पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्याउँछ
१. पुनःभेट गर्नु किन एकदमै महत्त्वपूर्ण छ?
१ येशूले आफ्ना अनुयायीहरूलाई प्रचार गर्न मात्र होइन तर ‘चेला बनाउन . . . सिकाउन’ पनि अह्राउनुभयो। (मत्ती २८:१९, २०) एक जना प्रचारकले घोषणा गर्छ तर एक जना शिक्षकले त्योभन्दा बढी गर्छ। उसले सिकाउँछ, बुझाउँछ र प्रमाण प्रस्तुत गर्छ। अरूलाई सिकाउने एउटा तरिका बाइबल अध्ययन सुरु गर्ने हेतुले इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्नु हो।
२. हामीले क-कसलाई पुनःभेट गर्नुपर्छ?
२ क-कसलाई पुनःभेट गर्नुपर्छ? साहित्य स्वीकार्ने सबै वा सुसमाचारप्रति अलिकति मात्र भए पनि चासो देखाउने व्यक्तिहरूलाई पुनःभेट गर्न नबिर्सनुहोस्। सार्वजनिक ठाउँमा साक्षी दिंदा कसैले चासो देखायो भने, चासो बढाउनको लागि त्यस व्यक्तिको ठेगाना वा टेलिफोन नम्बर टिप्ने कोसिस गर्नहोस्। बाइबल अध्ययन सुरु गर्ने कुरामा सकारात्मक हुनुहोस्। बाइबल अध्ययनको प्रस्ताव स्वीकार्ने व्यक्ति खोजिरहनुहोस् र तपाईंले त्यस्तो व्यक्ति भेट्टाउनुहुनेछ।—मत्ती १०:११.
३, ४. प्रभावकारी पुनःभेट गर्नुमा के समावेश छ?
३ व्यक्तिगत चासो देखाउनुहोस्: प्रभावकारी पुनःभेटको तयारी पहिलो भेटदेखि नै सुरु हुन्छ। सफल सुसमाचारकहरूले घरधनीलाई चासो लागेका कुरा टिपिराख्छन् र त्यसैलाई आधार बनाउँदै छलफल अघि बढाउँछन्। कतिले अर्को भेटको लागि घरधनीको चासो बढाउन पहिलो भेटको अन्तमा प्रश्न सोध्नु लाभदायी ठान्छन्। मानिसहरूप्रतिको हाम्रो निष्कपट चासोले हामीलाई घरधनीहरूसित बिदा भइसकेपछि पनि उनीहरूको विषयमा सोचिरहन लगाउँछ र ढिलासुस्ती नगरीकन उनीहरूलाई पुनःभेट गरिहाल्न झकझकाउँछ। सकेसम्म चासो कम हुनुअघि नै अर्थात् पहिलो भेट गरेको एक दुई दिनपछि नै उनीहरूलाई पुनःभेट गरिहाल्नुहोस्।
४ पहिलो भेटमा छलफल गरिएका कुरालाई पुनःभेटको दौडान अझ अघि बढाउँदै लैजाने कोसिस गर्नुहोस्। हरेक पटक कम्तीमा एउटा उत्थानदायी शास्त्रपद पढेर सुनाउने लक्ष्य राख्नुहोस् र घरधनीको कुरा सुन्न इच्छुक हुनुहोस्। धरधनीलाई राम्ररी चिन्नुहोस्। त्यसपछिका भेटहरूमा भने, तिनका चासोका विषयहरूसित सम्बन्धित सत्य कुराहरू परमेश्वरको वचनबाट सुनाउनुहोस्।
५. बाइबल अध्ययन सुरु गर्न कुन सरल तरिका अपनाउन सकिन्छ?
५ बाइबल अध्ययन सुरु गर्ने मौकाप्रति सजग हुनुहोस्: बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गर्नुहोस्। यो कसरी गर्न सकिन्छ? एउटा चाखलाग्दो कुरा बताउन चाहन्छु भनी बताउनुहोस् र ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिकाबाट त्यस व्यक्तिको मन छुने कुनै एउटा अनुच्छेद पल्टाउनुहोस्। अनुच्छेद पढ्नुहोस्, प्रश्न विचार गर्नुहोस् र उद्धृत एक दुईवटा शास्त्रपद छलफल गर्नुहोस्। ढोकामै उभिएर पाँचदेखि दस मिनेटमा यसो गर्न सकिन्छ। अर्को प्रश्न सोध्नुका साथै अर्को चोटि फेरि छलफल गर्ने प्रबन्ध मिलाएर टुंग्याउनुहोस्।
६. पुनःभेट गर्नुको महत्त्व बुझेका छौं भन्ने कुरा हामी कसरी देखाउन सक्छौं?
६ हामीले भेट्ने सबै इच्छुक व्यक्तिहरूको चासो बढाउनु हाम्रो सेवकाईको महत्त्वपूर्ण पक्ष हो। त्यसकारण आफ्नो साप्ताहिक तालिकामा पुनःभेट गर्ने समय पनि छुट्याउनुहोस्। यसो गर्दा तपाईंको सेवकाई प्रभावकारी हुनुका साथै त्यसबाट साँचो आनन्द पाउनुहुनेछ।