यहोवाको बाटो हेर्नुहोस्
१. अधिवेशनको विषय के हो र यो किन समयअनुसारको छ?
१ यशैयाले यस्तो लेखे: “परमप्रभु [यहोवा] इन्साफ गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका होऊन्।” (यशै. ३०:१८ख) परमेश्वरले शत्रुहरूलाई दण्ड र विश्वासी सेवकहरूलाई छुटकारा दिनुभएको थुप्रै विवरण बाइबलमा पाइन्छ। यस्ता विवरणबाट आज यहोवाका उपासकहरूले कस्तो पाठ सिक्न सक्छन्? “परमप्रभुको [यहोवाको] त्यो महा र भयङ्कर दिन[बाट]” बच्न अहिले हामी के गर्न सक्छौं? (योए. २:३१, ३२) “छुटकारा नजिकै छ!” विषयक आउँदै गरेको जिल्ला अधिवेशनले हामीलाई यी प्रश्नहरूमा विचार गर्न र आफूलाई केलाएर हेर्न उत्प्रेरित गर्नेछ अनि यहोवाको बाटो हेर्न मदत दिनेछ।
२. जिल्ला अधिवेशनप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?
२ अधिवेशनको तीनै दिन उपस्थित हुने बन्दोबस्त मिलाइसक्नुभयो? जस्तै, अफिसमा हाकिमसित छुट्टीको कुरा गर्नुभयो? पछि मिलिहाल्छ नि भनेर छुट्टी मिलाउने कुरालाई हल्कासित नलिनुहोस्। यस विषयलाई प्रार्थनामा राख्नुहोस्। त्यसपछि हाकिमसित कुरा गर्नुहोस्। (नहे. २:४, ५) त्यस्तै गरी यातायात, बास र अन्य आवश्यक कुराहरूको प्रबन्ध मिलाउन पनि आलेटाले नगर्नुहोस्। यसरी राम्रो चाँजोपाँजो मिलाउँदा यहोवाले तयार पार्नुभएको आध्यात्मिक प्रबन्धप्रति हामीले गहिरो कृतज्ञता जाहेर गरिरहेका हुन्छौं। अधिवेशन धाउन मण्डलीका कसलाई के-कति मदत चाहिएको छ, प्राचीनहरूले याद गर्नुपर्छ। विशेष गरी, पाका भाइबहिनीहरूको ख्याल राख्नुपर्छ।—गला. ६:१०.
३. अधिवेशन हुने सहरमा यहोवाका जनले कस्ता गुण देखाउनुपर्छ?
३ असल आचरणले परमेश्वरको महिमा हुन्छ: अधिवेशनमा हामी ठूलो संख्यामा भेला हुन्छौं। त्यसरी भेला हुँदा त्यहाँका स्थानीय मानिसहरूलाई हामी असल आचरण देखाएर राम्रो साक्षी दिन सक्छौं। यसको लागि हामीले के गर्नुपर्छ? हामीसित कुराकानी गर्ने मानिसहरूले हामीमा असल बानीबेहोरा देख्नुपर्छ। त्यसैले होटेल, रेस्टुराँ र अधिवेशन भवन छेउछाउका पसलहरूमा हामी धीरज, नम्रता, संयम र व्यावहारिकता जस्ता मसीही गुण देखाऔं। (गला. ५:२२, २३; फिलि. ४:५) हामी सबैले त्यो प्रेम देखाउनुपर्छ जुन “आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन।” कठिन वा अप्ठ्यारा परिस्थितिमा पनि हामी “सबै [कुरा] परमेश्वरकै महिमाको निम्ति” गर्न चाहन्छौं।—१ कोरि. १०:३१; १३:५.
४. आमाबाबुले छोराछोरीलाई यहोवाको महिमा हुने आचरण देखाउन कसरी मदत दिन सक्छन्?
४ एउटा अधिवेशनको दौडान, एउटा होटेलको म्यानेजर हाम्रा जवानहरूको असल आचरण र कोरीबाटी देखेर यत्ति प्रभावित भए कि उनले “आफ्नो होटेलमा जहिले पनि यहोवाका साक्षीहरू बस्न आए हुन्थ्यो” भनेर इच्छा व्यक्त गरे। कस्तो मनै रमाउने कुरा! यो त पक्कै पनि तपाईं आमाबाबुले दिएको राम्रो तालिम र रेखदेखबाट फलेको मीठो फल हो। आमाबाबुले होटेलको कोठामा छोराछोरीलाई आफ्नो रेखदेखविना मनपरी गर्न दिनु ठीक होइन। छोराछोरीलाई जहिले पनि रेखदेखको घेराभित्र राख्नुपर्छ। (हितो. २९:१५) तिनीहरूको राम्रो आचरणले यहोवाको महिमा गाऊन् र उहाँको हृदय गद्गद् पारून्!—हितो. २७:११.
५. हामी कसरी आफ्नो पहिरन र कोरीबाटीले यहोवाको महिमा गर्न सक्छौं?
५ भद्र पहिरन र कोरीबाटी: अधिवेशनमा हामी सबैले अत्यन्तै फेसनदार, उत्ताउलो र अभद्र पहिरन नलगाऔं। यसो गरेर हामी अधिवेशनको शोभा बढाउन सक्छौं। अधिवेशन भवनमा आउँदा मात्र होइन घरदेखि अधिवेशन हुने सहरसम्म आउजाउ गर्दा, अधिवेशन भवन सरसफाइ र तयारी गर्दा पनि अभद्र पहिरन लगाउने छैनौं। हामी परमेश्वरका सेवक हौं। हाम्रो पहिलो प्राथमिकता भनेको यहोवाको नाउँ र मानलाई उच्च पार्नु हो। आफ्नै खुसी वा सुविधालाई अघि राख्नु होइन। त्यसैले, आफ्नो परिवारले हर समय भद्रता र सरलता कायम गरिराखेको छ कि छैन, पक्का गर्ने जिम्मेवारी परिवारको शिरको हो।—१ तिमो. २:९.
६. अरू बेला पनि अधिवेशन धाउँदाकै जस्तो भद्र पहिरन र कोरीबाटीमा हुनु किन जरुरी छ?
६ अरू बेला पनि भद्र पहिरन र कोरीबाटीमा हुनु उत्तिकै जरुरी छ। जस्तै, होटेलमा हुँदा, पसलमा र रेस्टुराँमा जाँदा। अधिवेशनको कार्यक्रमपछि त्यतैबाट खाना खान जाँदै हुनुहुन्छ भने अधिवेशन धाउँदाकै पहिरनमा जानु राम्रो हो। साथै, अधिवेशनको बिल्ला पनि लगाइराख्यौं भने साक्षी दिने मौका मिल्न सक्छ।—२ कोरि. ६:३, ४.
७. अधिवेशनको व्यवस्थितपन र आनन्दमा हामी कसरी योगदान पुऱ्याउन सक्छौं? (“जिल्ला अधिवेशनका सम्झौटाहरु” हेर्नुहोस्।)
७ यशैयाले यस्तो भविष्यवाणी गरे: “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ।” (यशै. ३०:१८क, NRV) यहोवाको दया र अनुग्रहप्रति हामी अति कृतज्ञ छौं। त्यसैले अधिवेशनमा हामी असल आचरण देखाएर र भद्र कोरीबाटी गरेर उहाँको महिमा गाउन उत्प्रेरित हुनुपर्छ। “छुटकारा नजिकै छ!” जिल्ला अधिवेशनले परमेश्वरलाई महिमित पारून् र हामीलाई उहाँको बाटो हेर्न मदत गरून्!
[पृष्ठ ५-मा भएको पेटी]
जिल्ला अधिवेशनका सम्झौटाहरू
▪ कार्यक्रमको समय: तीनै दिन कार्यक्रम बिहान ९:३० बजे सुरु हुनेछ। बिहान ८:०० बजे अधिवेशन भवनका ढोकाहरू खोलिनेछन्। कार्यक्रमको सुरुको गीत गाउनुअघि केही मिनेट बजाइने राज्य धुन बजिरहेको बेला अध्यक्ष मञ्चमा आएर बसिसकेका हुनेछन्। त्यतिखेर हामी सबै जना आ-आफ्नो सिटमा बस्नुपर्छ किनभने यसो गर्दा कार्यक्रम मर्यादित ढङ्गमा सुरु हुन सक्नेछ। पहिलो दिन कार्यक्रम ५:१५ मा र दोस्रो दिन साँझ ५:०५ मा समाप्त हुनेछ भने तेस्रो दिन चाहिं साँझ ४:१० मा समाप्त हुनेछ।
▪ पार्किङ: अधिवेशन स्थलका पार्किङ गर्ने ठाउँहरूमा पहिला आउने व्यक्तिलाई पहिलो प्राथमिकता दिएर पार्किङ गर्ने ठाउँ उपलब्ध गराइनेछ। अधिवेशनको बिल्ला लगाएको आधारमा पार्किङ गर्न दिइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले एउटा गाडीमा एक वा दुई जना मात्र आउनुभन्दा सकेसम्म एउटै गाडीमा जति जना अटाउँछ मिलाएर आउनुहोस्।
▪ सिट रोक्ने: एउटै घरमा बस्नेहरूका लागि मात्र सिट रोक्न सकिन्छ।
▪ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा बरु कृपया घरबाटै हल्काफुल्का खानेकुरा लिएर आउनुहोस्। सिटको मुन्तिर राख्न मिल्ने सानो झोला र टिफिन क्यारियरमा खाजा ल्याउन सक्नुहुन्छ। तथापि, आफूलाई र अरूलाई असुविधा पार्ने ठूल-ठूला भाँडाकुँडा वा सर-सामानचाहिं सामान राख्ने ठाउँ अर्थात् क्लोक रूममा राख्न सकिन्छ।
▪ अनुदान: जिल्ला अधिवेशनको प्रबन्ध मिलाउन खर्च धेरै हुन्छ। राज्यभवन वा अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “वाच टावर”-को नाउँमा भुक्तान गरिनुपर्छ।
▪ दुर्घटना तथा आपत्कालीन अवस्था: अधिवेशनस्थलमा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्, जसले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्। यसो गर्दा अधिवेशनस्थलमा भएका प्राथमिक उपचार गर्ने हाम्रा दक्ष भाइहरूले अवस्था कत्तिको गम्भीर छ र मदत गर्नुपर्छ कि पर्दैन, पक्का गर्नेछन्।
▪ बहिराहरूका लागि: सिकन्दरबाद अंग्रेजी भाषाको अधिवेशनमा बहिराहरूका लागि सांकेतिक भाषाको कार्यक्रम प्रबन्ध गरिएको छ।
▪ रेकर्डिङ: रेकर्ड गर्ने कुनै पनि किसिमका सामान अधिवेशन भवनको विद्युतीय वा ध्वनि प्रणालीमा जोड्नु हुँदैन र अरूलाई बाधा नपुऱ्याउने किसिमले मात्र यसलाई प्रयोग गर्न सकिन्छ।
▪ फोटो खिच्ने: कार्यक्रमको दौडान फोटो खिच्नुभयो भने क्यामराको फ्ल्यास् प्रयोग नगर्नुहोस्।
▪ पेजर तथा मोबाइल फोन: यिनीहरूलाई अरूको ध्यान भङ्ग नगर्ने किसिमले आवाज नआउने गरी मिलाएर राख्नुपर्छ।
▪ अत्तर अर्थात् पर्फ्युम लगाउनेबारे: कतिपय अधिवेशन खुल्ला ठाउँमा हुँदैनन्। एयर कन्डिसनयुक्त हलहरूमा हुन्छन्। त्यसैले, कडा बास्ना भएका पर्फ्युमहरू प्रयोग नगर्नु दयापूर्ण काम हुनेछ किनभने यसले श्वासप्रश्वास वा यस्तै अन्य समस्या भएकाहरूलाई गाह्रो बनाउन सक्छ।—१ कोरि. १०:२४.
▪ फलो-अप फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन प्लीज फलो अप (S-43) फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक वा दुइटा फलो-अप फाराम ल्याउनुपर्छ। यो फाराम अधिवेशनको साहित्य विभागमा पनि उपलब्ध गराइनेछ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीका सचिवलाई मण्डलीमै बुझाए पनि हुन्छ।—फेब्रुअरी २००५ अंकको हाम्रो राज्य सेवकाई, पृ. ६ हेर्नुहोस्।
▪ रेष्टुराँ: थुप्रै ठाउँमा सेवाअनुसार १५ देखि २० प्रतिशतसम्म टिप्स दिने चलन छ।
▪ होटेलहरू: (१) चाहिनेभन्दा बढी कोठाहरू रिजर्भ नगर्नुहोस् र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्। (२) आफूले गरेको रिजर्भेसन रद्द गर्नुपरेमा होटेललाई तुरुन्त खबर गरिहाल्नुहोस्। (३) सामान ओसारपसार गर्ने साधन अर्थात् लगेज कार्ट आवश्यक परेमा मात्रै चलाउनुहोस्। (४) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्। (५) कोठा सफा गर्ने हाउसकिपरको लागि हरेक दिन टिप्स छोडिराख्नुहोस्। (६) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने त्यस्ता सुविधाको हामी मसीहीहरूले दुरुपयोग गर्नु हुँदैन। (७) विशेष गरी एकदमै व्यस्त हुने समय चेक-इन र चेक-आउटको बेलामा होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा आत्माको फल प्रदर्शन गर्नुहोस्।