अध्याय १३
अनुहार हेरेर कुरा गर्नुहोस्
हाम्रो मनोवृत्ति र भावना आँखाबाटै झल्किन्छ। आँखाले अचम्म लागेको वा डराएको कुरा देखाउँछ। आँखाबाटै अनुकम्पा वा माया देखाउन सकिन्छ। कहिलेकाहीं जति लुकाउन खोजे तापनि आँखाबाट शङ्का र पीडा पनि व्यक्त भइरहेको हुन्छ। धेरै दुःख भोगेका आफ्ना देशवासीका विषयमा एक जना वृद्धले यसो भने: “हाम्रो आँखा हेर्नुहोस्, आँखाले नै जवाफ दिन्छन्।”
हामी कता हेरिरहेका छौं त्यसैको आधारमा मानिसले हामीबारे र हामीले भन्ने कुराबारे अनुमान लगाउँछन्। कतिपय संस्कृतिमा आफूसित मित्रैलो तरिकाले आँखामा नै हेरेर कुरा गर्ने व्यक्तिलाई भरोसा गर्ने झुकाव छ। यसको ठीक विपरीत भुइँतिर हेरेर वा अन्त कतै हेरेर कुरा गर्ने व्यक्तिलाई मानिसहरू त्यति भरोसा गर्दैनन्। बरु उसको योग्यतामा शङ्का गर्न सक्छन्। तर कतिपय ठाउँमा भने आँखामा नै हेरेर कुरा गर्नुलाई असभ्य भएको, रिस देखाएको वा हाँक दिएको ठानिन्छ। विशेषगरि लोग्नेमान्छेले स्वास्नीमान्छेलाई वा स्वास्नीमान्छेले लोग्नेमान्छेलाई एकटक लगाएर हेर्दा अथवा मान्यजन वा उच्च ओहदाको व्यक्तिसित आँखामै हेरेर कुरा गर्दा यस्तो ठानिन्छ। अनि कतिपय ठाउँमा कम उमेरका व्यक्तिले पाका व्यक्तिको आँखामै हेरेर कुरा गर्दा अनादर गरेको ठानिन्छ।
तर असभ्य ठानिंदैन भने आँखामै हेरेर कुराकानी गर्दा महत्त्वपूर्ण कुरामा अझै जोड दिन सक्छौं। आँखामै हेरेर बोल्ने व्यक्ति आफ्नो कुरामा विश्वस्त छन् भन्ने बुझिन्छ। एक पटक चेलाहरूले असाध्यै छक्क पर्दै येशूलाई सोधे: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?” येशूले के गर्नुभयो? बाइबलमा यस्तो लेखिएको छ: “सीधै तिनीहरूको अनुहारमा हेरेर येशूले भन्नुभयो: ‘मानिसहरूको तर्फबाट यो असम्भव छ तर परमेश्वरको तर्फबाट भने सबै कुरा सम्भव छ।’” (मत्ती १९:२५, २६) प्रेषित पावलले पनि आफ्ना श्रोताको प्रतिक्रिया ध्यान दिएर हेरेको विवरण बाइबलमा बताइएको छ। एक पटक पावलले कुरा गरिरहँदा गर्भैदेखि लङ्गडो व्यक्ति त्यहीं थियो। त्यसबारे प्रेषित १४:९, १० मा यस्तो लेखिएको छ: “यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरिरहेका थिए र उसलाई निको पार्न लायकको विश्वास उसमा छ भन्ने देखेपछि ठूलो सोरमा तिनले यसो भने: ‘आफ्नो खुट्टाको भरमा सीधा भएर उठ।’”
प्रचारको लागि केही सुझाव: प्रचारमा मानिसहरूसित कुरा गर्दा मित्रैलो हुनुहोस् र न्यानोपन झल्काउनुहोस्। उपयुक्त हुँदा चासो लाग्ने साझा विषयमा कुराकानी थाल्न विचार बुझ्ने प्रश्न सोध्नुहोस्। यसो गर्दा आँखामा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस् वा मिल्दैन भने आदरपूर्वक र दयालु तरिकामा अनुहारमा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्। आँखाबाटै खुसी व्यक्त गर्न सक्ने व्यक्ति मुसुक्क हाँसेका छन् भने हाम्रो पनि मन रमाउँछ। यस्तो भावबाट अर्को व्यक्तिले तपाईंबारे धेरै कुरा जान्न सक्छन् र कुराकानी गर्दा तपाईंले पनि तिनलाई निकै सजिलो महसुस गराइरहनुभएको हुन्छ।
अरूको आँखामा हेर्नु उपयुक्त ठानिन्छ भने आँखाको भाव पढेर अब के गर्ने वा के भन्ने, छनक पाउन सक्नुहुन्छ। कुनै व्यक्ति रिसाएका छन् कि अथवा तिनलाई चासो छैन कि, तिनको आँखा हेरेर थाह पाउन सक्नुहुन्छ। तपाईंले भनेको कुरा तिनले बुझेनन् भने पनि चाल पाउन सक्नुहुन्छ। तिनी अधीर भइरहेका छन् भने त्यो पनि तपाईं आँखामा हेरेरै ठम्याउन सक्नुहुन्छ। तिनलाई धेरै चासो छ भने त्यो पनि देखिन्छ। तिनको आँखाको भाव हेरेर तपाईंले कुरा गरिरहेको गति थपघट गर्नुपर्ने हो कि, तिनलाई कुराकानीमा समावेश गर्न अझै प्रयास गर्नुपर्ने हो कि, कुराकानी चट्टै रोक्नुपर्ने हो कि अथवा बाइबल अध्ययन गर्ने तरिका देखाउने हो, सबै थाह पाउन सक्नुहुन्छ।
साक्षी दिइरहेको होस् वा गृह बाइबल अध्ययन गराइरहेको होस्, आदरपूर्वक घरधनीको आँखामा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्। तर तिनलाई एकोहोरो नहेर्नुहोस्। यसो गर्दा तिनलाई अप्ठ्यारो महसुस हुन सक्छ। (२ राजा ८:११; NRV) स्वाभाविक र मित्रैलो तरिकामा घरधनीको अनुहार बेलाबेलामा हेर्नुहोस्। धेरै ठाउँमा यसलाई निष्कपट चासो लिएको ठानिन्छ। हुन त बाइबल पढ्दा वा अन्य प्रकाशन पढ्दा तपाईंले छापा नै हेर्नुपर्छ। तर कुनै बुँदालाई जोड दिन घरधनीको आँखामा नै पुलुक्क हेर्नुहुन्छ होला। पढ्दै गर्दा बेलाबेलामा घरधनीलाई हेर्दा तिनको प्रतिक्रिया बुझ्न सकिन्छ।
अनुहार हेरेर कुरा गर्न तपाईंलाई लाज लाग्छ भने हार नमान्नुहोस्। अभ्यास गर्दा यस्तो समस्यामाथि विजयी हुन सक्नुहुन्छ। यसरी अनुहार हेरेर कुरा गर्दा तपाईंको कुराकानी अझै प्रभावकारी हुन्छ।
भाषण दिंदा अनुहार हेरेर कुरा गर्नुहोस्। येशूले डाँडामा उपदेश दिन थाल्नुअघि “नजर उठाएर चेलाहरूलाई हेर्नुभयो” भनी बाइबल बताउँछ। (लूका ६:२०) उहाँको उदाहरणबाट सिक्नुहोस्। थुप्रै मानिससामु बोल्दै हुनुहुन्छ भने नजर उठाएर उनीहरूलाई हेर्नुहोस्। बोल्नुअघि केही बेर रोकिनुहोस्। यसरी एकैछिन रोकिंदा प्रायजसो वक्ता केही श्रोताको आँखामा हेर्ने गर्छन्। यसो गर्दा तपाईं पनि धक फुकाएर भाषण थाल्न सक्नुहुन्छ। साथै श्रोताले पनि तपाईंको अनुहारको भाव पढेर शान्तसित बस्न र तपाईंलाई आफ्नो सम्पूर्ण ध्यान दिन सक्छन्।
भाषण दिइरहँदा पनि श्रोतालाई हेर्नुहोस्। श्रोतालाई सरसरती मात्र हेर्ने होइन, व्यक्ति-व्यक्तिलाई हेर्ने प्रयास गर्नुहोस्। अधिकांश ठाउँमा वक्ताले केही बेर श्रोताको आँखामा हेरेर बोलेको आशा गरिन्छ।
श्रोतालाई हेर्नु भनेको एक कुनाबाट अर्को कुनासम्म सरसरती हेर्नु मात्र होइन। श्रोतामध्ये कसैलाई आदरपूर्वक हेरेर उपयुक्त भए पूरै वाक्य बताउनुहोस्। त्यसपछि अर्को व्यक्तिलाई हेर्नुहोस् र एउटा-दुइटा वाक्य तिनलाई बताउनुहोस्। तर तिनलाई अप्ठ्यारो महसुस हुनेगरि धेरै बेरसम्म नहेर्नुहोस्। सधैं एक-दुई जनालाई मात्रै हेरेर कुरा गर्ने पनि नगर्नुहोस्। यसरी प्रत्येक श्रोतालाई हेर्दै तिनीसित कुरा गर्दा तिनले कस्तो प्रतिक्रिया देखाए, त्यो याद गरिसकेपछि मात्र अर्को श्रोतालाई हेरेर कुरा गर्नुहोस्।
श्रोतालाई हेर्दा र आफ्नो टिपोटमा हेर्दा शिर ननिहुराई आँखा मात्रै तलमाथि गरे पुग्नेगरि टिपोटलाई कागज राख्ने स्ट्यान्डमा वा हातैमा अथवा बाइबलमा राख्नुहोस्। त्यसो गर्दा श्रोतालाई हेरेर भाषण दिन सक्नुहुन्छ, अन्यथा टिपोट हेर्न छिनछिनमा शिर निहुराउँदा श्रोतालाई हेर्दै कुराकानी गर्न सकिंदैन। तपाईं कति पटक र कहिले टिपोट हेर्नुहुन्छ, विचार गर्नुपर्छ। भाषणको अन्ततिर मुख्य बुँदालाई जोड दिने बेला श्रोतालाई नभई टिपोट मात्रै हेर्दै हुनुहुन्छ भने श्रोताको प्रतिक्रिया हेर्न सक्नुहुन्न। साथै तपाईंको भाषण फितलो हुन जान्छ। तपाईंले भाषणभरि टिपोट मात्रै हेर्नुभयो भने श्रोताको अनुहार हेरेर कुराकानी गर्न सक्नुहुन्न।
बल पास गर्दा अर्को व्यक्तिले समाते कि समातेनन् तपाईं त्यो हेर्नुहुन्छ। भाषणमा तपाईंले व्यक्त गर्ने प्रत्येक विचार प्रत्येक पटक बललाई श्रोतातिर “पास गर्नु” जस्तै हो। अनि श्रोताले शिर हल्लाएर, मुस्कुराएर, ध्यानसित हेरेर बल “समातेको” सङ्केत दिन सक्छन्। अनुहार हेरेर कुरा गर्नुभयो भने तपाईंको कुरा श्रोताले “समातिरहेका” छन् कि छैनन्, त्यो बुझ्न मदत पाउनुहुन्छ।
सभामा पढ्ने भाग छ भने पढ्दा श्रोतालाई हेर्ने प्रयास गर्नुपर्छ र? बाइबल पढ्दा श्रोताले तपाईंलाई पछ्याइरहेका छन् भने धेरैजसोले त तपाईंले तिनीहरूलाई हेरिरहनुभएको छ कि छैन याद गर्न सक्दैनन्। तर श्रोतालाई हेर्दा तपाईं श्रोताको प्रतिक्रिया थाह पाउन सक्नुहुन्छ र जोसका साथ पढ्न सक्नुहुन्छ। अनि बाइबल खोलेर नहेर्ने वा मन अन्तै डुलाइरहेका श्रोतासित आँखा जुध्दा तिनीहरूले पढिंदै गरेको कुरामा फेरि ध्यान दिन मदत पाउनेछन्। हुन त तपाईं तिनीहरूलाई केही क्षण मात्र हेर्न सक्नुहुन्छ। त्यसैकारण आफ्नो पढाइ नरोकिनेगरि तिनीहरूलाई हेर्नुहोस्। त्यसैले बाइबललाई हातैमा लिनु र शिर ननिहुराई सीधै हेर्नु उपयुक्त हुन्छ।
कहिलेकाहीं अधिवेशनहरूमा एल्डरहरूलाई पाण्डुलिपिबाट भाषण दिन लगाइन्छ। प्रभावकारी ढङ्गमा यसो गर्न अनुभवी हुनुपर्छ, ध्यान दिएर तयारी गर्नुपर्छ र धेरै पटक अभ्यास गर्नुपर्छ। हो, पाण्डुलिपिबाट भाषण दिंदा श्रोतालाई त्यति हेर्न सकिंदैन। तर वक्ताले राम्ररी तयारी गरेका छन् भने आफू पाण्डुलिपिको कुन ठाउँमा पुगेको छु भन्ने कुरा नबिर्सी श्रोतालाई बेलाबेलामा हेर्न सक्छन्। यसो गर्दा तिनले श्रोताको ध्यान भङ्ग हुन नदिन र प्रस्तुत गरिएको महत्त्वपूर्ण आध्यात्मिक निर्देशनबाट पूर्णतया लाभ उठाउन श्रोतालाई मदत दिइरहेका हुनेछन्।