पारिवारिक तालिका—पारिवारिक क्षेत्र सेवा
१ साना केटाकेटीहरूले आफ्नो नाउँको प्रशंसा गरेको देख्दा यहोवा रमाउनुहुन्छ। (भज. १४८:१२, १३) येशूको समयमा ‘दूधे-बालक र काखका बालकहरूले’ समेत परमेश्वरको प्रशंसा गरे। (मत्ती २१:१५, १६) आज पनि त्यस्तै भइरहेको छ। आमाबाबुहरू हो, तपाईं कसरी आफ्ना छोराछोरीलाई मसीही सेवकाईमा यहोवाको जोसिलो प्रशंसक हुन मदत गर्न सक्नुहुन्छ? मण्डलीको सभामा माथिल्लो लेखमा जोड दिइएझैं यस सन्दर्भमा पनि तपाईंको उदाहरण एकदमै महत्त्वपूर्ण छ। अधिकांश आमाबाबुले अनुभव गर्ने कुरा एक जना बुबाले यसरी बताए: “केटाकेटीहरू तपाईंले भनेजस्तो गर्दैनन्। तपाईंले गरेजस्तै गर्छन्!”
२ ईश्वरभीरु परिवारमा हुर्किएकी एउटी बहिनीले आफ्नो विगत सम्झिंदै यसो भनिन्: “शनिबार बिहान सेवकाईमा जाने हो या होइन भनी कहिल्यै सोध्नु पर्दैन थियो। जाने हो भनेर हामीलाई पक्का थाह हुन्थ्यो।” त्यस्तै गरी, परिवारै मिलेर क्षेत्र सेवामा भाग लिनको लागि नियमित साप्ताहिक तालिका बनाएर तपाईं आफ्ना छोराछोरीलाई प्रचारकार्यको महत्त्व बुझाउन सक्नुहुन्छ। यसो गर्दा छोराछोरीले तपाईंको कामबाट सिक्नुका साथै तपाईं उनीहरूको मनोवृत्ति, चालचलन तथा उनीहरूले विकास गर्दै गरेका सीपहरू याद गर्न सक्नुहुन्छ।
३ प्रगतिशील प्रशिक्षण: छोराछोरीले सेवकाईबाट आनन्द उठाउनको लागि सेवकाईमा प्रभावकारीसाथ भाग लिन उनीहरूलाई तयार पार्नुपर्छ। सुरुमा उल्लिखित बहिनीले अझै यसो भनिन्: “आमाबाबुसित प्रचारमा जाँदा हामी उहाँहरूको पछि पछि लाग्ने मात्रै गर्दैन थियौं। घण्टी बजाएर होस् या हातेपर्ची मात्र छाडेर होस्, हामीले पनि भाग लिनै पर्छ भनेर हामीलाई थाह थियो। हामी सप्ताहन्त आउनुअगावै होशियारीपूर्वक पूर्वतयारी गर्थ्यौं। त्यसैकारण हामीलाई के बताउने थाह हुन्थ्यो।” पारिवारिक अध्ययनको दौडान होस् वा अरू नै समय, सेवकाईको लागि तयारी गर्न हरेक हप्ता केही मिनेट समय निकालेर तपाईं आफ्ना छोराछोरीलाई यस्तो प्रशिक्षण दिन सक्नुहुन्छ।
४ पारिवारिक रूपमा सँगै प्रचार गर्दा तपाईंले छोराछोरीको मनमा सच्चाइ हालिदिने थप मौका पाउनुहुनेछ। नजिकैको उपत्यकाका गाउँलेहरूलाई पर्चाहरू वितरण गर्न एकतर्फी बाटो मात्र १० किलोमिटर हिंडेर जाँदा एक जना मसीही बुबाले आफ्नी छोरीलाई पनि सँगै लैजान्थे। प्रफुल्ल हुँदै तिनी आफ्नो विगत सम्झिन्छिन्, “त्यसरी हिंडेर गएको बेलै हो बुबाले मेरो हृदयमा सच्चाइ हालिदिनुभएको।” (व्यव. ६:७) क्षेत्र सेवालाई आफ्नो साप्ताहिक पारिवारिक तालिका बनाउँदा तपाईंले पनि यसै गरी इनाम पाऊन्।