यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई मदत गर्नुहुन्छ
१ थुप्रै मानिसहरू पैसा, शक्ति र मानव दक्षतालाई सफलताको कुञ्जी ठान्छन्। (भज. १२:४; ३३:१६, १७; ४९:६) तथापि, यहोवासँग डराउने र उहाँमाथि आफ्नो भरोसा राख्ने व्यक्तिहरूका लागि बाइबलमा यस्तो आश्वासन दिइएको छ, “तिनीहरूका सहायक र ढाल उहाँनै हुनुहुन्छ।” (भज. ११५:११) आउनुहोस्, यहोवामाथि हामीले भरोसा देखाउनुपर्ने दुईवटा क्षेत्रलाई विचार गरौं।
२ मसीही सेवकहरूको हैसियतमा: मण्डलीमा जिम्मेवारीहरू सँभाल्दा वा क्षेत्र सेवकाईमा सिकाउने काम गर्दा हामी परमेश्वरमाथि भर पर्नै पर्छ। येशूको उदाहरणलाई विचार गर्नुहोस्। परमेश्वरको पुत्र भएर पनि उहाँले आफ्नै बुद्धि वा दक्षतामा भरोसा गर्नुभएन तर स्वर्गमा हुनुहुने पितामाथि पूर्णतया भर पर्नुभयो। (यूह. १२:४९; १४:१०) स्वर्गमा हुनुहुने हाम्रो पितामाथि हामी झन् कत्ति बढी भर पर्नुपर्छ! (हितो. ३:५-७) यहोवाको आशिष्द्वारा मात्रै हाम्रो सीमित प्रयासले उहाँको आदर गर्नेछ र अरूलाई लाभ पुऱ्याउनेछ।—भज. १२७:१, २.
३ प्रार्थनामार्फत यहोवाको निर्देशन तथा उहाँको पवित्र आत्माको मदत मागेर हामी यहोवामाथि भर परेको देखाउँछौं। (भज. १०५:४; लूका ११:१३) साथै, उहाँको वचन बाइबललाई आफ्नो शिक्षाको आधार बनाएर पनि हामी परमेश्वरमाथिको आफ्नो भरोसा देखाउँछौं। बाइबलको सन्देशमा मानिसलाई उत्प्रेरित गर्ने तथा जीवन परिवर्तन गर्ने शक्ति छ। (हिब्रू ४:१२) “परमेश्वरले दिनुभएको बलले” सेवा गर्दा यहोवाको महिमा हुन्छ।—१ पत्रु. ४:११.
४ समस्याहरूको सामना गर्दा: दबाब तथा समस्याहरू आइपर्दा पनि हामीले यहोवाको मदत खोज्नुपर्छ। (भज. ४६:१) उदाहरणका लागि, सम्मेलनमा उपस्थित हुन हाकिमले हामीलाई छुट्टी दिन गाह्रो मान्न सक्छन् वा पारिवारिक जीवनमा हामीले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा यहोवालाई निष्कपटतासाथ प्रार्थना गर्नुका साथै आफ्नो वचन तथा संगठनमार्फत दिनुहुने निर्देशन लागू गरेर हामी उहाँमाथि आफ्नो भरोसा देखाउँछौं। (भज. ६२:८; ११९:१४३, १७३) यसो गर्दा यहोवाका सेवकहरूले आफ्नो जीवनमा उहाँको मदत पाएको अनुभव गर्छन्।—भज. ३७:५; ११८:१३, १६.
५ स्वयम् यहोवाले हामीलाई यस्तो आश्वासन दिनुहुन्छ: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमाथि भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।” (यर्मि. १७:७) आफूले गर्ने सम्पूर्ण कुरामा हामी उहाँमाथिको हाम्रो भरोसा देखाउन सकौं!—भज. १४६:५.