के तपाईं नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ?
१. प्रेरित पावलले पाएजस्तै, हाम्रो सामु पनि कस्तो ठूलो मौका छ?
१ प्रेरित पावलको अगाडि ‘कामको एउटा ठूलो ढोका’ खुला हुँदा विरोधीहरू थुप्रै भए तापनि तिनी जोसका साथ प्रचारकार्यमा लागिरहे। (१ कोरि. १६:९, NRV) आज संसारभरि लगभग ६,४२,००० प्रकाशकहरू नियमित अग्रगामी सेवामा लागेर यो ठूलो ढोकाभित्र प्रवेश गरेका छन्।
२. समय समयमा आफ्नो परिस्थिति केलाउनु किन बेस हो?
२ परिस्थितिमा परिवर्तन: आफ्नो वर्तमान परिस्थितिले गर्दा अहिले प्रचारकार्यमा सीमित समय मात्र बिताउन सक्छौं होला तर परिस्थिति सधैं एउटै रहिरहँदैन। त्यसकारण सबैभन्दा उपयुक्त परिस्थिति कहिले आउला भनेर पर्खेर नबसी समय समयमा आफ्नो परिस्थिति केलाउनु बेस हो। (उप. ११:४) के तपाईं जवान हुनुहुन्छ र स्कूलको पढाइ सिद्धिनै लागेको छ? के तपाईं आमा वा बुबा हुनुहुन्छ जसका साना छोराछोरी स्कूल जाने उमेरको भएका छन्? तपाईंको जागिरबाट अवकास पाउने समय भएको छ कि? यस्ता परिवर्तनले गर्दा अलि फुर्सत मिल्न सक्छ अनि नियमित अग्रगामी सेवा सुरु गर्न सम्भव हुन सक्छ। पहिला स्वास्थ्य समस्या भोगेकी एउटी बहिनीले ८९ वर्षको उमेरमा अग्रगामी सेवा सुरु गर्ने निर्णय गरिन्। किन? किनभने उनी अस्पतालमा भर्ना हुन नपरेको एक वर्षभन्दा अलि बढी भइसकेको थियो। यसकारण अग्रगामी सेवा सुरु गर्न आफ्नो स्वास्थ्यले दिन्छ होला भन्ने महसुस गरिन्।
३. नियमित अग्रगामी सेवा गर्न कसै-कसैले कस्तो छाँटकाँट गरेका छन्?
३ पावलको सन्दर्भमा भन्ने हो भने, तिनले सुरुमा कोरिन्थका भाइहरूलाई भेट्न जाने विचार गरेका थिए। तर सुसमाचारको खातिर तिनले आफ्नो तालिकामा छाँटकाँट गरे। आज नियमित अग्रगामी सेवा गरिरहेका कति व्यक्तिहरूले थुप्रै छाँटकाँट गर्नुपरेको थियो। कोही-कोहीले खर्च कटौती गरेर थोरै पैसामा जीविका चलाउने छाँटकाँट गरेका छन्। यसो गर्दा पार्ट-टाइम जागिर मात्र खाए पुग्छ। सेवा गर्ने यस्तो सुअवसर पाएकोमा तिनीहरू खुसी छन्। (१ तिमो. ६:६-८) कतिपय विवाहित दम्पतीहरूले भने एक जनाको मात्र कमाइमा पुग्ने जीवन बिताउन छाँटकाँट गरेका छन्। यसो गर्दा श्रीमतीले अग्रगामी सेवा सुरु गर्न सम्भव भएको छ।
४. घण्टा बुझाउन सक्छु कि सक्दिनँ भनेर पक्का छैन भने के गर्न सक्नुहुन्छ?
४ घण्टा बुझाउन सकिंदैन होला भन्ने डरले गर्दा नै अग्रगामी सेवामा लाग्नदेखि पन्छिहाल्नु पर्दैन। हरेक दिन दुई घण्टाभन्दा अलि बढी मात्र गरे पुग्छ। आफूलाई गर्न सक्दिनँ जस्तो लाग्छ भने हरेक महिना ७० घण्टा बुझाउने लक्ष्य राखेर एक दुई महिना सहायक अग्रगामी सेवा गरी हेरे कसो होला? यसो गर्दा तपाईंले अग्रगामी सेवाबाट पाउने आनन्द चाख्न सक्नुहुनेछ। (भज. ३४:८) अहिले अग्रगामी सेवा गरिरहेका भाइ बहिनीहरूसित कुरा गर्नुहोस्। उनीहरूले पनि तपाईंको जस्तै अप्ठ्यारो परिस्थिति पार लगाएका हुन सक्छन्। (हितो. १५:२२) प्रचारकार्यसम्बन्धी आफ्नो गतिविधि विस्तार गर्ने प्रयासमा यहोवाको आशिष् माग्नुहोस्।—१ यूह. ५:१४.
५. नियमित अग्रगामी सेवा किन इनामदायी लक्ष्य हो?
५ इनामदायी लक्ष्य: नियमित अग्रगामी सेवामा लाग्दा थुप्रै आशिष् प्राप्त हुन्छ। अरूलाईं अझ बढी दिंदा प्राप्त हुने ठूलो आनन्द अनुभव गर्न सक्नुहुन्छ। (प्रेरि. २०:३५) परमेश्वरको सत्य वचनलाई सही ढङ्गमा चलाउने तपाईंको क्षमता तिखार्न सक्नुहुनेछ। (२ तिमो. २:१५) तपाईंलाई साथ दिन यहोवाले आफ्नो हात तन्काउनुभएको अझ बढी महसुस गर्न सक्नुहुनेछ। (प्रेरि. ११:२१; फिलि. ४:११-१३) अग्रगामी सेवा गर्दा धीरजजस्ता आध्यात्मिक गुणहरू विकास गर्न पनि मदत पाउनुहुनेछ। साथै, यहोवासित अझ नजिक हुन सक्नुहुनेछ। (याकू. ४:८) के तपाईं यो ठूलो ढोकाभित्र प्रवेश गरेर नियमित अग्रगामी बन्न सक्नुहुन्छ?