यहोवा स्तुतिको अति योग्य हुनुहुन्छ
अप्रिल १६ तारिखका दिन प्रभुको साँझको भोज मनाइनेछ
१ जति-जति अप्रिल १६, २००३ नजिकिंदैछ, उत्ति नै उत्सुकता पनि बढ्दैछ। यहोवाको नाउँ महिमित गर्ने विश्वभरिका लाखौं सँगी उपासकहरूसँगसँगै हामी त्यो रात येशूको मृत्युको स्मरणार्थ मनाउनेछौं। छुडौतीको महान् प्रबन्धको लागि यहोवा हाम्रो स्तुतिको योग्य हुनुहुन्छ। यसै छुडौतीको प्रबन्धमार्फत उहाँले सबै आज्ञाकारी मानिसजातिमाथि अद्भुत आशिष् वर्षाउनुहुनेछ। त्यसैकारण हामी पनि भजनहारसित सोरमा सोर मिलाएर भित्री हृदयदेखि यसो भन्छौं: “परमप्रभु महान् र स्तुतिको अति योग्य हुनुहुन्छ।”—भज. १४५:३.
२ यो परमेश्वरले गर्नुभएको भलाइ र ‘हामी उहाँद्वारा जिऔं भन्ने हेतुले आफ्ना एक्लो पुत्रलाई यस संसारमा’ पठाउनुभएकोमा हामी यहोवाप्रति कत्ति कृतज्ञ छौं भनेर मनन गर्ने समय हो। (१ यूह. ४:९, १०) आज्ञाकारी भई प्रभुको साँझको भोज मनाउँदा हाम्रो हृदयमा “परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। . . . अति करुणामय हुनुहुन्छ” भन्ने अमेट छाप पर्छ। (भज. १४५:८) निस्सन्देह, यो छुडौती सबै मानिसजातिप्रति यहोवाको प्रेमको महान् अभिव्यक्ति हो। (यूह. ३:१६) परमेश्वरको प्रेमबारे मनन र येशूको वफादार निष्ठालाई विचार गर्दा हामी यहोवाको स्तुति गर्न उत्प्रेरित हुन्छौं। हाम्रोलागि अनन्त जीवन सम्भव तुल्याइदिनुभएर अपार प्रेम प्रकट गर्नुभएकोमा हामी सदा-सर्वदा उहाँको स्तुति गर्नेछौं।—भज. १४५:१, २.
३ यहोवाको स्तुति गर्न अरूलाई मदत गर्नुहोस्: परमेश्वरले दिनुभएको छुडौतीजस्तो उच्च कोटिको उपहारप्रतिको मूल्यांकनले यहोवाको स्तुति गर्न अरूलाई पनि आमन्त्रित गर्न हामीलाई झकझक्याउँछ। भजनहार यस्तो लेख्न प्रेरित भएका थिए: “तिनीहरूले तपाईंको ठूलो भलाइको सम्झानामा बोलेर प्रकाश गर्नेछन्, र तपाईंका धार्मिकताको विषयमा गाउनेछन्।” (भज. १४५:७) गत साल मात्रै, विश्वभर यहोवाका साक्षीहरूले प्रचारकार्यमा एक अरबभन्दा बढी घण्टा बिताए। तिनीहरूको प्रयासको नतिजा कस्तो भयो? हरेक हप्ता, औसत ५,१०० व्यक्तिविशेषले यहोवाप्रतिको आफ्नो समर्पणको प्रतीकस्वरूप बप्तिस्मा लिए। सुसमाचारका प्रकाशकहरूको हैसियतमा यहोवाको स्तुति गर्न थाली नसकेका ९० लाखभन्दा बढी मानिसहरू लगायत स्मरणार्थमा उपस्थित १,५५,९७,७४६ जनाले थप वृद्धिको ठूलो सम्भावनालाई संकेत गर्छ! राज्य उद्घोषकहरूको हैसियतमा सुसमाचार घोषणा गर्ने र अरूको हृदय यहोवा, उहाँको पुत्र र राज्यतर्फ खिच्ने जुन सुअवसर हामीले पाएका छौं त्यसको हामी ठूलो कदर गर्छौं।
४ यहोवाको आदर गर्न अरूलाई प्रोत्साहन दिने उत्तम तरिका हामीसँगै प्रभुको साँझको भोज मनाउन उनीहरूलाई निमन्त्रणा दिएर हो। के तपाईंले निमन्त्रणा दिन चाहनुभएका व्यक्ति तथा त्यो दिन र समयबारे सम्झाउनु आवश्यक पर्ने अन्य व्यक्तिहरूको नामावली तयार पारिसक्नुभयो? के तपाईंले आफ्नो सूचीमा भएका सबैलाई निमन्त्रणा दिइसक्नुभयो? दिनुभएको छैन भने, समय बाँकी छँदै यसो गरिहाल्नुहोस्। उनीहरूलाई यो उत्सव मनाउनुको उद्देश्य बुझ्न मदत गर्नुहोस्। उत्सवमा, नव आगन्तुकहरूलाई अभिवादन गर्न तत्पर हुनुहोस्। उनीहरूलाई सजिलो महसुस गर्न लगाउनुहोस्, अरूसित उनीहरूको परिचय गराउनुहोस् र उपस्थित भएकोमा उनीहरूको सराहना गर्नहोस्।
५ स्मरणार्थमा उपस्थित हुँदा त्यसले नयाँ व्यक्तिहरूलाई आध्यात्मिक प्रगति गर्न उत्प्रेरित गर्न सक्छ। डरलाग्दो घटनापश्चात् तनावग्रस्त भएकोले मानिसहरूको हूलमूलमा जान हिचकिचाउने एक जना बाइबल विद्यार्थी स्मरणार्थमा उपस्थित भए। सभा कस्तो लाग्यो भनेर सोद्धा तिनले यसो भने: “त्यो एकदमै पवित्र रात थियो र म त्यहाँ उपस्थित हुन सकें।” त्यहाँदेखि उसो तिनी सभाहरूमा उपस्थित हुन थालेका छन्।
६ स्मरणार्थपश्चात्: यी इच्छुक व्यक्तिहरूलाई यहोवाका प्रशंसकहरू हुने मदत दिन के गर्न सकिन्छ? प्राचीनहरूले स्मरणार्थमा उपस्थित हुने नयाँ व्यक्तिहरूलाई ध्यान दिनेछन् र स्मरणार्थमा सिकेका र देखेका स्फूर्तिदायी कुरा पुनरावलोकन गर्न स्मरणार्थपश्चात् उनीहरूकहाँ योग्य प्रकाशकहरू पठाउने प्रबन्ध मिलाउनेछन्। कतिले गृह बाइबल अध्ययन गर्न चाहलान्। उनीहरूलाई सबै साप्ताहिक सभाहरूमा उपस्थित हुन पनि आमन्त्रित गर्नुपर्छ किनभने यसरी नियमित रूपमा उपस्थित हुँदा उनीहरूको बाइबलसम्बन्धी ज्ञान बढ्न सक्छ।
७ सबै अनियमित तथा निष्क्रिय व्यक्तिहरूलाई सभामा नियमित रूपमा उपस्थित हुन प्रोत्साहन दिने प्रबन्धहरू मिलाइँदैछ। निष्क्रिय भएकालाई क्षेत्र सेवकाईमा पुनः भाग लिन मदत गर्न प्राचीनहरूले तपाईंलाई अह्राएमा यो अभिभारा स्वीकार्न इच्छुक हुनुहोस्। हाम्रा भाइहरूप्रति यस्तो मायालु चासो देखाउनु प्रेरित पावलको निम्न सल्लाहअनुरूप छ: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।”—गला. ६:१०.
८ अप्रिल १६ तारिखका दिन स्मरणार्थमा उपस्थित हुन हामी सबैले विशेष प्रयत्न गरौं। हामी यहोवाको स्तुति गर्न यो अति पवित्र अवसर छुटाउन चाहँदैनौं। हो, अहिले र अनन्तसम्म हामी यहोवाका महान् कार्यहरूको लागि उहाँको स्तुति गरिरहौं!—भज. १४५:२१.