प्रभावकारी पुनःभेटहरू गरेर चासो बढाउनुहोस्
१ राम्रो तयारी गरिएको हरेक भाषणमा चासो जगाउने परिचय, जानकारी र प्रेरणादायी समापन हुन्छन्। परिचयले स्रोताहरूको ध्यान खिच्दछ, तर त्यस भाषणमा मुख्य भाग र समापन नै छैन भने त्यो अधुरो हुनेछ। यही सिद्धान्त हाम्रो सेवकाईमा पनि लागू हुन्छ। प्रथम भेटमै घरधनीको चासो जगाउनु राम्रो कुरा हो तर हामीले प्रभावकारी पुनःभेटहरू गरेर त्यो सुरुको चासोलाई अझ बढाउँदै लानुपर्दछ।
२ परमेश्वरले दु:ख-कष्ट हुने अनुमति किन दिनुहुन्छ? कस्तो विचारोद्दिपक प्रश्न! आज धेरै मानिसहरूको मनमा यही कुरा खेलिरहेको छ भनेर के तपाईं सहमत हुनुहुन्न? त्यसैकारण अगाडिको लेखमा सल्लाह दिए झैं प्रथम भेटको अन्तमा यो प्रश्न सोध्नुहोस्। यस प्रकार तपाईं पुनःभेट गर्न जानु हुँदा सोही प्रश्नको जवाफ दिन सक्नु हुनेछ।
३ तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “नमस्कार। पछिल्लो पटक हामीले छलफल गर्दा परमेश्वरले दुःख कष्ट हुने अनुमति किन दिनुहुन्छ भन्ने कुरा निस्केको थियो र त्यसबारे केही जानकारी लिएर आउँछु भनेर मैले भनेको थिएँ। साँच्चै नै परमेश्वरले हाम्रो वास्ता गर्नु हुने भएता उहाँले यी सबै दुःख-कष्टको अन्त गरिदिनुहुन्थ्यो भनेर आज धेरैजना मानिसहरू सोच्छन्। शायद तपाईंलाई पनि त्यस्तै लागेको हुन सक्छ। [घरधनीलाई जवाफ दिने मौका दिनुहोस्।] तर परमेश्वरले साँच्चै नै वास्ता गर्नुहुन्छ भनेर बाइबलले हामीलाई आश्वासन दिन्छ। [१ यूहन्ना ४:८ पढ्नुहोस्।] अहिलेसम्म दुःख-कष्ट रहिरहने अनुमति दिनुको राम्रो कारण परमेश्वरसँग छ। यहाँ २ पत्रूस ३:९-मा ती कारणहरू मध्ये एउटाको वर्णन गरिएको छ। [पढ्नु होस्।] बाँकी कारणहरू यो पुस्तिकामा सङ्क्षेपमा वर्णन गरिएको छ।” त्यसपछि हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? नामक पुस्तिकाको पृष्ठ १०-१२ पल्टाउनुहोस् र चासो लाग्ने बुँदाहरूलाई छलफल गर्नुहोस्।
४ केही घरधनीहरूलाई यसको विस्तृत विवरण जान्ने चासो होला र तिनीहरूलाई चित्तबुझ्दो किसिमले पूरा जवाफ दिन पुनःभेटहरू गर्नु जरुरी हुनु सक्छ। सोसाइटीले प्रकाशित गरेको कडा खोल भएका १९२ पन्ने पुरानो किताबहरूलाई जनवरी महिनामा प्रस्तुत गरिनेछ। प्रस्तुत गरिने यी पुस्तकहरू मध्ये धेरैजसोमा यस विषयमा अझ थप छलफलका लागि चलाउन मिल्ने खालका अध्याय समावेश भएको हुन्छ।
५ छलफलको अन्ततिर आइपुग्नुहुँदा अर्को एउटा प्रश्न उठाउनुहोस् र अर्को पटक आउँदा त्यस विषयमा चाखलाग्दो जानकारी दिन तपाईंलाई खुशी लाग्नेछ भनेर घरधनीलाई भन्नुहोस्। मानिस मृतावस्थामा हुँदा के हुन्छ भन्ने कुरा धेरै व्यक्तिहरू जान्न चाहन्छन्। त्यसो भए कुनै सुविधाजनक समयमा यस विषयलाई छलफल गर्ने प्रबन्ध किन नमिलाउने?
६ यी तीनवटा आधारभूत सिद्धान्तहरूलाई मनमा राख्नु तपाईंका लागि फाइदाजनक हुनसक्छ। परिस्थितिलाई विचार गरेर काम गर्नुहोस्। बाइबल छलफलका लागि निश्चित समय छुट्ट्याउने बानी घरधनीलाई नपरेको हुन सक्छ। छोटकरीमा कुरा गर्नुहोस्। पहिलो पटकमा धेरै बेरसम्म नबस्नुहोस् वा धेरै कुराहरूको वर्णन नगर्नुहोस्। कम समयमा एक दुई बुँदा मात्र छलफल गर्नुभयो भने अर्को पटक भेट गर्नजानु हुँदा अझ अनुकूल प्रतिक्रिया पाउनु हुनेछ। मित्रैलो र उत्साही हुनुहोस्। तपाईं उहाँप्रति साँच्चै नै चासो लिनुहुन्छ भन्ने कुरा घरधनीलाई देखाउनुहोस्।
७ हाम्रो तात्कालिक लक्ष्य घरधनीलाई शास्त्रीय वार्तालापमा सामेल गराउनु हो। त्यसपछि सधैंभरि बाँच्न सक्नुहुन्छ जस्तो कुनै एउटा उपयुक्त पुस्तकबाट हामी फलदायी गृह बाइबल अध्ययन सुरु गर्न चाहन्छौं। प्रभावकारी पुनःभेटहरू गरेर प्रथम पटक देखाएको चासोलाई धैर्य साथ बढाउँदै लानुभयो भने तपाईंले त्यसको आनन्द उठाउन सक्नु हुनेछ।