नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
खतराको सङ्केत देख्यौं वा सुन्यौं तर त्यसअनुसार कदम चालेनौं भने परिणाम विपत्तिजनक हुन सक्छ। यहोवाले प्रदान गर्नुहुने आध्यात्मिक निर्देशनअनुसार चल्नु झनै महत्त्वपूर्ण छ। आगामी सेवा वर्षको दौडान हुने विशेष सम्मेलन दिन कार्यक्रममा यही कुरालाई जोड दिइनेछ। सम्मेलनको मुख्य विषय हुनेछ, “कसरी सुन्नुहुन्छ, ध्यान दिनुहोस्।”—लूका ८:१८, NW.
आफ्नो पहिलो भाषणमा अतिथि वक्ताले परमेश्वरद्वारा प्रेरित भएर पावलले हिब्रूहरूलाई लेखेको पत्रको सुरुका अध्यायहरूमा पाइने सल्लाह आज हामीलाई कसरी लागू हुन्छ भनेर छलफल गर्नेछन्। “ईश्वरीय निर्देशनमा निरन्तर ध्यान दिइरहनुहोस्” भन्ने समापन भाषणमा तिनले सबैलाई उनीहरूले यहोवा, उहाँको पुत्र र “विश्वासी र बुद्धिमान दास[को]” कुरा सुनिरहेका छन् कि छैनन्, सो जाँच्न मदत गर्नेछन्।—मत्ती २४:४५.
कार्यक्रमका केही भागहरू विशेष गरी परिवारहरूका लागि लाभदायी हुनेछन्। “नअलमलीकन परमेश्वरको वचन सुन्ने परिवारहरू” विषयको भाषणले सांसारिक कुराहरूले हाम्रो आध्यात्मिकतालाई निसासिन नदिन हामीलाई मदत गर्नेछ। यस भाषणमा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन काँटछाँट गर्ने व्यक्तिहरूका अन्तरवार्ताहरू समावेश गरिनेछ। “ध्यानपूर्वक परमेश्वरको वचन सुन्दा कसरी हाम्रा युवाहरू सुदृढ हुन्छन्” विषयको भाषणमा स्कूलमा, साथीहरूको माझमा वा सेवकाईमा सत्यको पक्षमा अडान लिएका युवाहरूको अन्तरवार्ता समावेश गरिनेछ। “परमेश्वरको कुरा सुन्ने तथा सिक्ने साना केटाकेटीहरू” भन्ने भाषणले हामीलाई साना केटाकेटीको सिक्ने क्षमतालाई हल्कासित नलिन मदत गर्नेछ। साना केटाकेटी तथा उनीहरूका आमाबाबुसितको अन्तरवार्ताले छोराछोरीलाई यहोवाको मार्गमा बाल्यकालदेखि नै प्रशिक्षण दिंदा प्राप्त हुने लाभ बुझ्न मदत गर्नेछ।
शैतानले ‘सारा संसारलाई ठगिरहेको’ बेला यहोवाले आफ्ना विश्वासी सेवकहरूलाई उनीहरू हिंड्नुपर्ने बाटो देखाइदिइरहनुभएको छ। (प्रका. १२:९; यशै. ३०:२१) उहाँको सल्लाह ध्यानपूर्वक सुनेर त्यसलाई आफ्नो जीवनमा आज्ञाकारी भई लागू गर्दा त्यसले हामीलाई बुद्धिमानी बनाउँछ, आनन्दित तुल्याउँछ र अनन्त जीवनतर्फ डोऱ्याउँछ।—हितो. ८:३२-३५.