहरूको हृदयसम्म सुसमाचार पुऱ्याउन शास्त्रपद तथा प्रकाशनहरूमा दिइएका मुख्य बुँदाहरू प्रयोग गर्नुहोस्।—हिब्रू ४:१२.
५ परमेश्वरका आनन्दित वचन पालकहरूले यस तथ्यलाई कहिल्यै बिर्संदैनन्: “परमप्रभुको आनन्दनै [हाम्रो] बल हो।” (नहे. ८:१०) आनन्द गुमाउनुपर्ने कुनै कारण छैन। “त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यसमाथि रहोस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्।” (मत्ती १०:१३) उहाँको पवित्र सेवामा धीरजी भई लाग्दा यहोवाले हाम्रो आनन्द पुनर्जीवित गर्नुहुनेछ अनि बल प्रदान गर्नुहुनेछ र हाम्रो निष्ठाको लागि आशिष् दिनुहुनेछ।