राम्ररी तयारी गरेर—चासो देखाऔं
१ प्रचार गर्न राम्ररी तयारी गर्दा अरूप्रति गहिरो चासो झल्किन्छ। कसरी? राम्ररी तयारी गर्दा आफ्नो कुरा मात्र अघि सार्ने धुन सवार हुँदैन, बरु घरपतिको कुरालाई महत्त्व दिएर ध्यानसित सुन्न सक्छौं। साथै, के भनौं र कसो गरौं भएर अनुहार रातो पार्नु पनि पर्दैन। शब्दहरू पनि हृदयका गहिराइबाट निक्लिरहेका हुन्छन्। तर प्रभावशाली प्रस्तुति तयार पार्ने पो कसरी?
२ सुहाउँदो प्रस्तुति: जनवरी २००६ अंकको हाम्रो राज्य सेवकाई-मा दिइएका प्रस्तुतिहरूबाट एउटा छानेर आफ्नै शब्दमा भन्ने अभ्यास गर्नुहोस्। प्रस्तुतिलाई इलाका सुहाउँदो बनाउनुहोस्। उदाहरणका लागि, कुनै धार्मिक सम्प्रदाय वा जातीय पृष्ठभूमिका मानिसहरू बरोबर भेटिरहनुहुन्छ भने उनीहरूलाई रोचक लाग्नेगरि कसरी कुरा गर्न सकिन्छ, घोरिएर सोच्नुहोस्। प्रस्तुति मानिसहरूलाई मनपर्ने खालको बनाउँदा पनि हामीले उनीहरूप्रति मायालु चासो देखाइरहेका हुन्छौं।—१ कोरि. ९:२२.
३ प्रस्तुतिलाई सुधार गरिरहनुहोस्। एक पल्ट सुधाऱ्यो अनि ढुक्कसँग बस्यो, त्यसो नगर्नुहोस्। सुरुको प्रस्तुति महत्त्वपूर्ण हुने भएकोले, मानिसहरूको प्रतिक्रिया याद गर्नुहोस्। के उनीहरूलाई विषय मन परिरहेको छ? सोधेको प्रश्नले उनीहरूमा चासो जगाइरहेको छ? यी प्रश्नहरूको सकारात्मक जवाफ जबसम्म हामी दिन सक्दैनौं अर्थात् घरधनीलाई प्रस्तुति रोचक नलागेसम्म प्रस्तुति काँटछाँट नगरी सुखै छैन।
४ प्रस्तुति नबिर्सन के गर्ने? धेरै जनालाई ढोकामा पुग्नासाथ तयारी गरेको प्रस्तुति बिर्सेर के भनौं, कसो गरौं हुन्छ। तपाईंलाई पनि त्यस्तै हुन्छ? हुन्छ भने, साथीसित बोलेरै प्रस्तुति अभ्यास गरे कसो होला? यसो गर्दा, भन्नुपर्ने कुरा मनमा ठप्प बस्छ र प्रस्तुतिलाई सरल ढंगमा भन्न खप्पिस पनि होइन्छ। त्यति मात्र कहाँ हो र, यस्तो अभ्यासले घरपतिका विभिन्न प्रतिक्रियाहरूको चित्तबुझ्दो जवाफ दिन पनि सक्षम बनाउँछ।
५ प्रस्तुति सम्झने अर्को तरिका हो, प्रस्तुतिलाई नोटबुकमा लेख्ने र ढोका ढकढकाउनअघि सर्सर्ती हेर्ने। थुप्रैलाई यो तरिका निकै मदतकारी लागेको छ किनभने तिनीहरूले निर्धक्क भई राम्ररी कुरा गर्न सकेका छन्। अतः राम्ररी तयारी गर्दा हामीले अरूप्रति चासो त देखाइरहेका हुन्छौं नै, साथै सुसमाचार सुनाउने हाम्रो कलामा निखार पनि आउँदै जान्छ।