प्रश्न पेटी
▪ क्षेत्र सेवाको लागि आयोजना गरिने सभामा के-कस्ता जानकारीहरू प्रस्तुत गर्नुपर्छ?
क्षेत्र सेवाको लागि आयोजना गरिने सभाको मुख्य उद्देश्य सेवकाईसित सम्बन्धित गतिविधिहरूमा हाम्रो ध्यानकेन्द्रित गर्न मदत गर्नु हो। त्यसकारण, सञ्चालकले राम्ररी तयार गरेको हुनुपर्छ र प्रोत्साहनजनक, खास-खास अनि व्यावहारिक विषयवस्तुहरू प्रस्तुत गर्न तयार हुनुपर्छ। यदि दैनिक पद ठ्याक्कै प्रचार गतिविधिसित सम्बन्धित छ भने मात्र यसलाई छोटकरीमा पढ्न र चर्चा गर्न सकिन्छ। यद्यपि, सभा मुख्यतः सेवकाईमा लक्षित हुनुपर्छ। यस सभाले सेवकाईको काम पूरा गर्न त्यस दिन साक्षी कार्यमा जाने सबैलाई अझ राम्ररी तयार हुन मदत गरेको हुनुपर्छ।—२ तिमो. ४:५.
तत्कालीन प्रस्तुति अनि त्यसलाई प्रस्तुत गर्ने तरिकाबारे सबैलाई सुचित गर्न हाम्रो राज्य सेवकाई-बाट प्रयोगमा ल्याउन सकिने बुँदाहरू छलफल गर्न सकिन्छ। “पत्रिका वितरण” दिनमा “पत्रिकाहरूबारे के भन्ने?” बाट प्रस्तुति प्रदर्शन गरेर देखाउन सकिन्छ। अरू बेला रीजनिङ पुस्तकमा भएको स्थानीय इलाकामा सुहाउँदा एक दुइटा परिचयहरूबारे चर्चा गर्न सकिन्छ। सेवकाईका विभिन्न पक्षहरू छलफल वा प्रदर्शन गर्न सकिन्छ। जस्तै, ढोका-ढोकाको प्रचारमा बाइबल कसरी प्रयोग गर्ने, सम्भाव्य वार्तालाप बाधकहरूसित कसरी कुरा गर्ने, बाइबल अध्ययनको प्रस्ताव कसरी राख्ने वा चासो देखाउनेहरूकहाँ फेरि कसरी भेट्न जाने इत्यादि।
सेवाको लागि आयोजना गरिने सभा १० देखि १५ मिनेटभन्दा बढी हुनु हुँदैन। यो समयभित्र समूहलाई संगठित गर्ने, इलाका जिम्मा दिने र प्रार्थना गर्ने काम पनि समावेश छन्। सभा बिर्सजन गर्दा उपस्थित सबैलाई आफू कोसँग र कहाँ प्रचारमा जाँदैछु भन्ने थाह भएको हुनुपर्छ। साक्षी दिन जाने प्रत्येक प्रकाशकलाई, तिनीहरूलाई काम गर्न खटाइएको इलाका टेरिटोरी म्याप कार्ड (S-12) मा स्पष्ट देखाएको हुनुपर्छ। यसो गर्दा तिनीहरू आफूलाई खटाइएको इलाकामा तुरुन्तै जान सक्नेछन्। साथै, यसो गर्दा पूरै समूह प्रचार गर्ने इलाकासम्म जानु र त्यहाँ पुगेर सबैले देख्ने गरी इलाका जिम्मा दिइरहनु आवश्यक पर्नेछैन। सभा छोटो हुने भएकोले सबैजना समयमै आइपुग्नु आवश्यक छ। मण्डलीको सभा, जस्तै, प्रहरीधरहरा अध्ययन पश्चात् सेवाको लागि सभा आयोजना गर्दा उक्त सभा छोटो हुनुपर्छ। धर्मशास्त्रीय छलफल भइसकेको हुनाले दैनिक पद पढिरहनु आवश्यक छैन।
सेवाको लागि आयोजना गरिने सभा सञ्चालनको लागि योग्य बप्तिस्मा प्राप्त भाइलाई पहिले नै खटाइसकेको हुनुपर्छ। यदि कुनै दिन नेतृत्त्व लिने कोही नभएको खण्डमा प्राचीनले आवश्यकताअनुसार नेत्तृत्व लिन सक्ने बहिनीलाई नियुक्त गर्नुपर्छ। उक्त बहिनीले बसेर नै आफ्नो छोटो टिप्पणीबाट दैनिक पद वा क्षेत्र सेवासम्बन्धी अन्य बुँदाहरूमा छलफल सुरु गर्न सक्छिन्। तिनले शिर ढाकेको हुनुपर्छ।
क्षेत्र सेवाको लागि आयोजना गरिने सभाहरू हामीलाई सेवकाईमा भाग लिन प्रोत्साहित गर्ने अनि दक्ष बनाउने उत्कृष्ट अवसरहरू हुन्। सञ्चालकले जति राम्रो तयारी गऱ्यो, उतिनै सबैले त्यसबाट फाइदा उठाउनेछन्।