युनाइटेड बाई डिभाइन टिचिङ —वास्तविक भ्रातृ एकताको समीक्षा
एक जना क्षेत्रीय निरीक्षक हालसम्म मण्डलीका सभाहरूमा उपस्थित नभएकी एक जना महिलाको अध्ययनमा उपस्थित भए। उनले तिनलाई युनाइटेड बाई डिभाइन टिचिङ नामक भिडियो हेर्न आमन्त्रित गरे। त्यस हप्ता तिनी सभामा उपस्थित भइन् र आफूलाई निकै खुसी लागेको कुरा बताइन्। यस भिडियोले किन यस्तो छिटो फल हासिल गऱ्यो? किनकि हिंसा, घृणाको संसारबीच पनि हाम्रो मूल्यवान् भ्रातृत्व देखेर तिनी प्रभावित भइन्।—यूह. १३:३५.
सारा पृथ्वीमा यहोवाका साक्षीहरूबीचको शान्ति र प्रेमलाई हेर्न अनि अनुभव गर्न यो भिडियो हेर्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूमा मनन गर्नुहोस्:
(१) “ईश्वरीय शिक्षा” १९९३-९४ अधिवेशनको लागि किन सुहाउँदो विषय थियो?—मीका ४:२.
(२) केही परिवारहरूको लागि बाइबल सच्चाइले कस्तो अर्थ राखेको छ? तपाईंको लागि नि?
(३) यहोवाद्वारा सिकाइनु किन महत्त्वपूर्ण छ?—भज. १४३:१०.
(४) ठूलठूला अन्तरराष्ट्रिय सम्मेलनहरूको लागि तयारी गर्न के-कस्ता कठिनाइहरू पार गर्नैपर्छ?
(५) आफू उपस्थित भएको मसीही अधिवेशहरूमा भजन १३३:१ र मत्ती ५:३ कसरी सत्य साबित भएको तपाईंले देख्नुभएको छ?
(६) ईश्वरीय शिक्षाको शक्तिशाली असरबारे मानिसहरूले दिएको प्रमाण के हो?—प्रका. ७:९.
(७) अहिलेसम्म साँचो मसीहीहरूले लिएको बप्तिस्मामा सबैभन्दा ठूलो समूहले लिएको बप्तिस्मा कुन थियो?
(८) मीका, पत्रुस र येशूले व्यक्त गरेका कुन शब्दहरू यहोवाका साक्षीहरूबीच पूरा भइरहेका छन्?
(९) आनन्दित, एकताबद्ध मानव परिवार केवल सपना मात्र होइन भन्ने कुराको तपाईंले के प्रमाण पाउनुभयो?
(१०) तपाईं यो भिडियो क-कसलाई देखाउँदै हुनुहुन्छ र किन?
यो भिडियो हेरिसकेपछि एक मसीही बहिनीले यसो भन्दै यसको साह्रै मूल्यांकन गरिन्, “संसारभरि थुप्रै मसीही भाइबहिनीहरूले अहिले वफादारी हुँदै यहोवाको सेवा गर्दैछन् भन्ने कुरा मनमा राख्न मलाई यो भिडियोले धेरै मदत गर्नेछ। . . . हाम्रो भ्रातृ एकता साँच्चै कत्ति अनमोल छ!”—एफि. ४:३.