यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित
यहोवाका साक्षीहरू १०० वर्षभन्दा अघिदेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न व्यवस्थित छन्। यो सुसमाचार २३० भन्दा धेरै मुलुकमा अनि सयौं भाषामा प्रचार गरिएको छ। (मत्ती २४:१४) यो जत्तिको व्यापक प्रचारकार्य संसारमा कहिल्यै भएको छैन। यो काम किन महत्त्वपूर्ण छ? यो कसरी विश्वव्यापी रूपमा गरिंदै छ? यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित (अङ्ग्रेजी) भन्ने भिडियोले यसको जवाफ दिन्छ। यस भिडियोमा हाम्रो विश्वव्यापी कार्यबारे विस्तृत रूपमा बताइएको छ। यो भिडियो हेरिसकेपछि तल दिइएका प्रश्नहरू विचार गर्नुहोस्।
यस भिडियोले निम्न कुराहरूप्रति अझ कृतज्ञ हुन तपाईंलाई कसरी मदत गरेको छ? (१) सुसमाचार प्रचार गर्न यहोवाको सङ्गठनले गरेको मेहनत। (२ तिमो. ४:२) (२) विश्वव्यापी बेथेल परिवार। (३) मिसनरी तथा निरीक्षकहरूका लागि प्रबन्ध गरिएको प्रशिक्षण कार्यक्रम। (२ तिमो. २:२) (४) प्रत्येक दिन दैनिक पद पढेर दिनको सुरुवात गर्नु र प्रत्येक हप्ता मण्डलीमा हुने सभाको तयारी गर्नुको महत्त्व। (प्रेषि. १७:११) (५) ख्रीष्टियन सभाहरूमा उपस्थित हुँदा पाइने लाभहरू। (हिब्रू १०:२४, २५) (६) पृथ्वीमा प्रमोदवन पुनर्स्थापना भएपछि तपाईंले पाउन सक्ने आशिष्हरू। (यशै. ११:९) (७) अहिले भइरहेको कटनीकार्यमा भाग लिन तपाईंले पाउनुभएको सुअवसर।—यूह. ४:३५.
इच्छुक व्यक्तिहरूलाई यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यसँग परिचित गराउन यो भिडियो एकदमै उपयोगी साबित भएको छ। (८) हाम्रा बाइबल विद्यार्थी, आफन्त र अरूहरूलाई यो भिडियो कहिले देखाउनु बेस हुन्छ? (९) यो भिडियो अरूलाई देखाउँदा कस्ता राम्रा प्रतिक्रियाहरू पाउनुभएको छ?
यहोवाले गर्नुभएका कामहरूमा मनन गर्दा हामी पनि भजनरचयिताले जस्तै यसो भन्न उत्प्रेरित हुनेछौं: “हे परमप्रभु मेरा परमेश्वर, तपाईंले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईंले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईंको अगि कसैले वर्णन गर्न सक्दैन।” (भज. ४०:५, NRV) यहोवा र उहाँको सङ्गठनप्रति कृतज्ञता बढाउनको लागि अरूलाई मदत गर्न यस भिडियोको सदुपयोग गरौं!