आमाबाबु हो, प्रचारकार्यमा आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्
१ आफ्नो परिवारलाई प्रशस्त हेरविचार र ध्यान दिनु कत्ति महत्त्वपूर्ण छ! पावलले तिमोथीलाई यस्तो लेख: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमो. ५:८) आध्यात्मिक अर्थमा ख्रीष्टियान आमाबाबुको प्रमुख जिम्मेवारीहरूमध्ये एउटा तिनीहरूसित अध्ययन गर्नु र तिनीहरूलाई प्रशिक्षण दिनु हो। (व्यव. ६:६, ७; एफि. ६:४; १ तिमो. ४:१५, १६) परिवारमा पाइने प्रशिक्षणले गर्दा पछि गएर छोराछोरी पनि राज्यको सुसमाचार फैलाउने योग्य सेवक बन्न सक्नेछन्।—२ तिमो. २:१, २.
२ आफ्ना छोराछोरीसित प्रचारकार्यमा सँगै काम गर्न आमाबाबुले नियमित रूपमा समय मिलाउनुपर्छ। यस्तो गर्नु सधैं सजिलो हुँदैन। तर नियमित तवरमा प्रचारकार्यमा समय बिताउँदा धेरै आशिष् पाइन्छन् भन्ने कुरामा हामी कसैको दुई मत छैन। छोराछोरीलाई नियमित रूपमा सँगै लैजाँदा प्रचारकार्य कत्तिको महत्त्वपूर्ण छ भनी तिनीहरूले बुझ्नेछन्। प्रचारकार्यमा अझ धेरै भाग लिंदै, आफ्नो क्षमता तिखार्दै र आफ्नो कार्यमा यहोवाको आशिष् महसुस गर्दै जाँदा तिनीहरूको आनन्द बढ्नेछ।—भज. ७१:१७.
३ आफ्ना छोराछोरीलाई प्रचारकार्यको मोल गर्न र त्यसमा रमाउन तपाईं कसरी मदत गर्न सक्नुहुन्छ? प्रचारकार्यमा तिनीहरू पनि कसरी भाग लिन सक्छन् भनी देखाउनुहोस्। प्रचारकार्यका लागि सँगै बसेर तयारी गर्नुहोस्। मायालु चासो दिइएको केटाकेटीहरू मन पराउँछन्। फलस्वरूप यस्तो एकपछि अर्को प्रशिक्षण पाउँदै जाँदा तिनीहरूले उन्नति गर्ने मदत पाउँछन्। घरघरको प्रचारकार्यमा भाग लिंदा उमेरअनुसार तिनीहरूलाई ध्यान दिन वा घरधनीलाई कुनै निम्तो वा पर्चा दिन सिकाउन सकिन्छ। प्रगति गर्दै जाँदा तिनीहरूलाई कुनै एउटा शास्त्रपद पढ्न लगाउन सक्नुहुन्छ। थुप्रै केटाकेटीहरू पत्रिका प्रस्तुत गरेर साक्षी दिन रमाउँछन्। पत्रिका प्रस्तुत गर्ने सरल तरिका सजिलै सिक्न सकिन्छ। आमाबाबुले छोराछोरीलाई नयाँ पत्रिकाहरूमा कुराकानी गर्न प्रयोग गर्न सकिने राम्रा बुँदाहरू भेट्टाउन र प्रभावकारी तरिकामा प्रस्तुति गर्न मदत दिन सक्छन्। नियमित र प्रगतिशील ढङ्गमा आमाबाबुले शिक्षा र प्रशिक्षण दिंदा राम्रा परिणामहरू प्राप्त हुन्छन्।—एफि. ४:१३, १४.
४ बप्तिस्मा नलिएका थुप्रै केटाकेटीले पनि प्रचारकार्यमा भाग लिइरहेका छन्। यो देखेर हामीलाई खुसी लाग्छ। (मत्ती १९:१३-१५) सायद सानो उमेरको भएकोले तिनीहरूले समर्पणको अर्थ पूर्णतया नबुझ्लान्। तर समय स्थिर रहिरहँदैन। त्यसैकारण आमाबाबुले छोराछोरीलाई प्रगति किन गर्नुपर्छ भनी बुझ्न र पछि गएर समर्पण तथा बप्तिस्माका लागि कदमहरू चाल्न मदत गर्नुपर्छ। तपाईंका छोराछोरीले यहोवाको डोऱ्याइबमोजिम अनुशासन र चेतावनी दिंदा कस्तो प्रतिक्रिया देखाउँछन्? घर र मण्डलीमा सिकेका कुराहरू के तिनीहरू लागू गर्छन्? स-साना प्रकाशकहरूले प्रगति गर्दै जानेछन् र तिनीहरूमा यहोवाप्रतिको प्रेम अनि उहाँको सेवा गर्ने इच्छा बढ्दै जानेछ भनी हामी आशा गर्छौं।