सरल अनि स्पष्ट प्रस्तुती नै सबैभन्दा प्रभावकारी हुन्छ
१ प्रायः कम उमेरका प्रकाशकहरूले सुनाएको सुसमाचारप्रति मानिसहरूले किन ध्यान दिन्छन्? यसो हुनुको एउटा कारण तिनीहरूको प्रस्तुती सरल हुन्छ। केही प्रकाशकहरूले प्रभावशाली साक्षी दिन बोल्न एकदमै सिपालु हुनुपर्छ भनेर सोच्न सक्छन्। तथापि, अनुभवले देखाएअनुसार सरल अनि स्पष्ट प्रस्तुती नै उत्तम हुन्छ।
२ येशूले परमेश्वरको राज्यबारे सरल अनि स्पष्ट ढंगमा घोषणा गर्नुभयो र आफ्ना चेलाहरूलाई पनि त्यसै गर्न सिकाउनुभयो। (मत्ती ४:१७; १०:५-७; लूका १०:१, ९) आफ्ना श्रोताहरूको ध्यान आकर्षित गर्न र तिनीहरूको मन छुन उहाँले सरल प्रस्तुती, सरल प्रश्न अनि सरल उदाहरण चलाउनुभयो। (यूह. ४:७-१४) हामीले उहाँको उदाहरण अनुकरण गर्नुपर्छ र सजिलै बुझ्न सकिने प्रस्तुती चलाउनुपर्छ।
३ हामीले सुनाउनु पर्ने सन्देश “राज्यको . . . सुसमाचार” हो। (मत्ती २४:१४) प्रस्तुतीमा राज्यलाई मूल विषय बनाउँदा तपाईंले आफ्नो प्रस्तुती सरल बनाउन मदत पाउनुहुनेछ। तपाईंको श्रोतालाई चासो लाग्ने विषयबारे कुरा गर्नुहोस्। महिलाहरू राजनैतिक विषयमा भन्दा आफ्नो परिवारप्रति बढी चासो राख्छन्। एउटा पिताको लागि अत्यन्तै चासोको विषय भनेको उसको जागिर र उसको परिवारको सुरक्षा हुन्छ। जवानहरू आफ्नो भविष्यबारे र वृद्धहरू आफ्नो स्वास्थ्य र सुरक्षाबारे चासो राख्छन्। मानिसहरूले प्रायः टाढा मुलुकका घटनाभन्दा स्थानीय घटनामा चासो देखाउँछन्। पारस्परिक चासोको विषयमा कुरा गरिसकेपछि परमेश्वरको राज्यमा मानिसजातिले पाउने आशिष्हरूतर्फ ध्यान आकर्षित गर्नुहोस्। धर्मशास्त्रसँग मिल्ने केही सरल अनि राम्ररी छानिएका शब्दहरू तपाईंको श्रोताको चासो जगाउने सर्वोत्तम माध्यम हुनसक्छन्।
४ तपाईं यसरी कुराकानी सुरु गर्न सक्नुहुन्छ:
◼ “उपचारै हुन नसक्ने तीन थुप्रो रोगहरूले मानिसजातिलाई सताइरहेका छन् भन्ने कुरा त तपाईं पनि मानिलिनुहुन्छ होला। तर सबै प्रकारका बिमारी र मृत्युलाई समेत हटाउँछु भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा के तपाईंलाई थाह छ?” जवाफको लागि पर्खनुहोस्। त्यसपछि प्रकाश २१:३, ४ पढ्नुहोस्।
५ स्पष्ट अनि सरल प्रस्तुती चलाएर आफ्नो क्षेत्रका धेरैभन्दा धेरै मानिसहरूको मन र हृदय छुनुहोस्। अनि तिनीहरूलाई यहोवाबारे सिक्न र अनन्त जीवनको आशाको आनन्द उठाउन मदत दिनुहोस्।—यूह. १७:३.