अवकाश—गतिविधि विस्तार गर्ने ढोका?
१ सांसारिक जागिरमा गर्नुपर्ने कठोर मेहनत तथा कामको चापबाट मुक्ति पाउन धेरै परिश्रमी मानिसहरू अवकाश पाउने समयको उत्कट चाह गर्छन्। यद्यपि, अवकाश अक्सर विरक्तता, पट्टाइ र असामयिक बुढ्यौलीमा परिणत हुनेगर्छ। कुनै अर्थपूर्ण काममा नलाग्दा मानिसको दिमाग आफ्नै फिक्रीहरूमा मात्र सोचमग्न हुन सक्छ। ब्राजिलको एउटा अखबारअनुसार अवकाशप्राप्त सरकारी कर्मचारीहरूले ‘असन्तुष्टि, चिढचिढाहापन, असुरक्षा, व्यक्तिगत पहिचान गुमाउनुदेखि लिएर निराशा अनि जीवनमा अन्धकार छाएको महसुस गरे।’
२ यसको ठीक विपरीत, थुप्रै मसीहीहरूले आफ्नो जीवनको यस बदलिंदो परिस्थितिलाई आध्यात्मिक गतिविधि विस्तार गर्ने ढोकाको रूपमा लिन्छन्। पैंसट्ठी वर्ष टेकेको दुई हप्तापछि अग्रगामी गर्न थालेका एक जना भाइले यसो भने: “अग्रगामी थालेको विगत दस वर्षदेखि मैले जुन मात्रामा प्रशस्त आशिष् पाएँ, त्यो अहिलेसम्म अनुभव गरेको थिइनँ।” एक विवाहित दम्पतीले यसो भने: “हाम्रो वास्तविक सुनौला वर्षहरू त अग्रगामी गर्न थालेदेखि सुरु भयो।” हो, अवकाशपछि थुप्रैले आफ्नो सेवकाई विस्तार गर्ने र यहोवाबाट प्रचुर मात्रामा आशिष् प्राप्त गर्ने सुनौलो मौका पाउँछन्।
३ व्यस्त र फलदायी रहिरहने: आज अवकाशप्राप्त थुप्रै मानिसहरूले अहिले जस्तो सुख-सुविधाहरू उपभोग गर्न पाएनन् र सानै उमेरदेखि कडा परिश्रम गर्न सिके। उनीहरूसित जवानीको शक्ति नहोला तर उनीहरू अझै अत्यन्त फलदायी कामदारहरू हुन्। एउटा शाखाको इलाकामा, २२ प्रतिशत अग्रगामीहरू अर्थात् लगभग २०,००० भाइबहिनीहरू कम्तीमा ६० वर्षका छन्। यी वृद्ध जनहरूले प्रचारकार्यमा ठूलो योगदान पुऱ्याउँछन्। उनीहरूको अनुभव तथा ईश्वरीय गुणहरूले उनीहरू सरसंगत गर्ने मण्डलीहरूलाई फल्न-फूल्न मदत गर्छ।—याकू. ३:१७, १८.
४ मसीही सेवकाईमा व्यस्त रहँदा स्वास्थ्य राम्रो हुनुका साथै जीवनको गुणस्तर पनि बढ्दै जान्छ। अवकाश पाएपछि अग्रगामी गर्न थालेकी एउटी ८४ वर्षीया बहिनीले यसो भनिन्: “इच्छुक व्यक्तिहरूसँग थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गर्दा त्यसले मलाई मानसिक रूपमा सक्रिय रहन मदत गरेको छ। मसित मोटर छैन, त्यसैले म धेरै हिंड्छु। त्यसले मलाई स्वस्थ राख्छ।” एक वृद्ध अग्रगामी दम्पतीले यस्तो टिप्पणी गरे: “सेवकाईले हामीलाई मानसिक र शारीरिक तवरमा स्वस्थ राख्छ। हामी सधैं सँगै हुन्छौं। हामी असाध्यै हाँस्छौं र जीवनको आनन्द उठाउँछौं।”
५ आवश्यकता भएको ठाउँमा सेवा गर्ने: आफ्नो आर्थिक अवस्था अनुकूल भएका कोही-कोही अवकाशप्राप्त मसीहीहरू राज्य प्रचारकहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न बसाइँ सरेका छन्। प्रेरित पावलजस्तै यी जोसिला प्रकाशकहरू “त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर [तिनीहरू] सब थोक गर्दछन्।”—१ कोरि. ९:२३.
६ एक दम्पतीले आफ्ना दुई जना छोराहरूलाई हुर्काइसकेपछि अग्रगामी गर्न थाले। अग्रगामी गरेको धेरै वर्षपछि उनीहरूले चिनियाँ भाषा सिक्ने जमर्को कसे। अहिले ७० वर्ष नाघिसकेको उमेरमा, आफू संगत गरिरहेका चिनियाँ समूह हालै मण्डलीमा परिवर्तन भएको देख्न पाउँदा उनीहरू हर्षित भए। उनीहरूजस्ता दम्पतीहरू कत्ति आशिष् साबित भएका छन्!
७ सेवकाईबाट कहिल्यै अवकाश मिल्दैन: अधिकांश मानिसहरूले अन्तमा गएर आफ्नो जागिरबाट अवकाश पाए तापनि परमेश्वरको सेवाबाट कुनै पनि मसीहीले कहिल्यै अवकाश पाउँदैन। सबै जना “अन्तसम्म स्थिर” रहनै पर्छ। (मत्ती २४:१३, १४) हुन त, वृद्धावस्थाले गर्दा कसै-कसैले यहोवाको सेवामा पहिलेजस्तो बढी समय बिताउन सक्दैनन्। तरैपनि उनीहरूले आफ्नो बल-बर्कतले भ्याएसम्म तनमनले सेवा गरिरहेको हेर्न पाउनु कत्ति प्रोत्साहनदायी कुरा हो! उनीहरूको काम र उहाँको नाउँको खातिर उनीहरूले देखाउने प्रेम यहोवाले बिर्सनुहुन्न भनी परमेश्वरको वचन आश्वासन दिन्छ।—लूका २१:१-४; हिब्रू ६:१०.
८ यदि तपाईंले अवकाश पाउनै लाग्नुभएको छ भने, आफ्नो बदलिंदो परिस्थितिलाई पूर्ण सदुपयोग गर्न यसबारे प्रार्थनापूर्वक विचार गर्नुभए कसो होला? ईश्वरीय मदतद्वारा तपाईंले अवकाशपछि गतिविधि विस्तार गर्ने ढोका खुलेको पाउन सक्नुहुन्छ, जसले यहोवाको प्रशंसा गर्नुका साथै थुप्रै आशिष्हरू पनि ल्याउँछ।—भज. १४८:१२, १३.