यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा पाइने आशिष्हरू —भाग १
१ प्रेरित यूहन्नाले यस्तो लेखे: “हामी प्रेम गर्दछौं, किनभने पहिले [यहोवा]ले हामीलाई प्रेम गर्नुभयो।” (१ यूह. ४:१९) यहोवाले हाम्रोनिम्ति गर्नुभएका प्रबन्धहरूबारे विचार गर्दा, हामी उहाँप्रति गहिरो मूल्यांकन देखाउन उत्प्रेरित हुन्छौं। येशूले परमेश्वरको नाउँ र राज्यबारे आज्ञाकारी भई साक्षी दिनुभएर यस सन्दर्भमा उदाहरण बसाल्नुभयो। (यूह. १४:३१) हामीले यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउन सक्ने केही तरिकाहरू र त्यसबाट प्राप्त हुने आशिष्हरूबारे विचार गर्नु लाभकारी हुन्छ।
२ घर-घर गएर: येशूले आफ्ना चेलाहरूलाई राज्यको सुसमाचार कसरी प्रचार गर्ने भनेर सिकाउनुभयो। तिनीहरू घर-घर गएर सुसमाचार सुनाउनु पर्ने कुरा उहाँले दिनुभएको निर्देशनमा स्पष्ट थियो। (लूका ९:१-६; १०:१-७) भावशून्यता तथा विरोधको बावजूद घर-घर गएर प्रचार गरिरहन यहोवा र छिमेकीहरूप्रतिको प्रेम आवश्यक छ। तथापि, यसले गर्दा हाम्रो विश्वास झनै दह्रो, हाम्रो अडान अझ दृढ र हाम्रो आशा झनै उज्ज्वल हुने भएकोले हामी व्यक्तिगत तवरमा पनि लाभ उठाउँछौं।
३ स्वर्गदूतहरूको निर्देशनमा काम गरेर हामीले थुप्रै सच्चाइका लागि भोकाएका र तिर्खाएकाहरूलाई भेट्टाएका छौं। (प्रका. १४:६) मदतको लागि प्रार्थना गरिरहेकै बेला साक्षीहरू आफ्नो ढोकामा आएको कुरा थुप्रै घरधनीले बताएका छन्। एउटा क्यारिबियन टापुमा दुई साक्षी र एक सानो केटो घर-घरको प्रचार कार्यमा गइरहेका थिए। साक्षीहरू त्यस दिनको प्रचार कार्य सिध्याएर घर जान तयार भए तर त्यो केटो एक्लै गएर अर्को ढोका ढकढक्याए। एउटी जवान स्त्रीले ढोका खोलिन्। यो देखेपछि ती दुई साक्षी त्यस स्त्रीसित कुरा गर्न गए। तिनले उनीहरूलाई भित्र बोलाइन् र आफूले भर्खरै बाइबल सिकाउन साक्षीहरू पठाइदिनुहोस् भनी परमेश्वरसित प्रार्थना गरेको कुरा बताइन्।
४ सडकमा साक्षी दिने: कुनै-कुनै क्षेत्रमा मानिसहरूलाई घरमा भेट्टाउन अत्यन्तै गाह्रो भएकोले तिनीहरूलाई साक्षी दिने एउटा प्रभावकारी तरिका सडक साक्षी हो। त्यसबाहेक, थुप्रै मानिस सुरक्षाका लागि ठूल-ठूला ढोकाहरू लगाएर राखिने घरहरूमा अथवा कडा सुरक्षा व्यवस्था भएका भवनहरूमा बस्छन्, जहाँ हामी ढोका-ढोकाको प्रचार कार्यको लागि जान सक्दैनौं। तथापि, यहोवाप्रतिको हाम्रो प्रेमले हामीलाई मानिसहरूलाई राज्यको सन्देश सुनाउन सडक साक्षीलगायत हरेक सम्भाव्य माध्यमको फाइदा उठाउन उत्प्रेरित गर्छ।—हितो. १:२०, २१.
५ पुनःभेटहरू गर्ने: हामी “आत्ममा दरिद्र हुने” व्यक्तिहरूलाई खोजी गर्नेहरू भएकाले यो आवश्यकता पूरा गर्न हामी यथासक्दो गर्न चाहन्छौं। (मत्ती ५:३) यसको लागि हामीले रोपेको सत्यको बीऊमा पानी हाल्न हामी फेरि फर्केर जानुपर्छ। अस्ट्रेलियामा एउटी बहिनीले त्यति चासो नभएको जस्तो देखिने एक महिलालाई पर्चा दिइन्। तथापि, त्यस महिलालाई फेरि घरमा भेट्नको निम्ति बहिनीले लगातार प्रयास गरिरहिन्। अन्ततः बहिनीले उक्त महिलालाई भेटिछाडिन्। बहिनीसितको प्रथम भेटपछि नै त्यस महिलाले एउटा महँगो बाइबल किनेको बहिनीले थाह पाइन्। बहिनीले तिनीसित अध्ययन सुरु गरिन्!
६ बाइबल अध्ययन सञ्चालन गर्ने: यो हाम्रो सेवकाईको सबैभन्दा रमाइलो अनि इनामदायी पक्ष हुनसक्छ। मानिसहरूलाई यहोवाबारे सिक्न मदत गर्नु, उहाँलाई खुसी तुल्याउन तिनीहरूले आफ्नो जीवनमा गरेका परिवर्तनहरू देख्न पाउनु र तिनीहरूले बप्तिस्माद्वारा परमेश्वरप्रतिको आफ्नो समर्पण जाहेर गरेको आफ्नै आँखाले हेर्न पाउनु साह्रै ठूलो आशिष्को कुरा हो!—१ थिस्स. २:२०; ३ यूह. ४.
७ आउने अंकमा, यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा हामीले कुन-कुन तरिकामा थप आशिष्हरू पाएका छौं, त्यसबारे छलफल गर्नेछौं।