अनुहारको भाव पढेर—चासो देखाऔं
१ घरघर प्रचार गर्दा होस् वा सार्वजनिक स्थलमा साक्षी दिंदा, हामी कुराकानी थाल्नुअघि अक्सर पहिला मानिसको अनुहारमा हेर्छौं। हामीलाई देख्दा मानिसहरूले कस्तो महसुस गर्छन् र भन्ने हो भने उनीहरू कस्तो मुडमा छन्, त्यो पनि अनुहारको भाव पढेर बुझ्न सक्छौं। त्यसै गरी उनीहरूले पनि हाम्रो अनुहार हेरेरै धेरै कुरा थाह पाउन सक्छन्। एक साक्षीसँग कुरा गर्दाको क्षण सम्झँदै एउटी आइमाईले यसो भनिन्: “मैले अहिलेसम्म भुल्न नसकेको कुरा के हो भने, तिनको शान्त हँसिलो मुहार। त्यसले गर्दा मलाई तिनको कुरा सुनौ-सुनौ जस्तो लाग्यो।” यसरी ती आइमाईको लागि सुसमाचार सुन्ने बाटो खुल्यो।
२ सडक साक्षीकार्य वा अन्य सार्वजनिक स्थलहरूमा प्रचार गर्दा पहिला मानिसको अनुहार हेर्नु एउटा प्रभावकारी तरिका हो। एउटा भाइ आफूतिर आउँदै गरेका मानिसहरूको अनुहारमा हेर्छन् र ठ्याक्क देखादेख भएपछि तिनी मुसुक्क हाँस्छन् अनि पत्रिका प्रस्तुत गर्छन्। यसरी तिनी फलदायी वार्तालाप गर्न र थुप्रै पत्र-पत्रिका दिन सफल भएका छन्।
३ अरूको भावना बुझ्नुहोस्: मानिसको अनुहारमा हेरेर कुरा गर्दा उनीहरूको भावना बुझ्न सक्छौं। उदाहरणका लागि, यदि कसैलाई हाम्रो कुरा बुझ्न गाह्रो भइरहेको छ वा कुरा चित्त बुझिरहेको छैन भने साधारणतया अनुहारमा देखिहाल्छ। तिनी व्यस्त छन् वा तिनको मनमा छटपट-छटपट हुन थालेको छ भने पनि अनुहारको हाउभाउबाट बुझिहाल्छ। तब हामीले त्यसैअनुसार प्रस्तुति ढाल्न वा छोट्याउन सक्छौं। चासो देखाउने एउटा उत्तम तरिका अरूको भावना बुझेर हो।
४ निष्कपटता र आत्म-विश्वास: कतिपय समाजमा अरूको अनुहार हेरेर कुरा गर्ने मान्छेलाई इमानदार भनिन्छ। येशूका चेलाहरूले उहाँलाई “कसले उद्धार पाउनसक्छ त?” भनी प्रश्न गर्दा उहाँले के गर्नुभयो, याद गर्नुहोस् त: “तिनीहरूमाथि नजर गरेर भन्नुभयो, ‘मानिसहरूबाट ता यो असम्भव छ, तर परमेश्वरबाट सबै कुरा सम्भव छ।’” (मत्ती १९:२५, २६) निश्चय पनि येशूको अनुहारमा झल्किएको आत्म-विश्वासले गर्दा उहाँको कुरालाई अझ सशक्त बनायो। त्यसै गरी, हामीले पनि अनुहारमै हेरेर राज्य सन्देश निष्कपटता र आत्म-विश्वाससहित बताउन सक्छौं।—२ कोरि. २:१७; १ थिस्स. १:५.