मसीही इज्जतको ख्याल राख्दै ख्रीष्टको पछि लागौं
१. यस वर्षको अधिवेशनको विषय र यहोवा र उहाँले गर्नुभएका प्रबन्धहरूको इज्जत गर्नुबीच के सम्बन्ध छ?
१ ब्रह्माण्डका शासक यहोवा परमेश्वरले आदरलाई पोसाकसरह पहिरनुभएको छ भनेर बाइबलमा बताइएको छ। (भज. १०४:१) येशू आफ्नो बोलीवचन तथा आचरणबाट पिताको र उहाँले गर्नुभएका प्रबन्धहरूको सधैं आदर अर्थात् इज्जत गर्नुहुन्थ्यो। (यूह. १७:४) “येशूको पछि लागौं!” जिल्ला अधिवेशनमा हामीले येशूको अनुसरण गर्ने र यहोवाको महिमा गर्ने थुप्रै मौका पाउनेछौं।
२. प्रत्येक कार्यक्रममा उपस्थित हुने योजना गर्दा हामीले यहोवाको इज्जतको ख्याल गरिरहेका हुन्छौं, कसरी?
२ उपासनाको इज्जत गर्दै: यहोवाले हाम्रै लागि भनेर मिलाउनुभएको यस आध्यात्मिक भोजमा उपस्थित हुने प्रबन्ध मिलाएर हामी उहाँको आदर गर्न सक्छौं। अधिवेशनको पहिलो दिनलगायत बाँकी सबै दिन उपस्थित हुन के तपाईंले हाकिमसित बिदा मागिसक्नुभयो? के तपाईंले सकेसम्म छिटो अधिवेशन भवनमा पुगेर कार्यक्रम सुरु हुनुअघि नै सिटमा बस्ने, सुरुको धुन र गीतमा भाग लिने तयारी गरिसक्नुभयो? अधिवेशनस्थलमा भाइबहिनीहरूसित मिलेर खाजा खाने पनि प्रबन्ध मिलाइसक्नुभयो? बिहान र दिउँसो कार्यक्रम सुरु हुनुअघि अध्यक्षले हामीलाई आ-आफ्नो सिटमा बस्न अनुरोध गर्दा धुन सुरु हुनुअघि नै आफ्नो कुराकानीलाई चट्ट बन्द गरेर सिटमा बसिहाल्नुपर्छ।
३. एकचित्तले ध्यान दिएर सुन्दा कसरी अधिवेशनको इज्जत हुन्छ?
३ एकचित्तले ध्यान दिएर भाषणहरू सुनेर पनि स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाको हामी आदर गर्न सक्छौं। एउटा अधिवेशनमा उपस्थित भइसकेपछि एक जना रिपोर्टरले “अधिवेशनमा साक्षीहरूको शिष्ट व्यवहार, एकाग्रता र प्रस्तुत आध्यात्मिक कार्यक्रमप्रतिको कदर” देखेर जो-कोही पनि प्रभावित हुन्छन् भनेर लेखेका थिए। “केटाकेटीहरू पनि अचम्मै लाग्ने गरी ज्ञानी भएर बसेका र बाइबल पल्टाएर पदहरू हेरिरहेका थिए” भनेर पनि तिनले उल्लेख गरे। कार्यक्रम भइरहँदा अनावश्यक गफ गर्ने, एसएमएस गर्ने, खाने वा बाहिर त्यसै डुलेर बस्ने गर्नु उचित होइन। छोराछोरीलाई अधिवेशनको पूरापूर फाइदा उठाउन मदत गर्नु आमाबाबुको जिम्मेवारी हो। त्यसैले छोराछोरीहरूलाई आफूसितै राख्नुपर्छ। (व्यव. ३१:१२; हितो. २९:१५) आमाबाबुको यस्तो प्रयासले अरूको पनि इज्जत गर्नुका साथै अधिवेशनमा प्रस्तुत गरिने महत्त्वपूर्ण आध्यात्मिक आहारप्रति निकै धन्यवादी भएको देखाउँछ।
४. किन हामीले अधिवेशनमा आफ्नो पहिरन अनि कोरीबाटीमा ध्यान दिनुपर्छ?
४ पहिरन र कोरीबाटीमा ध्यान दिएर इज्जत गर्दै: गत वर्षको जिल्ला अधिवेशनमा “हाम्रो मसीही इज्जतमा कहिल्यै आँच आउन नदिनुहोस्” शीर्षकको भाषण दिइएको थियो। धेरैले यो भाषण मन पराए। उक्त भाषणमा परमेश्वरका सेवकहरूले आफ्नो पहिरन र कोरीबाटीमा ध्यान दिएर मसीही इज्जतको ख्याल राख्नुपर्छ भनेर जोड दिइएको थियो। पहिरन र कोरीबाटीको सम्बन्धमा हामी यस वर्ष पनि अत्यन्तै होसियार हुनुपर्छ। यहोवाप्रतिको हाम्रो भावना कस्तो छ र उहाँको साक्षी हुने सुअवसरलाई हामी कस्तो ठान्छौं, हाम्रो रूपरङले झल्काइरहेको हुन्छ। हाम्रो पहिरन सधैं ‘परमेश्वरको भक्ति गर्नेहरूलाई सुहाउने’ हुनुपर्छ।—१ तिमो. २:९, १०, NRV.
५. फुर्सतको समयमा पनि आफ्नो मसीही इज्जतलाई कसरी कायम राख्न सक्छौं?
५ अधिवेशन स्थलमा मात्र हामीले आफ्नो पहिरन अनि कोरीबाटीलाई विचार गरेर मसीही इज्जतको ख्याल राख्नुपर्ने हो कि? अधिवेशन हुने सहरमा हामीले अधिवेशनको बिल्ला लगाएको थुप्रैले याद गरिरहेका हुन्छन्। हामी अरू मानिसहरूबीच भिन्नै देखिनुपर्छ। त्यसैकारण, फुर्सतको समयमा, जस्तै: कार्यक्रमपछि खाना खान जाँदा पनि परमेश्वरको सेवकलाई सुहाउने किसिमको पहिरन लगाउनुपर्छ। जिन्स, हाफ पाइन्ट, टि-शर्ट जस्ता लुगा लगाउनु हुँदैन। हाम्रो पहिरनले वरपरका मानिसहरूलाई राम्रो साक्षी दिइरहेको हुन सक्छ! हाम्रो पहिरन अनि कोरीबाटीले हाम्रो सेवाको शोभा बढाउँदा यहोवा प्रसन्न हुनुहुन्छ।
६. मसीही इज्जत कायम राख्दा कस्ता राम्रा परिणामहरू प्राप्त भएका छन्?
६ सन्तोषदायी परिणामहरू: अधिवेशनभरि मसीही इज्जत कायम राख्दा अनौपचारिक साक्षी दिने मौका पाउँछौं र हामीलाई नियाल्ने व्यक्तिहरूमा राम्रो छाप पार्न सक्छौं। एउटा अधिवेशनको अन्तमा एक जना कर्मचारीले यस्तो टिप्पणी गरे: “हामीले कहिल्यै यति भलाद्मी मानिसहरू भेटेका थिएनौं। परमेश्वरले कस्तो मानिस मन पराउनुहुन्छ, त्यसको तपाईंहरू जीवन्त उदाहरण हुनुहुन्छ।” मसीही इज्जत कायम राख्दा एकअर्कालाई आदर र प्रेम गर्न सक्छौं अनि यहोवाको पनि महिमा गर्न सक्छौं। (१ पत्रु. २:१२) मसीही इज्जत कायम राख्दा हामी परमेश्वरसित डराउँछौं र उहाँद्वारा सिकाइन पाउनुलाई सुअवसर ठान्छौं भनेर पनि देखाइरहेका हुन्छौं। (हिब्रू १२:२८) यस वर्षको “येशूको पछि लागौं!” जिल्ला अधिवेशनमा उपस्थित हुँदा हाम्रो मसीही इज्जत कायमै राख्ने सक्दो प्रयास गरौं।