छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्
अप्रिल १२—येशूको मृत्युको स्मरणार्थ उत्सव
१. छुडौतीको बलिदानप्रति परमेश्वरका जनहरूले कृतज्ञता व्यक्त गर्ने एउटा तरिका के हो?
१ “परमेश्वरलाई उहाँको बयान गरी नसक्ने वरदानको निम्ति धन्यवाद होस्।” (२ कोरि. ९:१५) यी शब्दहरूमा हाम्रो भित्री भावना उजागर भएको छ। कुन भावना? आफ्नो पुत्र येशू ख्रीष्टमार्फत परमेश्वरले देखाउनुभएको भलाइ र करुणाप्रतिको कृतज्ञता। विशेष गरी अप्रिल १२ मा ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुँदा हाम्रो यो भावना व्यक्त हुन्छ।
२. यहोवाका सेवकहरू मात्र होइन अरू को पनि स्मरणार्थ उत्सवमा आउने गरेका छन् अनि छुडौतीको बलिदानबाट लाभ उठाउन तिनीहरूले के गर्नुपर्छ?
२ यहोवाका सेवकहरू मात्र होइन, हरेक वर्ष अरू एक करोड भन्दा बढी मानिसहरू पनि स्मरणार्थ उत्सवमा आउने गरेका छन्। यसरी तिनीहरूले पनि ख्रीष्टको बलिदानप्रति केही हदसम्म कृतज्ञता देखाउँछन्। तथापि, छुडौतीको बलिदानबाट लाभ उठाउन स्मरणार्थ उत्सवमा आएर मात्र पुग्दैन। यस बलिदानमा तिनीहरूले विश्वास पनि गर्नुपर्छ। (यूह. ३:१६, ३६) तर त्यो विश्वास हामीले तिनीहरूमा कसरी जगाउने? स्मरणार्थ उत्सव अघि-पछिका दिनहरूमा तिनीहरूसित बाइबल अध्ययन थाल्न सक्छौं र मण्डलीका साप्ताहिक सभाहरू धाउन प्रोत्साहित गर्न सक्छौं। यसको लागि तलका सुझावहरू विचार गर्नुहोस्।
३. स्मरणार्थ उत्सवमा निम्त्याउँदा नै बाइबल अध्ययन थाल्न सक्छौं, कसरी?
३ बाइबल अध्ययन: जिज्ञासुहरूलाई स्मरणार्थ उत्सवमा निम्त्याउँदा बाइबलले सिकाउँछ किताबबाट अध्ययन थाले कसो होला? उक्त व्यक्तिलाई स्मरणार्थ उत्सवबारे बताउनुहोस्। यसो गर्न त्यस किताबको पृष्ठ २०६-२०८ पल्टाउनुहोस् र “प्रभुको साँझको भोज—परमेश्वरको आदर गर्ने एउटा उत्सव” परिशिष्टबाट छलफल गर्नुहोस्। यो छलफल एक वा दुई पटकमा टुंग्याउन सक्नुहुन्छ। ढोकामै बाइबल अध्ययन गर्दा पनि यो सम्भव छ। पृष्ठ २०६-२०८ छलफल गरिसकेपछि अध्याय ५ को “छुडौतीको बलिदान—परमेश्वरले दिनुभएको सबैभन्दा महान् उपहार” विषयमा छलफल गर्न विद्यार्थी राजी हुनसक्छन्। नियमित बाइबल अध्ययन भएपछि चाहिं सुरुदेखि नै अर्थात् अघिल्ला अध्यायहरू १-४ छलफल गर्नुहोस्।
४. स्मरणार्थको बेला को-कोसित बाइबल अध्ययन थाल्न सक्छौं?
४ यो तरिका अपनाएर को-कोसित बाइबल अध्ययन थाल्न सक्छौं? सँगै काम गर्ने मानिसहरू, स्कूलका साथी र छिमेकीहरूसित। हो, उनीहरूले यो प्रस्ताव स्वीकार्न पनि सक्छन्। भाइहरूले मण्डलीका बहिनीहरूका बेग्लै विश्वास भएका पतिहरूलाई पनि यो प्रस्ताव राख्न सक्छन्। सच्चाइमा नभएका नातेदारहरूलाई पनि नबिर्सनुहोस्। मण्डलीसित पहिला सक्रिय संगत गरेकाहरूलाई स्मरणार्थमा निम्त्याउन हामी हर प्रयास गर्छौं। (लूका १५:३-७) यी सबैलाई छुडौतीको बलिदानबाट लाभ उठाउन मदत देऔं।
५. बाइबल विद्यार्थी र जिज्ञासुहरूलाई मण्डलीका अन्य साप्ताहिक सभाहरूबाट लाभ उठाउन कसरी प्रोत्साहित गर्न सक्छौं?
५ मण्डलीका सभाहरू: अक्सर थुप्रै बाइबल विद्यार्थी र जिज्ञासुहरू पहिलो पटक कहिले राज्यभवन आउँछन्? स्मरणार्थ उत्सवमा। त्यसोभए तिनीहरूलाई मण्डलीका अरू सभाहरूबाट पनि लाभ उठाउन प्रोत्साहन दिए कसो होला? अप्रिल २००५ अंकको हाम्रो राज्य सेवकाई-को पृष्ठ ८ मा यस्तो सल्लाह दिइएको छ: “आउने हप्ताको जनभाषणको विषय बताउनुहोस्। उनीहरूलाई प्रहरीधरहरा अध्ययन र मण्डली पुस्तक अध्ययनमा छलफल गरिने विषयवस्तु देखाउनुहोस्। ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाबारे बताउनुहोस्। स्कूलमा आफ्नो असाइनमेन्ट भएको बेला तपाईं यसलाई उनीहरूसित पूर्वाभ्यास गर्न सक्नुहुन्छ। सभामा प्रस्तुत गरिएका उल्लेखनीय बुँदाहरू सुनाउनुहोस्। सभाहरूमा के-के हुन्छन् भन्ने कुरा कल्पना गर्न उनीहरूलाई मदत दिन हाम्रा प्रकाशनहरूमा भएका चित्रहरू चलाउनुहोस्। बाइबल अध्ययन सुरु भएदेखि नै सभाहरूमा उपस्थित हुन उनीहरूलाई आमन्त्रित गर्नुहोस्।”
६. कुन दुई तरिकामा हामी स्वच्छ हृदय भएकाहरूलाई छुडौतीको बलिदानबाट लाभ उठाउन प्रोत्साहित गर्न सक्छौं?
६ बाइबल अध्ययन नियमित भयो र मण्डलीका सभाहरू पनि नछुटाई धाइरह्यो भने स्वच्छ हृदय भएकाहरूले चाँडै आध्यात्मिक उन्नति गर्छन्। तसर्थ, यी आध्यात्मिक प्रबन्धहरू र परमेश्वरको अनमोल उपहार छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई प्रोत्साहित गरौं।