के तपाईंले अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका चलाइरहनुभएको छ?
१ यदि तपाईंले इच्छुक व्यक्तिसित एकैछिन भए पनि कुनै सुझावित प्रकाशनबाट नियमित तथा सिलसिलेवार ढंगमा बाइबल छलफल गर्नुभएको छ भने, तपाईंले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको हुन्छ भनेर के तपाईंलाई थाह छ? हो, घरको ढोकामा वा टेलिफोनमा नै किन नहोस्, यदि यस प्रकार अध्ययन गर्नुभएमा यसलाई बाइबल अध्ययन मान्न सकिन्छ। मे र जून महिनाको दौडान चाहनुहुन्छ पुस्तिका चलाएर यस्तै अध्ययन सुरु गर्न विशेष प्रयत्न गरे कसो होला?
२ सफलताको लागि तयारी गर्नुहोस्: चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहुँदा, तपाईं के विषयमा छलफल गर्न चाहनुहुन्छ पक्का गर्नुहोस्। यदि तपाईं पुनःभेट गर्दै हुनुहुन्छ भने, पहिलो भेटमा गरेको वार्तालापको विषय सम्झनुहोस्। आफैलाई सोध्नुहोस्: ‘पहिलो भेटमा गरिएको छलफललाई अघि बढाएर बाइबल अध्ययन सुरु गर्न पुस्तिकाका कुन-कुन अनुच्छेदलाई म चलाउन सक्छु?’ तपाईं घर-घरको प्रचार कार्यमा भाग लिइरहनुभएको छ भने, किशोर, वृद्ध, पुरुष वा स्त्रीलाई कस्ता विषयहरू रोचक लाग्नेछन्, विचार गर्नुहोस्। पुस्तिकाका मुख्य विषयहरू पुनरावलोकन गर्नुहोस् र चासो जगाउने विषय छान्नुहोस्। वार्तालाप कसरी सुरु गर्ने निर्णय गरिसकेपछि धेरै चोटि अभ्यास गर्नुहोस्। यो सफलताका कुञ्जीहरूमध्ये एक हो।
३ जनवरी २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्टले आठवटा “चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नका लागि सुझाउहरू” दिन्छ। “सीधै प्रस्ताव राख्ने” भन्ने पेटीले अध्ययन सुरु गर्न कसरी पुस्तिका चलाउन सकिन्छ भनी देखाउँछ। तपाईं पहिलो सुझाउ यस प्रकार प्रयोग गर्न सक्नुहुन्छ:
◼ “केही मिनेटमै तपाईं एउटा महत्त्वपूर्ण बाइबल प्रश्नको जवाफ पाउन सक्नुहुन्छ भन्ने कुरा के तपाईंलाई थाह थियो? उदाहरणका लागि, मसीही भनौंदा धर्महरू किन छ्यासछ्यास्ती भएका होलान्? के तपाईंले यस विषयमा कहिल्यै सोच्नुभएको छ?” घरधनीले प्रतिक्रिया जनाइसकेपछि पाठ १३ पल्टाउनुहोस् र पहिलो दुई अनुच्छेद छलफल गर्नुहोस्। समयले भ्याएमा, एउटा वा दुइटा शास्त्रपद पढ्नुहोस् र छलफल गर्नुहोस्। त्यसपछि सोही पृष्ठको माथि दिइएको अन्तिम प्रश्न पढ्नुहोस् र यसो भन्नुहोस्: “बाँकी पाठले साँचो धर्म चिन्ने पाँचवटा मुख्य बुँदा प्रकाश पार्छ। यी बुँदाहरू अर्को पटक आएर तपाईंसित छलफल गर्न म खुसी हुनेछु।”
४ लगनशील हुनुहोस्: चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन गर्ने तरिका प्रदर्शन गरेर देखाउन हरेक अवसरको फाइदा उठाउनुहोस्। यहोवाको आशिष् माग्नुहोस्। (मत्ती २१:२२) लगातार प्रयत्न गरिरहनुभयो भने, तपाईं अरूलाई सुसमाचार स्वीकार्न मदत गर्दा मिल्ने आनन्द अनुभव गर्न सक्नुहुन्छ!