“हे सबै भक्त हो, परमप्रभुलाई प्रेम गर”
येशूको मृत्युको स्मरणार्थ अप्रिल ४ मा मनाइनेछ
१ वर्षौंअघि, युक्रेन कम्युनिष्ट शासनको अधीनमा छँदा, विशेष गरी प्रभुको साँझको भोज नजिकिंदै जाँदा सभास्थल फेला पार्ने आशामा अधिकारीहरूले साक्षीहरूमाथि कडा निगरानी राख्थे। यो सधैं एउटा समस्या हुन्थ्यो किनभने अधिकारीहरूलाई उत्सव मनाउने मिति ठ्याक्क थाह नहुनेभए तापनि त्यो उत्सव कहिलेतिर पर्छ भन्ने कुरा थाह हुन्थ्यो। भाइहरूले के गर्न सक्थे? एउटी बहिनीको घरको भुइँतलामा एउटा जलमग्न कोठा थियो। त्यस्तो ठाउँमा मानिसहरू भेला हुन्छन् भनेर अधिकारीहरूले आशा नगर्ने भएको कारण, भाइहरूले घुँडासम्म आउने पानीमाथि काठको भुइँ बनाए। होचो सिलिङमुनि त्यस काठको भुइँमा उनीहरू कुक्रुक्क परेर बस्नुपरे तापनि मण्डलीले आनन्दपूर्वक स्मरणार्थ मनाउन्जेलसम्म कसैले पनि उनीहरूलाई बाधा पुऱ्याएनन्।
२ येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउनू भन्ने आज्ञा पालन गर्ने हाम्रा युक्रेनी भाइहरूको सङ्कल्प परमेश्वरप्रति उनीहरूको प्रेमको एउटा अद्भुत प्रदर्शन थियो। (लूका २२:१९; १ यूह. ५:३) जीवनमा हामीले बिघ्नबाधाहरू सामना गरेको बेला यस्ता उदाहरणहरूबाट प्रोत्साहन प्राप्त गर्न सकौं र अप्रिल ४ मा प्रभुको साँझको भोज मनाउन उपस्थित हुने सङ्कल्प गरौं। यसरी हामी भजनहारको जस्तै भावना व्यक्त गरेको देखाउँछौं, जसले यसो भनेर गाएका थिए: “हे सबै भक्त हो, परमप्रभुलाई प्रेम गर।”—भज. ३१:२३.
३ परमेश्वरप्रतिको प्रेममा बढ्न अरूलाई मदत गर्नुहोस्: परमेश्वरप्रतिको प्रेमले हामीलाई येशूको मृत्युको स्मरणार्थ उत्सव हामीसँगै मनाउन अरूलाई पनि निमन्त्रणा दिन उत्प्रेरित गर्छ। फेब्रुअरीको हाम्रो राज्य सेवकाई-को परिशिष्टले हामी प्रत्येकलाई हामीले स्मरणार्थमा निमन्त्रणा दिन चाहेका व्यक्तिहरूको नामावली तयार पार्न प्रोत्साहित गरेको थियो। आफ्नो नामावलीमा भएका प्रत्येक व्यक्तिलाई निमन्त्रणा दिन के तपाईंले लगनशील भई कदम चालिरहनुभएको छ? उनीहरूलाई त्यस उत्सवको महत्त्वबारे बताउन समय निकाल्नुहोस्। स्मरणार्थको दिन र समयबारे उनीहरूलाई मित्रैलो ढङ्गमा सम्झाउँदा र आवश्यक परेको खण्डमा, उनीहरूलाई साथ दिन अग्रसर हुँदा उनीहरू उपस्थित हुन प्रोत्साहित हुन सक्छन्।
४ उत्सवमा, हाम्रो निमन्त्रणा स्वीकार्ने व्यक्तिहरूलाई स्वागत गर्ने विशेष प्रयास गर्नुहोस् र उनीहरूलाई सजिलो महसुस गर्न लगाउनुहोस्। तपाईं कसरी उनीहरूलाई यहोवाप्रतिको प्रेममा बढ्न मदत गर्न सक्नुहुन्छ? उनीहरूको मनमा उठेका प्रश्नहरूको जवाफ दिन तयार हुनुहोस्। उपयुक्त भएमा बाइबल अध्ययनको प्रस्ताव राख्न सजग हुनुहोस्। उनीहरूलाई हाम्रो मण्डलीका साप्ताहिक सभाहरूमा उपस्थित हुन आमन्त्रित गर्नुहोस्। प्राचीनहरूले विशेष गरी उपस्थित निष्क्रिय मसीहीहरूप्रति ध्यान दिन चाहनेछन्। स्मरणार्थ भाषणमा प्रस्तुत गरिएका विचारहरूलाई अघि बढाएर तिनीहरूले यस्ता निष्क्रिय भएकाहरूसित भेटघाट गर्ने प्रबन्ध मिलाउनुका साथै उनीहरूलाई आफ्नो गतिविधि पुनः सुरु गर्न प्रोत्साहन दिन सक्छन्।—रोमी ५:६-८.
५ यहोवाप्रतिको हाम्रो आफ्नो प्रेम गहिरो बनाउने: छुडौतीको वरदानबारे मनन गर्दा यहोवा र उहाँको पुत्रप्रतिको हाम्रो प्रेम अझ गहिरो हुन सक्छ। (२ कोरि. ५:१४, १५) लामो समयदेखि स्मरणार्थमा उपस्थित हुँदै आएका एक जना साक्षीले यसो भने: “हामी उत्सुकतापूर्वक स्मरणार्थको प्रतीक्षा गर्छौं। यसको महत्त्व प्रत्येक वर्ष बढ्दै जान्छ। बीस वर्षअघि, मसानघाटमा राखिएको मेरो प्रिय बुबाको शवलाई हेर्दा छुडौतीको बलिदानप्रति मेरो हृदय साँचो मूल्याङ्कनले ओतप्रोत भएको मलाई अझै याद छ। योभन्दा अघि यस विषयमा मसित दिमागी ज्ञान मात्र थियो। मलाई शास्त्रपदहरू र त्यसको वर्णन कसरी गर्ने भनी सबै थाह थियो! तर मृत्युको तीतो वास्तविकताको सम्मुख पर्दा मात्र त्यस मूल्यवान् छुडौतीको बलिदानले सम्भव तुल्याउने कुराहरू स्पष्टसित बुझें। मेरो हृदय हर्षले गद्गद भयो।”—यूह. ५:२८, २९.
६ जसै यस वर्षको उत्सवको मिति नजिकिंदै जान्छ, उत्सवको लागि आफ्नो हृदयलाई तयार पार्न समय निकाल्नुहोस्। (२ इति. १९:३) दिनहुँ धर्मशास्त्र जाँच्ने—२००४ र २००४ को क्यालेन्डर-मा दिइएका विशेष स्मरणार्थ बाइबल पढाइमा मनन गर्नुहोस्। कसै-कसैले आफ्नो पारिवारिक अध्ययनको दौडान महान पुरुष पुस्तका ११२-१६ अध्यायहरू पुनरावृत्ति गरेर आनन्द उठाउँछन्। अरूले चाहिं विश्वासी र बुद्धिमान् दास वर्गले तयार पारेका अन्य अध्ययन सहायकहरू चलाएर थप अनुसन्धान गर्छन्। (मत्ती २४:४५-४७) हामी सबै जनाले छुडौतीको वरदानलाई हार्दिक प्रार्थनाको विषय बनाउन सक्छौं। (भज. ५०:१४, २३) हो, यस स्मरणार्थ समयको दौडान यहोवाले हामीप्रति देखाउनुभएको प्रेमबारे मनन गरिरहन र उहाँप्रतिको हाम्रो प्रेम देखाउने तरिकाहरू खोजिरहन सकौं।—मर्कू. १२:३०; १ यूह. ४:१०.