“तपाईं राम्रो अग्रगामी बन्न सक्नुहुन्छ!”
१. अग्रगामी सेवाबारे एक जना बहिनीले कस्तो महसुस गरिन्?
१ “अग्रगामी सेवाले मलाई यहोवासित घनिष्ठ भइरहन मदत गर्छ। म यसलाई यहोवा र उहाँको पुत्रले हाम्रो लागि जेजति गर्नुभएको छ त्यसप्रति कृतज्ञता व्यक्त गर्ने एकदमै विशेष सुअवसरको रूपमा लिन्छु। यसले मलाई जीवनमा आनन्द र सन्तुष्टि प्राप्त गर्न मदत गर्छ।” यो टिप्पणी, मेरी नाउँ गरेकी एक जना बहिनीको हो। तिनले भारतको विभिन्न ठाउँमा निस्वार्थ अग्रगामी सेविकाको रूपमा सेवा गरेको ४२ वर्ष भइसक्यो। पूर्ण-समय सेवामा लागेकाहरूको आनन्दित जीवनलाई विचार गर्दै कसैले तपाईंलाई यसो भनेको होला: “तपाईं राम्रो अग्रगामी बन्न सक्नुहुन्छ!”
२. आध्यात्मिक क्रियाकलापले किन अपार सन्तुष्टि दिन्छ, व्याख्या गर्नुहोस्।
२ सन्तोषजनक जीवन बिताउने तरिका: हाम्रो नमुना येशूले आफ्नो पिताको इच्छा पूरा गर्दा साँचो स्फूर्ति पाउनुभयो। (यूह. ४:३४) त्यसकारण येशूले आफ्ना अनुयायीहरूलाई यहोवाको उपासनासित सम्बन्धित क्रियाकलापमा भाग लिंदा साँचो सन्तुष्टि प्राप्त हुन्छ भनेर निष्कपटतासाथ सिकाउनुभयो। यहोवाको अनुमोदन पाउने कामहरूमा व्यस्त रहँदा हामी सन्तुष्ट हुन्छौं। साथै, अरूलाई मदत गर्न धेरै समय, शक्ति र स्रोतसाधन दिंदा हामी आफ्नो आनन्द बढाउँछौं।—प्रेरि. २०:३१, ३५.
३. क्षेत्र सेवामा धेरै समय बिताउँदा हामी कस्तो आनन्द अनुभव गर्न सक्छौं?
३ क्षेत्र सेवामा हामी जति धेरै समय बिताउँछौं उति नै धेरै बाइबल अध्ययन सुरु गर्दा र सञ्चालन गर्दा प्राप्त हुने आनन्द महसुस गर्ने मौका पाउँछौं। धेरै घरधनीहरू भावशून्यजस्ता देखिएका ठाउँहरूमा समेत क्षेत्र सेवाको अनुभव र सीप हासिल गरिसकेपछि उक्त इलाका पहिला सोचेभन्दा फलदायी पाउन सक्छौं। अग्रगामीहरूले अग्रगामी सेवा स्कूलबाट पाउने बहुमूल्य शिक्षा प्रयोगमा ल्याउन सक्छन्। एक वर्षसम्म अग्रगामी सेवा गरिसकेपछि उनीहरूले यो स्कूलमा भाग लिने मौका पाउन सक्छन्। (२ तिमो. २:१५) लगनशील भएर लागिरहेमा हामीले पछि गएर फल फलाउने सत्यको बीउ राम्रोसित छरिरहेका हुनेछौं।—उप. ११:६.
४. आधारभूत शिक्षा सिध्याउन लागेका युवाहरूले के विचार गर्नुपर्छ?
४ युवाहरू: तपाईंले हाई-स्कूल सिध्याउन लाग्नुभएको छ भने के आफ्नो भविष्यबारे राम्रोसित सोच्नुभयो? अहिलेसम्म त स्कूलले तपाईंको धेरै समय लिइरहेको थियो। पहिला स्कूलको लागि दिनुभएको समय अब केको लागि दिनुहुनेछ? संसारमा करियर बनाउनुमै आफ्नो युवावस्थाको सबै बल खर्च गर्नुको सट्टा अग्रगामी सेवा गर्ने लक्ष्यबारे प्रार्थनापूर्वक विचार गरे कसो होला? विभिन्न पृष्ठभूमिका मानिसहरूलाई साक्षी दिने, व्यक्तिगत बाधा-अड्चनहरूसित डट्ने, आत्म-अनुशासन खेती गर्ने र शिक्षण क्षमता विकास गर्ने जस्ता अग्रगामी सेवामा तपाईंले सिक्नुहुने सीपले तपाईंलाई जीवनभर फाइदा पुऱ्याउनेछ।
५. आमाबाबु र मण्डलीले अग्रगामी सेवालाई कसरी प्रोत्साहन दिन सक्छन्?
५ आमाबाबु हो, के तपाईंले आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवामा लाग्न मदत दिन आफ्नो भूमिका निर्वाह गर्दै हुनुहुन्छ? राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न उनीहरूलाई मदत दिन तपाईंको वचन र राम्रो उदाहरणले ठूलो भूमिका खेल्न सक्छ। (मत्ती ६:३३) हाई-स्कूल सिद्धिएपछि अग्रगामी सेवा सुरु गरेका सञ्जय यसरी सम्झन्छन्: “मेरा आमाबाबु सधैं अग्रगामी सेवा जीवन बिताउने सबैभन्दा सन्तोषजनक तरिका हो भनी महसुस गर्नुहुन्थ्यो।” मण्डलीका सबैले आफ्नो वचन र कामद्वारा अग्रगामी सेवालाई प्रोत्साहन दिन सक्छन्। स्पेनका होशे भन्छन्: “मेरो मण्डलीले अग्रगामी सेवालाई जवानहरूको लागि सर्वोत्तम करियरको रूपमा हेर्थ्यो। अग्रगामी सेवाप्रति भाइबहिनीको टिप्पणी र कृतज्ञताका साथै उहाँहरूको व्यावहारिक मदतले मलाई अग्रगामी सेवा सुरु गर्न सजिलो बनायो।”
६. अहिले हामीमा अग्रगामी सेवा गर्ने इच्छा छैन भने हामी के गर्न सक्छौं?
६ बाधा-अड्चनहरूसित डट्नुहोस्: तर तपाईं यसो भन्नुहुन्छ भने नि, ‘मलाई अग्रगामी सेवा गर्ने इच्छै छैन।’ यदि तपाईंको पहिलो सोचाइ यस्तै हुन्छ भने आफूलाई लागेको कुरा यहोवालाई पोखाउनुहोस् र यसो भन्नुहोस्, ‘अग्रगामी सेवा मेरो लागि हो/होइन मलाई थाह छैन तर तपाईं जे गर्दा खुसी हुनुहुन्छ म त्यही गर्न चाहन्छु।’ (भज. ६२:८; हितो. २३:२६) त्यसपछि उहाँको वचन र संगठनमार्फत पाइने उहाँको निर्देशन हेर्नुहोस्। थुप्रै नियमित अग्रगामीहरूले पहिला सहायक अग्रगामी सेवा गरेर अग्रगामी सेवालाई “चाखेर” हेरेका छन्। अनि तिनीहरूले अनुभव गरेको आनन्दले तिनीहरूलाई पूर्ण-समय सेवालाई आफ्नो करियर बनाउन उत्प्रेरित गरेको छ।—भज. ३४:८, NW.
७. मासिक ७० घण्टा पुऱ्याउन सक्ने हो कि होइन भन्ने शंकासित हामी कसरी डट्न सक्छौं?
७ मासिक ७० घण्टा पुऱ्याउन सक्ने हो कि होइन जस्तो लाग्छ भने नि? तपाईंकै जस्तो अवस्था भएका अग्रगामीहरूसित कुराकानी गरे कसो होला? (हितो. १५:२२) त्यसपछि सम्भाव्य केही तालिकाहरू बनाउनुहोस्। अनावश्यक कुराहरूमा खर्चिने समयलाई क्षेत्र सेवाको लागि सदुपयोग गर्नु तपाईंले पहिले सोचेभन्दा सजिलो पाउन सक्नुहुन्छ।—एफि. ५:१५, १६, NRV.
८. किन हामीले समय-समयमा आफ्नो परिस्थिति जाँच्नुपर्छ?
८ आफ्नो परिस्थिति पुनः जाँच्नुहोस्: व्यक्तिगत परिस्थितिहरू अक्सर परिवर्तन हुन्छन्। समय-समयमा आफ्नो परिस्थिति जाँच्नु राम्रो हो। उदाहरणको लागि, के तपाईंको जागिरबाट अवकाश पाउने बेला हुनै लागेको छ? अग्रगामी सेवामा भाग लिन आफ्नो जागिर छोडेका कृष्नन् भन्छन्: “यो निर्णयले मलाई मेरी पत्नीसितै नियमित अग्रगामी सेवा सुरु गर्न मदत दियो। अनि यसले हामीलाई आवश्यकता धेरै भएको ठाउँमा सरेर सेवा गर्ने मौका दिएको छ। योभन्दा सन्तुष्टि दिने वा आध्यात्मिक रूपमा योभन्दा इनामदायी काम मैले अरू कुनै भेट्टाउन सक्दैनथें होला।”
९. विवाहित दम्पतीहरूले के विचार गर्नुपर्छ?
९ केही दम्पतीले आफ्नो अवस्था राम्ररी केलाएपछि दुवैले पूर्ण-समय काम गर्नु नपर्ने निष्कर्ष निकालेका छन्। हो, यसो गर्न परिवारले आफ्नो जीवनशैली सरल बनाउनुपर्ला तर त्यो त्याग त्यसै खेर जाँदैन। सेवाको काम विस्तार गर्न हालै पूर्ण-समय जागिर छाडेकी आफ्नी पत्नीबारे जोन भन्छन्: “दिउँसोको समयमा मेरी पत्नी आध्यात्मिक क्रियाकलापमा व्यस्त हुन्छिन् भनेर थाह पाउँदाजतिको आनन्द अरू कुनै कुराले दिंदैन।”
१०. अग्रगामी सेवाबारे सोच्न ख्रीष्टियानहरूलाई केले उत्प्रेरित गर्छ?
१० प्रेम र विश्वासको प्रदर्शन: यहोवा प्रचारकार्यलाई हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम ठान्नुहुन्छ। यो पुरानो युग चाँडै अन्त हुनेछ र यहोवाको नाम पुकार्नेहरूले मात्र उद्धार पाउनेछन्। (रोमी १०:१३) यहोवाप्रति हृदयदेखिको प्रेम र उहाँले हाम्रो निम्ति गर्नुभएको कुराप्रतिको कृतज्ञताले हामीलाई जोसिलो भएर प्रचार गर्न उहाँको पुत्रले दिनुभएको आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। (मत्ती २८:१९, २०; १ यूह. ५:३) साथै, हामी निश्चय नै आखिरी दिनमा बाँचिरहेका छौं भन्ने कुराप्रतिको विश्वासले हामीलाई यस संसारको पूरा उपभोग गर्नुको सट्टा समय छँदै प्रचारकार्यमा सकेजति गर्न उत्प्रेरित गर्नेछ।—१ कोरि. ७:२९-३१, NW.
११. यदि हामीलाई कसैले हामी राम्रो अग्रगामी बन्न सक्छौं भनेमा त्यसलाई कसरी लिनुपर्छ?
११ नियमित अग्रगामी सेवा गर्नु भनेको प्रचारकार्यमा धेरै घण्टा बिताउनुमात्र त होइन; यो परमेश्वरप्रतिको हाम्रो भक्तिको अभिव्यक्ति हो। त्यसैले कसैले तपाईं राम्रो अग्रगामी बन्न सक्नुहुन्छ भन्यो भने त्यसलाई प्रशंसाको रूपमा लिनुहोस्। अनि सेवाको यो सन्तोषजनक पक्षमा भाग लिएर आनन्द उठाइरहेकाहरूको समूहमा आफू पनि सामेल हुन प्रार्थनापूर्वक विचार गर्नुहोस्।
[पृष्ठ २-मा भएको ठूलो अक्षरको क्याप्सन]
आमाबाबु हो, के तपाईंले आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवामा लाग्न मदत दिन आफ्नो भूमिका निर्वाह गर्दै हुनुहुन्छ?
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
यहोवा प्रचारकार्यलाई हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम ठान्नुहुन्छ।