पहिल्यै योजना बनाउने–तर कुन कुराको लागि?
१ हामी सबै आफ्ना भावी योजनाबारे सोच्ने गर्छौं। पार्थिव आशा हुने व्यक्तिहरू परमेश्वरको धार्मिक नयाँ संसारमा सधैंभरि बाँच्ने आशा राख्छन्। तर हाम्रो यस उत्कट आशा खोस्न सक्ने धेरै प्रभावहरू छन्। राज्यसम्बन्धी गतिविधिहरूमा आफ्नो जीवन केन्द्रित गर्न र शरीरको अभिलाषाहरूबाट भाग्न लगनशील प्रयासको आवश्यकता पर्छ।—१ यूह. २:१५-१७.
२ आध्यात्मिक मूल्य तथा मान्यतालाई महत्त्व दिने व्यक्तिहरूको लक्ष्यलाई संसारले बुझ्न सक्दैन। (१ कोरि. २:१४) अरू मानिसहरू नाम, दाम वा शक्तिको लागि संघर्ष गरिरहेका बेला हामी भने आध्यात्मिक धन प्राप्त गर्न प्रयत्न गर्छौं। (मत्ती ६:१९-२१) यदि हामीले भविष्यबारे संसारले राख्ने दृष्टिकोणअनुरूप हाम्रो सोचाइ छाँटकाँट गर्ने प्रयास गऱ्यौं भने के हामीले कहिल्यै आफ्नो आध्यात्मिक लक्ष्य प्राप्त गर्नसक्छौं र? संसारिक कुराहरूले छिट्टै हाम्रो मनलाई भर्माउन सक्छ। हामी कसरी यसबाट बच्न सक्छौं?
३ “येशू ख्रीष्टलाई धारण गर”: हामीले आफ्नो भविष्य राज्यसम्बन्धी गतिविधिमा केन्द्रित गरिरहेका छौं वा छैनौं भनी निर्धारण गर्ने एउटा तरिका हाम्रो कुराकानीलाई विचार गर्नु हो। के हामी सधैं भौतिक सरसम्पत्ति र संसारिक अभिलाषाहरूबारे कुरा गरिरहन्छौं? यदि यसो गरिरहेका छौं भने हाम्रो हृदय आध्यात्मिक मूल्य तथा मान्यतामा केन्द्रित छ कि छैन, विचार गर्नैपर्छ। हामीले ‘शरीरको अभिलाषा पूरा गर्न अघिबाटै तयारी गर्नुको सट्टा येशू ख्रीष्टलाई धारण गर्ने’ कुरालाई बढी ध्यान दिनु आवश्यक हुनसक्छ।—रोमी १३:१४.
४ किशोरकिशोरीहरूले पूर्ण-समय सेवक हुन अघिबाटै तयारी गरेर “ख्रीष्टलाई धारण” गर्न सक्छन्। उदाहरणका लागि, नियमित अग्रगामी हुन चाहने एक युवकलाई लिनुहोस्। तिनी, युवकहरू आफ्नै खुट्टामा उभिएको देख्न चाहने समाजमा हुर्केका थिए। त्यसैले गर्दा तिनी व्यापारमा यति व्यस्त भए कि सभा तथा प्रचारकार्यमा झारा टार्नको लागि मात्र जाने गर्थे। पछि तिनले मत्ती ६:३३ मा येशूले भन्नुभएका शब्दहरूमा भरोसा गर्न थाले र लाक्षणिक ट्रेडमिलबाट बाहिर निस्के र तिनले पूर्ण-समय सेवा सुरु गरे। अहिले तिनी असल अन्तस्करण सहित र तिनको आफ्नै शब्दअनुसार “पूर्ण क्षमताले” यहोवाको सेवा गर्दैछन्।
५ बाइबलले भनेअनुसार भविष्यको लागि योजना बनाउनु असल हो। (हितो. २१:५) हामी सबै यहोवाको इच्छालाई सर्वप्रथम स्थानमा राख्दै भविष्यको लागि योजना बनाऔं।—एफि. ५:१५-१७.