“यो गर्नेगर”—अप्रिल ५ मा येशूको मृत्युको स्मरणार्थ
१. येशूको मृत्युको सम्झना गर्नु किन महत्त्वपूर्ण छ?
१ “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) यो कुरा भनेर येशूले आफ्ना अनुयायीलाई उहाँको बलिदानरूपी मृत्युको सम्झना गर्ने आज्ञा दिनुभयो। फिरौतीले गर्दा सम्भव भएका कुरा विचार गर्ने हो भने ख्रीष्टियनहरूका लागि येशूको मृत्युको वार्षिकी जस्तो महत्त्वपूर्ण दिन अरू कुनै छैन। यो वर्ष अप्रिल ५ मा पर्ने येशूको मृत्युको स्मरणार्थ नजिकिंदै जाँदा हामी यहोवाप्रति कृतज्ञ छौं भनी कसरी देखाउन सक्छौं?—कल. ३:१५.
२. अध्ययन अनि मननद्वारा हामी कसरी स्मरणार्थको कदर गरेको देखाउन सक्छौं?
२ तयारी गर्नुहोस्: साधारणतया हामी आफूलाई महत्त्वपूर्ण लाग्ने कुराको लागि पहिला नै तयारी गर्छौं। स्मरणार्थमा मन दिन हामी परिवारको रूपमा पृथ्वीमा येशूको जीवनको अन्तिम हप्ताका घटनाबारे अध्ययन गर्न अनि मनन गर्न सक्छौं। (एज्रा ७:१०) ती घटनासित सम्बन्धित केही बाइबल पद हाम्रो भित्तेपात्रोमा अनि दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा दिइएका छन्। यसबाहेक प्रहरीधरहरा, जनवरी-मार्च २०१२, पृष्ठ २१-२२ मा थुप्रै पदका साथै सबैभन्दा महान् पुरुष किताबको सम्बन्धित अध्याय पनि दिइएको छ।
३. प्रचारकार्यमा सक्दो भाग लिएर हामी कसरी स्मरणार्थको कदर गरेको देखाउन सक्छौं?
३ प्रचार गर्नुहोस्: प्रचारकार्यमा आफूले सकेजति भाग लिएर हामी स्मरणार्थको कदर गर्न सक्छौं। (लूका ६:४५) स्मरणार्थको निम्तो दिने विश्वव्यापी अभियान शनिबार, मार्च १७ देखि सुरु हुनेछ। के तपाईं प्रचारकार्यमा आफूले सकेजति भाग लिन अथवा सहायक अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गर्न सक्नुहुन्छ? आउँदो पारिवारिक उपासनामा यसबारे छलफल गरे कसो होला?
४. येशूको मृत्युको सम्झना गर्दा हामी के-कस्ता लाभ उठाउन सक्छौं?
४ प्रत्येक वर्ष येशूको मृत्युको स्मरणार्थमा भाग लिएर हामी धेरै लाभ उठाउन सक्छौं। यहोवाले आफ्नो एक मात्र छोरा फिरौतीस्वरूप दिएर देखाएको उदारताबारे मनन गर्दा हाम्रो आनन्द र उहाँप्रतिको हाम्रो प्रेम बढ्छ। (यूह. ३:१६; १ यूह. ४:९, १०) फिरौतीले हामीलाई आफ्नो लागि मात्र होइन, उहाँको लागि बाँच्न बाध्य पार्छ। (२ कोरि. ५:१४, १५) यसले जनसमक्ष यहोवाको प्रशंसा गर्ने हाम्रो इच्छालाई पनि प्रबल पार्छ। (भज. १०२:१९-२१) हो, यहोवाका सेवकहरू यसपालि अप्रिल ५ मा पर्ने येशूको मृत्युको स्मरणार्थमा ‘उहाँको मृत्युको घोषणा गर्ने’ अवसरको तीव्र प्रतीक्षामा छन्।—१ कोरि. ११:२६.