सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउने
१. सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउन प्रारम्भिक मसीहीहरूले के गरे?
१ येशूका प्रारम्भिक अनुयायीहरूले राज्यको सन्देश फैलाउने निष्कपट कोसिस गरे। सकेसम्म धेरै मानिसहरूलाई सुसमाचार सुनाउन तिनीहरूले प्रभावकारी तरिकाहरू अपनाए। मसीही बाइबल लेखकहरूले आफ्ना ईश्वरप्रेरित लेखोटहरू बोलीचालीको युनानी भाषामा लेखे, जुन रोमी साम्रज्यको प्रमुख भाषा थियो। त्यति मात्र होइन, सा.यु. दोस्रो तथा तेस्रो शताब्दीपछिका जोसिला प्रचारकहरू कोडेक्स प्रयोग गर्ने प्रथम व्यक्तिहरू हुनुपर्छ र सन्दर्भ-सामग्री हेर्नको लागि बेरुवाभन्दा त्यो कोडेक्स चलाउनु निकै सजिलो थियो।
२, ३. (क) यशैया ६०:१६ आधुनिक समयमा कसरी पूरा हुँदैछ? (ख) शुद्ध उपासनालाई अघि बढाउन कसरी प्रविधिको प्रयोग भइरहेको छ?
२ प्रविधिको प्रयोग: अगमवक्ता यशैयामार्फत यहोवाले यस्तो भविष्यवाणी गर्नुभयो: “तैंले जाति जातिहरूका दूध . . . चुस्नेछस्।” (यशै. ६०:१६) यस भविष्यवाणीको आधुनिक पूर्तिअनुसारै प्रचारकार्यलाई गति दिन यहोवाका सेवकहरूले जाति-जातिहरूका बहुमूल्य स्रोतसाधनहरू सदुपयोग गरिरहेका छन्। उदाहरणको लागि, सन् १९१४ मा आवाजसहितका चलचित्रहरू व्यापारिक दृष्टिकोणले सफल हुनअघि नै बाइबल विद्यार्थीहरूले “फोटो-ड्रामा अफ क्रिएशन” देखाउन थालिसकेका थिए। रङ्गीन तथा आवाजसहितको त्यो आठ-घण्टा लामो चलचित्र र स्लाइड प्रस्तुतिले लाखौं मानिसहरूलाई जोडदार साक्षी दिन मदत गऱ्यो।
३ आज, सयौं भाषामा बाइबल तथा बाइबल साहित्यहरू छाप्न परमेश्वरका जनहरूले द्रुतगतिमा चल्ने छापाखाना तथा कम्प्युटराइज साधनहरूको सदुपयोग गर्छन्। तीव्र गतिमा चल्ने सवारी साधनले बाइबल साहित्यहरू पृथ्वीको अन्तसम्मै अर्थात् २३५ मुलुकका मानिसहरूकहाँ पुऱ्याउँछ। इतिहासमै पहिलो चोटि धेरैभन्दा धेरै मानिसहरूलाई बाइबल सत्य उपलब्ध गराउन पवित्र आत्माद्वारा यहोवाले आफ्ना सेवकहरूलाई यस्तो प्रविधि प्रभावकारी ढङ्गमा प्रयोग गर्न अभिप्रेरित गर्नुभएको छ।
४. धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन कसै-कसैले कस्ता छाँटकाँटहरू गरेका छन्?
४ व्यक्तिगत छाँटकाँट: धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन साँचो उपासकहरू व्यक्तिगत रूपमा छाँटकाँटहरू गर्न पनि अभिप्रेरित भएका छन्। प्रचारकार्यमा अझ बढी भाग लिन धेरैले आफ्नो जीवनलाई सरल बनाएका छन्। कतिपय राज्य उद्घोषकहरूको आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न बसाइँ सरेका छन्। अरूले चाहिं नयाँ भाषा सिकेर आफ्नो सेवकाई विस्तार गरेका छन्।
५, ६. स्थानीय इलाकामा सकेसम्म धेरै मानिसहरूलाई प्रचार गर्न के गर्न सकिन्छ?
५ यसबाहेक, मानिसहरू घरमा भएको बेला अनि मानिसहरू भेटिने ठाउँमा प्रचार गरेर पनि हामी धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सक्छौं। तपाईंको इलाकाका मानिसहरूलाई दिउँसो घरमा भेट्न सकिंदैन भने, के तपाईं साँझपख साक्षी दिन आफ्नो तालिकामा छाँटकाँट गर्न सक्नुहुन्छ? साक्षी दिन सकिने सार्वजनिक स्थलहरू छन् कि? टेलिफोन साक्षी दिने अथवा व्यापारिक इलाकामा काम गर्ने कोसिस गर्नुभएको छ? के तपाईं अनौपचारिक रूपमा साक्षी दिने मौका खोज्नुहुन्छ?
६ यहोवाको नाउँ अनि उहाँको राज्यबारे दिइँदै गरेको अद्भुत साक्षीकार्यमा सहभागी हुन पाउनु हाम्रो लागि कस्तो ठूलो सुअवसरको कुरा हो! हामी धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको वचनबाट जीवनदायी सत्य सुनाइरहन सकौं।—मत्ती २८:१९, २०.