बाइबलमा अझ बढी जोड!
१. सुरु-सुरुमा द वाचटावर मुख्य गरी कसका लागि र द गोल्डन एज कसका लागि प्रकाशित हुन्थे?
१ सन् १९१९ को अक्टोबर १ मा द गोल्डन एज पत्रिकाको पहिलो अंक प्रकाशित भएको थियो। यो पत्रिका प्रचारकार्यमा एकदमै बहुमूल्य औजार साबित भयो। किन? किनभने यो विशेष गरी सर्वसाधारणको लागि तयार पारिएको थियो। द वाचटावर चाहिं सर्वसाधारणको लागि नभई मुख्य गरी “सानो बगाल[को]” लागि हो भन्ने सोचाइ धेरै वर्षसम्म थियो। (लूका १२:३२) नयाँ प्रकाशनको सन्दर्भमा राज्य प्रकाशकहरूले यत्ति उत्साह देखाए कि वर्षौंसम्म द वाचटावर-भन्दा द गोल्डन एज धेरै वितरण हुन्थ्यो।
२. आज द गोल्डन एज कुन नाउँले चिनिन्छ र सुरुदेखि यस पत्रिकाको उद्देश्य के रहिआएको छ?
२ मानवजातिका समस्याहरूको एक मात्र समाधान ख्रीष्टको हजार वर्षीय शासन हो, जसले साँच्चै मानिसजातिको लागि सुनौलो युगको थालनी गर्नेछ भन्ने कुरा मानिसहरूलाई बुझाउन द गोल्डन एज पत्रिका प्रकाशित गरिन्थ्यो। त्यसपछिका दशकहरूमा समयको बदलिंदो आवश्यकता पूरा गर्न द गोल्डन एज-मा थुप्रै छाँटकाँटहरू गरिए। सन् १९३७ मा यसको नाउँ परिवर्तन गरेर कन्सोलेसन राखियो। सन् १९४६ मा यसको नाउँ आज हामीलाई थाह भएको अवेक! अर्थात् ब्यूँझनुहोस्! भयो।
३. कुन भविष्यवाणी पूरा गर्ने सन्दर्भमा ब्यूँझनुहोस्! एउटा सशक्त औजार साबित भएको छ?
३ सन् १९१९ देखि दिन थालिएको बृहत् साक्षीकार्यमा यस पत्रिकाले सुरुदेखि नै निकै ठूलो योगदान पुऱ्याउँदै आएको छ। (मत्ती २४:१४) तथापि, हामी बाँचिरहेको समयप्रतिको अविलम्बी भावलाई विचार गर्ने हो भने ब्यूँझनुहोस्!-मा थप छाँटकाँटहरू गर्नु बुद्धिमानी देखिन्छ।
४. (क) “परमप्रभुको रिसको दिनमा” बाँच्ने हो भने के गर्नु आवश्यक छ? (ख) प्रकाश १४:६, ७ अनुसार ‘स्वर्गको बीचमा उडिरहेको स्वर्गदूतले’ सबैलाई के गर्न आह्वान गर्छन्?
४ लाखौं मानिसहरूलाई ब्यूँझनुहोस्! पत्रिका पढ्न मनपर्छ किनभने यसमा आकर्षक ढङ्गमा विविध विषयहरू समेटिएका हुन्छन्। वर्षेनी स्मरणार्थमा उपस्थित हुने धेरैजसो व्यक्तिहरू ब्यूँझनुहोस्!-का नियमित पाठकहरू हुन् भन्ने कुरामा दुई मत छैन। तैपनि, यदि कुनै व्यक्ति “परमप्रभुको रिसको दिनमा” बाँच्न चाहन्छ भने तिनी हाम्रा प्रकाशनहरूको नियमित पाठक मात्र भएर पुग्दैन, अझ बढी गर्न तिनलाई मदत चाहिनेछ।—सप. २:३; प्रका. १४:६, ७.
५. (क) सन् २००६ जनवरी महिनाको ब्यूँझनुहोस्!-देखि कुन कुरालाई अझ बढी महत्त्व दिइनेछ? (ख) के गर्न धेरै जना उत्प्रेरित हुन सक्नेछन् र यो कुन भविष्यवाणीको पूर्ति अनुरूप हुनेछ?
५ तसर्थ, सन् २००६ जनवरी महिनादेखि ब्यूँझनुहोस्!-ले परमेश्वरको राज्यमाथि बढी जोड दिनेछ। यसले पाठकहरूलाई आफ्ना समस्याहरूको समाधानको लागि बाइबल हेर्न अझ सीधै प्रोत्साहन दिनुका साथै वर्तमान घटनाहरूबारे बाइबलको स्पष्टिकरणलाई अझ बढी महत्त्वका साथ प्रस्तुत गर्नेछ। यस प्रकार पाठकहरूले वर्तमान घटनाहरू हुनुको कारण राम्रोसँग बुझ्नेछन् र यहोवाबारे अझ बढी सिक्न आफूले पढेका कुराहरूबाट उनीहरू उत्प्रेरित हुनेछन्।—जक. ८:२३.
६, ७. (क) पहिलो थिस्सलोनिकी २:१३ लागू गर्न धेरैलाई मदत दिन अबदेखि ब्यूँझनुहोस्!-लाई कसरी तयार गरिनेछ? (ख) ब्यूँझनुहोस्! कति चोटि प्रकाशित हुनेछ र कतिवटा जस्तो भाषामा यस परिवर्तनले असर गर्नेछ?
६ ब्यूँझनुहोस्!-मा सामान्य चासोका विषयहरू निरन्तर आई नै रहनेछन्। तथापि, बढी जोडचाहिं बाइबलमा दिइनेछ। (१ थिस्स. २:१३) प्रहरीधरहरा-मा बाइबलसम्बन्धी विषयहरूबारे गहन छलफल गरिंदै आएको छ र अबदेखि ब्यूझनुहोस्!-मा पनि बाइबलमै आधारित विषयवस्तु बढी हुने भएकोले महिनाको दुई चोटि ब्यूँझनुहोस्! प्रकाशित गरिरहनु आवश्यक देखिंदैन। त्यसकारण, सन् २००६ को जनवरी अंकदेखि ब्यूँझनुहोस्! मासिक पत्रिकाको रूपमा प्रकाशित हुनेछ। यसो गर्दा हाम्रो साहित्य तयारी, अनुवाद र ढुवानी गर्ने काम धेरै नै हल्का हुनेछ।
७ ब्यूँझनुहोस्! प्रकाशित हुने लगभग ४० प्रतिशत भाषामा यस्तो परिवर्तनले असर गर्नेछ। प्रायजसो भाषामा ब्यूँझनुहोस्! पहिल्यैदेखि मासिक अथवा त्रैमासिक रूपमा प्रकाशित हुँदै आएको छ। प्रहरीधरहरा प्रकाशनमा चाहिं केही पनि परिवर्तन हुनेछैन।
८. प्रकाशकहरूले प्रहरीधरहरा-सँग ब्यूँझनुहोस्! पत्रिका कसरी चलाउन सक्नेछन्?
८ प्रकाशकहरूले हरेक महिनाको ब्यूँझनुहोस्!-लाई त्यसै महिनाको कुनै पनि अंकको प्रहरीधरहरा-सँग प्रस्तुत गर्न सक्छन्। ब्यूँझनुहोस्! प्रस्तुत गर्नेहरूले अहिले जस्तै महिनाको बीचमा आफ्नो प्रस्तुतिलाई परिवर्तन नगरीकन महिनाभरि एउटै अंक प्रस्तुत गर्न सक्नेछन्।
९. ब्यूँझनुहोस्!-ले कस्तो भूमिका खेलिरहनेछ?
९ सन् १९१९ मा पहिलो अंक प्रकाशित भएदेखि नै क्रमशः द गोल्डन एज, कन्सोलेसन र हाल ब्यूँझनुहोस्! नाउँले चिनिएको यस पत्रिकाले प्रचारकार्यमा ठूलो भूमिका खेल्दै आएको छ। नयाँ ढाँचाको यो पत्रिका वितरण गर्ने काममा यहोवाले निरन्तर आशिष् दिऊन् र यस पत्रिकाले “हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको” धेरैभन्दा धेरै मानिसहरूलाई आफ्नो एक मात्र आशाको रूपमा परमेश्वरको राज्यतर्फ फर्कन मदत गरोस् भनी हामी प्रार्थना गर्छौं।—प्रका. ७:९.