ठीक बेलामा मदत
१ जब प्रेरित पत्रुसले आफ्ना सँगी विश्वासीहरूलाई बलियो बनाउनुपर्ने खाँचो देखे, त्यही चासोले गर्दा तिनी उनीहरूलाई मायालु सम्झौटा तथा प्रोत्साहन दिन उत्प्रेरित भए। (२ पत्रु. १:१२, १३; ३:१) तिनले ‘विश्वास प्राप्त गर्नेहरूलाई’ ‘हाम्रा प्रभु येशू ख्रीष्ट चिन्ने ज्ञानमा बेकम्मा र निष्फल नहुन’ आध्यात्मिक गुणहरू विकास गरिरहन आग्रह गरे। (२ पत्रु. १:१, ५-८) पत्रुसको उद्देश्य यहोवाबाट उनीहरूले प्राप्त गरेका बोलावट र नियुक्ति निश्चय गर्न उनीहरूलाई मदत गर्नु थियो। किनकि यसो गरेको खण्डमा उनीहरू ‘शान्तिसाथ प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिने थिए।’ (२ पत्रु. १:१०, ११; ३:१४) धेरैको लागि तिनले दिएको प्रोत्साहन ठीक बेला दिइएको मदत साबित भयो।
२ आज, मसीही निरीक्षकहरूले परमेश्वरका जनहरूप्रति त्यस्तै चासो राख्छन्। यस “डरलाग्दो समय[मा]” यहोवाका अधिकांश सेवकहरूले कठिन परिस्थितिहरूसित संघर्ष गर्नै पर्छ। (२ तिमो. ३:१) कहिल्यै नसिद्धिने आर्थिक, पारिवारिक वा व्यक्तिगत समस्याहरूले गर्दा कसै-कसैले दाऊदले जस्तै महसुस गर्लान्: “अनगन्ती खराबीहरूले मलाई घेरेका छन्। मैले मास्तिर पनि हेर्न नसक्ने गरी मेरा अधर्मले पक्रेका छन्। मेरो टाउकोका कपालभन्दा पनि ती बढ़ी छन्, र मेरो आँटै टुटिसकेकोछ।” (भज. ४०:१२) यी दबाबहरू अत्यन्तै बोझिला हुँदा यस्ता व्यक्तिविशेषहरूले अत्यावश्यक आध्यात्मिक कुराहरू बेवास्ता गर्न थाल्नुका साथै मसीही सेवकाईमा सक्रिय भई भाग लिन छाड्न सक्छन्। यद्यपि, ती कठिनाइहरूको बावजुद ‘उनीहरूले यहोवाका आज्ञाहरू बिर्सेका छैनन्।’ (भज. ११९:१७६) प्राचीनहरूले यस्ता व्यक्तिहरूलाई चाहिएको मदत दिने ठीक समय अहिल्यै हो।—यशै. ३२:१, २.
३ हाल प्रचारकार्यमा निष्क्रिय भएकाहरूलाई आवश्यक मदत दिने विशेष प्रयत्न गर्न प्राचीनहरूलाई प्रोत्साहन दिइएको छ। यसको लागि सक्दो प्रयास गरिंदैछ र यो मार्च महिनामा पनि कायमै रहनेछ। निष्क्रिय भएकाहरूकहाँ गएर उनीहरूलाई फेरि मण्डलीसित मिलेर काम गर्न मदत दिने उद्देश्यले आध्यात्मिक सहयोग दिन पुस्तक अध्ययन निरीक्षकहरूलाई आग्रह गरिएको छ। आवश्यक देखिएको ठाउँमा व्यक्तिगत बाइबल अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ। यस सन्दर्भमा अरू प्रकाशकहरूलाई सहयोग गर्न आग्रह गरिन सक्छ। यदि तपाईंलाई यसो गर्न आग्रह गरिएमा, तपाईंको प्रयास र अझ विशेष गरी तपाईंले दयालु तथा समझदारपूर्वक दिनुहुने प्रोत्साहन धेरै नै लाभदायी साबित हुनेछ।
४ कसैले मण्डलीसित मिलेर फेरि आफ्नो क्रियाकलाप सुरु गऱ्यो भने, त्यो सबैका लागि खुसीको कुरो हो। (लूका १५:६) निष्क्रिय भएकाहरूलाई प्रोत्साहन दिने हाम्रो प्रयास साँच्चै “ठीक बेलामा भनेको ठीक कुरा” साबित हुन सक्छ।—हितो. २५:११.