प्रश्न पेटी
◼ झ्यालखानाका कैदीहरूलाई साक्षी दिंदा कस्ता सावधानीहरू अपनाउनुपर्छ?
विश्वभरिका झ्यालखानामा थुनिएका कम्तीमा ८० लाख कैदीहरूमध्ये कतिपयले सुसमाचारप्रति चासो देखाउँछन्। (१ तिमो. २:४) हरेक महिना एउटा शाखा कार्यालयले झ्यालखानाका लगभग १,४०० कैदी तथा तिनीहरूका परिवारका सदस्यहरूले साहित्य मगाएको वा व्यक्तिगत रूपमा भेट्न आग्रह गरिएका पत्रहरू प्राप्त गर्छन्। कति जना कैदीहरूको चासो निष्कपट भए तापनि अनुभवले के देखाएको छ भने, कतिपयले परमेश्वरका जनहरूको नाजायज फाइदा उठाउने हिसाबले चासो देखाएको स्वाँग पार्छन्। यस कुरालाई ध्यानमा राख्दै झ्यालखानाका कैदीहरूलाई साक्षी दिंदा सबैले निम्न सावधानीहरू अपनाउनुपर्छ।
प्रायजसो कैदीहरूलाई पत्रमार्फत साक्षी दिने गरिन्छ। आध्यात्मिक मदत दिने ध्येय भए तापनि बहिनीहरूले पुरुष कैदीहरूलाई पत्राचार नगर्न कडा सल्लाह दिइएको छ। त्यो जिम्मेवारी योग्य भाइहरूले मात्र सम्हाल्नुपर्छ। बाइबल सत्यप्रति निष्कपट चासो देखाउने महिला कैदीहरूलाई पत्राचार गर्न योग्य बहिनीहरूलाई खटाउन सकिन्छ। अनुरोध गरिए तापनि पैसा वा व्यक्तिगत उपहारहरू कैदीहरूलाई पठाउनु हुँदैन।
झ्यालखानामा परेका व्यक्तिले चासो देखाएमा तिनको नाउँ तथा ठेगाना झ्यालखाना नजिकैको इलाकामा भएको मण्डलीलाई दिनुपर्छ। साधारणतया त्यस इलाकाका योग्य भाइहरूलाई उत्पन्न हुन सक्ने विभिन्न किसिमका अवस्थाहरू कसरी सम्हाल्ने भन्ने कुरा थाह हुन्छ। यदि मण्डलीबारे थाह छैन भने, शाखा कार्यालयलाई जानकारी पठाउनुपर्छ।
एकै समयमा थुप्रै कैदीहरूले अध्ययन गर्न सकोस् भन्ने हेतुले खटाइएका भाइहरूले कैदीहरूसित सभा सञ्चालन गर्नुमा कुनै आपत्ति छैन। तथापि, प्रकाशकहरू कुनै रोकटोकविना कैदीहरूसित घुलमिल गर्ने अवसरहरू भने झ्यालखानामा आयोजना गर्नु हुँदैन। यसबाहेक, प्रकाशकहरू सोचविचार नगरी झ्यालखाना जानु र कैदीहरूसित घनिष्ठ सरसंगत गर्नु बुद्धिमानी होइन।
झ्यालखानाका कैदीहरूलाई सुसमाचार सुनाउँदा हामी “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” होऔं।—मत्ती १०:१६.