तिनीहरूले विश्वासीपनको नमुना बसालेका छन्
१ सन् १९३७ मा पूर्ण-समय सेवाको एउटा नयाँ पक्ष अर्थात् विशेष अग्रगामी सेवा सुरु भयो। मसीही सेवकाईमा अनुभवी र योग्य भाइबहिनीहरू संगठनले खटाएको जुनसुकै ठाउँमा सेवा गर्न खुसीसाथ राजी भए। अहिले दशकौंपछि पनि विशेष अग्रगामीहरूले विश्वासीपनको नमुना बसालिरहेका छन् जुन अनुकरण गर्न योग्य छ।—हिब्रू ६:१२.
२ तिनीहरूले नेतृत्व लिए: पहिले-पहिलेका विशेष अग्रगामीहरूले फोनोग्राफ प्रयोग गरेर घर-घरको प्रचारकार्यमा नेतृत्व लिए। तिनीहरू पुनःभेटमा जाँदा बाइबल छलफल अघि बढाउन रेकर्ड गरिएका बाइबल भाषणहरू पनि फोनोग्राफमा बजाएर सुनाउँथे। यो तरिका, मण्डलीहरू स्थापित भइसकेका ठूला सहरहरूमा अपनाइन्थ्यो। पछि, विशेष अग्रगामीहरूलाई राज्य प्रचारकहरूको आवश्यकता बढी भएको इलाकाहरूमा पठाइयो। तिनीहरूले चासो देखाउने सबैलाई पुनःभेट गरे र बाइबल अध्ययन सञ्चालन गरे। तिनीहरूको अथक प्रयासको नतिजा नि? थुप्रै मण्डली स्थापित भए। यसरी तिनीहरूले गरेका अथक प्रयासले संगठन विस्तार हुनुमा ठूलो योगदान पुऱ्याएको छ, जुन संगठनको हामी अहिले भाग हुन पाएका छौं। (यशै. ६०:२२) विशेष अग्रगामीहरूले “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गर्न अहिले पनि ठूलो भूमिका खेलिरहेका छन्।—कल. १:२३.
३ अनुकरण गर्न योग्य: केही विशेष अग्रगामीहरूले पूर्ण-समय सेवा गरेको दशकौं भइसक्यो। वर्षौंको दौडान यी वफादार भाइबहिनीहरूले विभिन्न परिस्थितिबाट गुज्रेर आफ्नो विश्वासलाई खारेका छन्। (१ पत्रु. १:६, ७) विशेष आवश्यकता भएको ठाउँमा गएर सेवा गर्न तिनीहरूले भौतिक सुख-सुविधाहरू राजीखुसीले त्यागेका छन्। तिनीहरूमध्ये कोही-कोही अहिले वृद्ध भइसकेकोले तिनीहरूको स्वास्थ्य कमजोर भएको छ वा तिनीहरूले अरू कठिन परिस्थिति झेल्नु परेको छ। (२ कोरि. ४:१६, १७) भारतमा राज्य गतिविधिको लागि आर्थिक सहयोग जुटाउन गाह्रो परिस्थिति खडा भएपछि ती विशेष अग्रगामीहरूमध्ये थुप्रैले आफ्नो त्यो अमूल्य सुअवसर अर्थात् विशेष अग्रगामी सेवा छोड्नुपऱ्यो। तैपनि तिनीहरूले “बूढेसकालमा पनि फल” फलाइरहेका छन्। (भज. ९२:१४) तिनीहरूले यहोवामा भरोसा राख्छन् र आशिष् पाउँछन्।—भज. ३४:८; हितो. १०:२२.
४ विशेष अग्रगामीहरू साँच्चै हाम्रो प्रशंसा पाउन योग्यका छन्। यदि तपाईंको मण्डलीमा विशेष अग्रगामी छन् वा पहिला विशेष अग्रगामी गरिसकेका भाइबहिनीहरू छन् भने, तिनीहरूसित समय बिताउनुहोस् र तिनीहरूको अनुभवबाट फाइदा उठाउनुहोस्। विश्वासीपूर्वक परमेश्वरको राज्यको प्रचार गरेकोमा तिनीहरूको प्रशंसा गर्नुहोस्। तिनीहरूको दृढ अडानबाट बल पाउनुहोस्। तिनीहरूले बसालेको विश्वासीपनको नमुना पछ्याउने सबैले तिनीहरूले जस्तै यहोवाको अनुग्रह र आशिष् पाउन सक्छन् किनभने “इमान्दार मानिससित उहाँ प्रसन्न हुनुहुन्छ।”—हितो. १२:२२.